अन्तरजातीय विवाहले लियो एकै परिवारका चार जनाको ज्यान

विराटनगर, संखुवासभा — शनिबार मध्यरात भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटा परिवार नामेट भएको छ। आफ्नै ज्वाइँ राजेन्द्र राईको आक्रोशले एकै परिवारका चार जनाको ज्यान गएको छ। भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्रले आफ्नी पत्नी, ससुरा, सासू र सालोको हत्या गरेका हुन्।

राईले ६८ वर्षीय बेलबहादुर गिरि (ससुरा), ४५ वर्षीया मञ्जु गिरि (सासू), ९ वर्षीय सपन गिरि (सालो) र पत्नी १७ वर्षीया मनिषा गिरिको हत्या गरेका हुन्। प्रहरीले हत्यामा संलग्न रहेका राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

घटनापछि गाउँ शोकमा डुबेको छ। घटनास्थल भोजपुर सदरमुकामबाट करिब ३२ किलोमिटर टाढा पर्छ। कच्ची सडकका कारण शव ल्याउनसमेत समस्या परेको थियो। घटनास्थल मुचुल्कापछि आइतबार प्रहरीले शव उठाएर पोष्टमार्टमका लागि धरान पठाएको छ।

जिल्ला अस्पतालमा पोष्टमार्टम हुन नसक्ने भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। उनीहरूको सोमबारमात्रै पोस्टमार्टम हुने भएको छ।

प्रमुख जिल्ला अधिकारी पन्थीले हत्याको पछाडि पारिवारिक कलह देखिएको बताए । ‘राईले हत्या गरेको स्वीकार गरिसकेका छन्। तर हामी सूक्ष्म अनुसन्धानमा छौँ, केही रहस्य अझै खुल्न बाँकी छ,’ उनले भने। राजेन्द्र निर्माण सम्बन्धी मजदुर थिए । भोजपुर सदरमुकाममा डेरा गरी बस्ने उनी सामान्य आर्थिक पृष्ठभूमिका व्यक्ति हुन्।

राजेन्द्र र मनिषाबीच करिब नौ महिनाअघि प्रेमविवाह भएको थियो। प्रेमले सुरु भएको उनीहरूको सम्बन्ध परिवारकै हत्यासम्म पुगेर टुंगिएको छ। समाज र परिवारको नजरमा उनीहरूको अन्तरजातीय विवाह सहज स्वीकार्य बनेन।

त्यही अस्वीकृति अन्ततः हिंसामा परिणत भएको देखिएको प्रहरीको भनाइ छ। राजेन्द्र केही दिनदेखि ससुरालीमै थिए। उनी श्रीमतीलाई साथै लिएर घर फर्किने तयारीमा थिए। तर ससुराली पक्ष सहमत थिएन। राजेन्द्रले मनिषालाई जसरी भए पनि लैजाने भने पछि शनिबार राति विवाद चर्किएको थियो। ससुराली पक्षले भने राजेन्द्रलाई रोक्न खोजेका थिए ।

घटनाका विषयमा कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले ससुराली पक्षले छुरा देखाएर आक्रमण गरेपछि राजेन्द्रले त्यही छुरा खोसेर चारै जनाको हत्या गरेको बयान दिएका बताए। उनले भने, ‘अन्तरजातीय विवाह र त्यसपछिको पारिवारिक अस्वीकृतिनै हत्या जस्तो आपराधिक निर्णयमा पुग्ने मुख्य कारण देखिन्छ ।’

हत्या गरेपछि रगतले लतपत् बनेका राजेन्द्रले आफैँ प्रहरी कन्ट्रोलमा फोन गरेर ‘मैले मान्छे मारेँ, मलाई लिन आउनू’ भनेका थिए। उनको पेटमा गहिरो छुरा घोपिएको थियो । ससुराली पक्षले छुरा प्रहार गरेको उनले प्रहरीसँग बयान दिएका छन्। घटनास्थल पुग्दा उनी गम्भीर घाइते अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार राजेन्द्र सोही गाउँपालिका-१ को हुर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा राजेन्द्र फेला परेका थिए। ‘पेटमा ३ ठाँउ धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए,’ उनले भने, ‘त्यसपछि भोजपुर जिल्ला अस्पतालमा उपचारका लागि ल्यायौँ।’

अहिले राजेन्द्रलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। उनको अवस्था गम्भीर छ। ‘प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमती लिन ससुराली गएका राजेन्द्र र ससुराली पक्षबीच विवाद भएपछि हत्या भएको देखिएको छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘उनीहरु बीच करिब ९ महिनाअघि प्रेम विवाह भएको थियो, जसलाई ससुराली पक्षले सहज रूपमा स्वीकारेका थिएनन्, त्यसैको परिणामले हत्यासम्म पुर्‍याएको हुन सक्छ।’

राजेन्द्रले भने सासूले छुरा देखाएर आक्रमण गरेपछि खोसेर सबैलाई प्रहार गरी हत्या गरेको वयान दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार