एजेन्सी । चीन विश्वसामु खुल्न थालेको चार दशकभन्दा लामो समयसम्म पनि त्यहाँको सरकारको नीति–निर्माण प्रक्रिया गोप्य रह्यो । यहाँ चीनको जनसंख्या नियन्त्रण नीति, तथ्यांक गोप्य राख्दाको परिणाम र तिनलाई चुनौती दिने मेरो व्यक्तिगत प्रयासबारे चर्चा गर्दै छु ।
सन् १९८० मा एकजना रकेट वैज्ञानिक सोङ जियान र अर्थशास्त्री चियान सुयानले चीनको जनसंख्या सय वर्षमा ४.२ अर्बमाथि पुग्ने प्रक्षेपण गर्दै एक खुला पत्र लेखे । उक्त प्रक्षेपणले चिनियाँ अधिकारीलाई त्रसित बनायो । त्यसपछि सरकारले एक बच्चा नीति लागू गर्यो । यथार्थमा एक सन्तान नीति लागू नगरेको भए पनि चीनको जनसंख्या धेरैमा १.६ अर्बसम्म पुगेर ओरालो लाग्न थाल्ने थियो ।
चीनमा हुर्किंदा मैले व्यक्तिगत रूपमा एक सन्तान नीतिको क्रूरता देख्न पाएँ । त्यसैबाट प्रेरित भएर म सन् २००० मा कठोर जनसंख्या नियन्त्रण नीतिविरुद्ध उभिएँ । सुरुमा मैले विदेशी वेबसाइटमा आलेख छपाउने काम मात्र गरेको थिएँ । त्यसपछि मैले प्राज्ञिक विधि अँगालेँ । सन् २००३ मा आइपुग्दा मेरा आलेखले छिटपुट रूपमा चिनियाँ माध्यममा छापिने अनुमति पाउन थालेका थिए । सन् २००४ अक्टोबरमा सरकारी पत्रिकाले नै मेरो आलेख छाप्यो, जसमा मैले देशमा लागू एक बच्चा नीति रोक्न आह्वान गरेको थिएँ । त्यस आलेखले कठोर जनसंख्या नियन्त्रण नीतिबारे एक प्रकारको बहस सुरु गरायो ।
मेरो अभियानले गति लिन थालेसँगै शीर्ष अधिकारीले पनि मेरो अनुसन्धानलाई गम्भीरतापूर्वक लिन थालेका थिए । उदाहरणका लागि तत्कालीन चिनियाँ वित्तमन्त्री जिन रेनछिङले व्यक्तिगत रूपमा मेरा पाँच रिपोर्टहरू हेरेका थिए । सन् २००७ मा मैले हङकङबाट ‘बिग कन्ट्री विथ एम्प्टी नेस्ट’ नामक पुस्तक छपाएँ । पुस्तकमा मैले चीनमा लागू भइरहेको एक बच्चा नीतिपछाडिको अवधारणालाई चुनौती दिँदै तत्काल त्यसलाई अन्त्य गर्न आह्वान गरेको थिएँ । पुस्तकले परिवार–नियोजन अधिकारी र जनसंख्या विज्ञमाझ हलचल ल्याएछ, तिनले मेरो प्रतिरोधी धारणालाई अवमूल्यन गर्ने र दबाउने प्रयास गरे । मेरो पुस्तक चीनमा प्रतिबन्धित भयो । तथापि पुस्तकको अनलाइन संस्करणलाई करोडौँले हेरे । यसबाट अधिकारीहरू मेरो आवाज दबाउने प्रयासमा असफल भए ।
तीन वर्षपछि मेरो एक आलेख ‘जनसंख्या नीतिबारे नयाँ आलोचनात्मक बहस’ नामक संग्रहमा ‘फरक’ विचारका रूपमा समावेश गरियो । सन् १९८० का खुला पत्र लेखक रकेट वैज्ञानिक सोङको भूमिका र अर्थशास्त्री चियान तथा चीनको राष्ट्रिय परिवार नियोजन आयोगका दुई उप–निर्देशकको आलेख रहेको पुस्तकका अधिकांश लेख मेरो आलोचनामा खर्च भएको थियो ।
चिनियाँ अधिकारीले गतिलो अनुसन्धानलाई निरन्तर बेवास्ता गरिरहँदा देश गम्भीर जनसांख्यिक संकट भोग्ने स्थितिमा आयो । यसको प्रभाव चीनभित्र मात्र होइन, विश्व अर्थतन्त्रसम्म हुने देखिन्छ ।
झन्डै दश वर्षसम्म मलाई ‘देशद्रोही’को बिल्ला लाग्यो । मैले यस अवधिमा चीन भ्रमण गरिनँ । लामो अन्तरालपछि सन् २०१० मा सुटुक्क चीनको वार्षिक जनसंख्या सम्मेलनमा भाग लिन गएको थिएँ । त्यहाँ सन् १९८० मा सरकारलाई एक सन्तान नीति अंगीकार गर्न बाध्य पार्ने खुला पत्रका एकजना मस्यौदाकारले मेरो आलोचनामा लामो भाषण गरे । पछि सम्मेलनमा म आएको हल्ला चलेपछि प्रहरीले मलाई खोज्न थाल्यो, जसले गर्दा रातारात मैले सहर छाड्नुपर्यो ।
त्यसपछिका वर्षमा मैले जबर्जस्ती गर्भपतन गराउन लागिएका दसौँ हजार महिलाको सहयोगको याचनायुक्त निवेदन हात पारेँ । मैले कैयौँ बच्चालाई बचाउन सहयोग गरेकोमा अहिले पनि गर्व लाग्छ । एक बच्चा नीतिको मानवीय असरमाथि प्रकाश पार्न पछि पनि मैले राष्ट्रिय संसद्का हरेक सदस्य, विभिन्न प्रातीय र मन्त्रालय अधिकारीलाई पुस्तिका पठाइरहँ । म प्रायःबाट सकारात्मक जवाफ पाउने गर्थें । र, पछि मेरो प्रक्षेपण नै सही निस्कियो । सार्वजनिक तथा प्राज्ञिक बहसमा मेरो अनुसन्धानप्रति चासो बढ्न थाल्यो । सन् २०१० देखि २०१७ बीचमा मैले चीनभित्रका झन्डै सय शीर्ष थिंक ट्यांक र विश्वविद्यालयबाट बोल्न निमन्त्रणा पाएँ । उलेखनीय कुरा केही परिवार नियोजन अधिकारी मेरो मन्तव्य सुन्न टाढा–टाढाका प्रान्तबाट आएका हुन्थे ।
सन् २०१३ मा चिनियाँ राज्य परिषद्प्रति जवाफदेही प्रकाशकले ‘बिग कन्ट्री विथ एन एम्टी नेस्ट’को नयाँ संस्करण प्रकाशित ग¥यो । पुस्तक सो वर्ष चाइना पब्लिसिङ टुडेले चुनेको सय उत्कृष्ट पुस्तकमध्ये पहिलो स्थानमा रह्यो । मेरो कामको स्वीकारोक्ति बढिरहँदा मलाई सन् २०१६ को ‘बोआयो फोरम फर एसिया कन्फरेन्स’ (जसलाई डेभोसमा हुने ‘वल्र्ड इकोनोमिक फोरम’को चिनियाँ संस्करण मानिन्छ ।)मा आमन्त्रण गरियो ।
मेरो पहिले प्रतिबन्धित पुस्तक बेस्टसेलर बनेको थियो भने नीति–निर्मातामाझ लोकप्रिय थियो । कुनै समय ‘देशद्रोही’ घोषित म आफैँ राज्यको विशिष्ट पाहुनाका रूपमा बोलाइन थालेको थिएँ । तर, सन् २०१६ मा द न्युयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा मैले चीनको अर्थतन्त्र अमेरिकाभन्दा ठूलो हुन नसक्ने बताएपछि चिनियाँ अधिकारी मसँग रिसाए । परिवार नियोजनका अधिकारीले केन्द्रीय सरकारसँग मलाई सरकारी कालोसूचीमा राख्न लबी नै गरे । पछि मैले चीनको जनसंख्या सन् २०१८ बाटै घट्न थालेको हुन सक्ने र सरकारले जनसंख्या तथ्यांक बढाइचढाइ गरिरहेको हुन सक्ने बताएपछि अधिकारी थप रुष्ट बने ।
मेरो सल्लाहअनुरूप पूर्ण जनसंख्या नियन्त्रण हटाउनुको साटो चिनियाँ नेतृत्वले संयमित नीति अपनायो । सन् २०१४ मा सरकारले दुई बच्चा नीति अंगीकार गर्यो, तर यसका लागि अभिभावकमध्ये एकजना परिवारको एकल बच्चा भए मात्र लागू हुने सर्त राखियो । दुई वर्षपछि सबै परिवारका लागि दुई बच्चा नीति खुला गरियो । अन्ततः २०२१ मा चीनले अभिभावकलाई तीन बच्चासम्म पाउन खुला गर्यो ।
दुर्भाग्यवश यो परिवर्तन ढिलो गरी आएको छ । चीन अझै गलत मार्गमा छ । यसको पछाडि एक बच्चा नीति कायम रहेको अवस्थामा प्रजनन दर १.८ रहने र सन् २०३३ सम्म १.५ अर्ब पुगेर ओरालो लाग्ने त्यहाँको सरकारी जनसांख्यिक प्रक्षेपणले निम्त्याएको डरले काम गरिरहेको छ । यही प्रक्षेपणमा सबै जोडीलाई दुई बालबच्चा जन्माउन दियो भने जनसंख्या सन् २०४४ मा १.६ मा उचाइमा पुगेर ओरालो लाग्ने उल्लेख छ ।
तथापि यी सबै सन् १९८० मा एक बच्चा नीति लागू गर्नुअघि चर्चामा आएको प्रक्षेपणजस्तै बकवास भएको खुलिसकेको छ । चीनको बढाइचढाइ गरिने सरकारी तथ्यांकअनुसार नै पनि देशको जनसंख्या सन् २०२२ बाट घट्न सुरु भएको छ । प्रजनन दर १.० सम्म पुगिसकेको छ । चीनको जनसंख्या नियन्त्रण नीतिलाई चुनौती दिँदाको मेरो झन्डै २५ वर्षे अनुभवले म सही थिएँ भन्ने कुरामा मात्र सन्तोष प्रदान गर्छ । अर्कोतर्फ चिनियाँ अधिकारीले गतिलो अनुसन्धानलाई निरन्तर बेवास्ता गरिरहँदा देश गम्भीर जनसांख्यिक संकट भोग्ने स्थितिमा आयो भन्ने कुराले दुःखी बनाउँछ । यसको प्रभाव चीनभित्र मात्र होइन, विश्व अर्थतन्त्रमसम्म हुने देखिन्छ । लेखक यी फुजियान युनिभर्सिटी अफ विस्कनसिन–म्याडिसनका वरिष्ठ प्रजनन तथा स्त्रीरोग विशेषज्ञ हुन् ।