गत जनवरीमा सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले अमेरिकी कंग्रेसको एक सुनुवाइमा भनेका थिए, ‘वैज्ञानिक अध्ययनले सामाजिक सञ्जालले युवाको मानसिक स्वास्थ्यमा प्रभाव पारेकाे देखाएका छैनन्।’ तर समाज विज्ञानका वैज्ञानिक जुकरबर्गको यो तर्कसँग सहमत छैनन्। हालै भएका विभिन्न अध्ययनले सामाजिक सञ्जालले युवामा बेचैनी, डिसअर्डरलगायत समस्या निम्त्याउने देखाएका छन्।
वैज्ञानिकहरूले सन् २००० यता सामाजिक प्लेटफर्मको प्रभाव क्याम्पसका विद्यार्थीमा के, कस्तो परेको छ भनेर अनुसन्धान गरेका थिए। मासाच्युट्स इन्सिटिच्युट अफ टेक्नोलोजीका अर्थशास्त्री तथा अनुसन्धान रिपोर्टका सहलेखक अलेक्से माकारिनले भनेका छन्, ‘अझै धेरै कुरा अध्ययन हुन बाँकी छ तर सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यमा सम्बन्ध छैन भन्ने कुराको म विरोध गर्छु।’ अनुसन्धानको निष्कर्ष ‘अमेरिकन इकोनोमिक रिभ्यु’ नामक जर्नलमा सन् २०२२ मा प्रकाशित भएको थियो।
विशेषगरी १३ देखि १७ वर्ष उमेर समूह सामाजिक सञ्जालसँग प्रत्यक्ष जोडिने भएकाले यो थप चिन्ताको विषय बनेको छ। अमेरिकामा दुई तिहाई युवाले टिकटक प्रयोग गरेको, ६० प्रतिशतले इन्स्टाग्राम र स्न्यापच्याट प्रयोग गरेको सन् २०२२ मा गरिएको अर्काे अध्ययनले देखाएको थियो। अध्ययनमा सहभागी ३० प्रतिशतले मात्र फेसबुक प्रयोग गरेको बताएका थिए।
यसैगरी अर्काे अध्ययनले छात्राले दैनिक ३.४ घण्टा टिकटक, फेसबुक र इन्स्टाग्राममा बिताउने गरेको देखाएको थियो। छात्रले भने दिनमा सरदर २.१ घण्टा यस्ता सामाजिक सञ्जालमा समय बिताउने गरेको अध्ययनले देखाएको थियो। अध्ययनले सामाजिक सञ्जालको प्रयोगबाट किशोरकिशोरी र युवामा मानसिक तनाव पनि परेको देखाएको छ।
हरेकजसो अध्ययनले युवाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्चालको प्रभाव परेको देखाएपछि यसको कारण खोजी गर्नुपर्ने भएको छ। त्यस्तै समस्या निराकरणका लागि उपयुक्त नीति पनि अवलम्बन गर्नुपर्ने देखिएको छ। ‘हाल के भइरहेको छ भन्ने ज्ञान नहुँदा सही सार्वजनिक नीति बनाउन सकिन्न,’ टेक्सासस्थित बेलोर विश्वविद्यालयकी अर्थशास्त्री स्कट कनिनगम भन्छिन्।
किशोरकिशोरी र युवामा सामाजिक सञ्जालले नकारात्मक प्रभाव पार्ने क्रम बढ्दै गएपछि यस विषयमा वैज्ञानिक अध्ययन पनि हुन थालेका छन्। तर अध्ययनहरू सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको हो अथवा मानसिक समस्या भएका युवाले सामाजिक सञ्जाल प्रयोग गरेका हुन भन्नेमा स्पष्ट छैनन्।
यही विषयमा मनोचिकित्सक एमी अर्बेन र एन्ड्र्यु प्रिचविलिस्कीले ३ लाख ५५ हजार किशोरकिशोरीमा गरिएका विभिन्न अध्ययनको समीक्षा गरी तनाव, आत्महत्याको सोच, चिन्ताजस्ता मानिसक समस्यामा सामाजिक सञ्जालको प्रभावबारे जान्ने प्रयास गरेका थिए। उक्त अध्ययनले धेरै सञ्चारमाध्यमको ध्यानाकृष्ट पनि गरेको थियो।
डिजिटल प्रविधिको प्रयोगले किशोरकिशोरीको हितमा नकारात्मक प्रभाव पारेको अक्सफोर्ड विश्वविद्यालयका प्रिचविलिस्कीले सन् २०१९ मा गरेको एक अर्काे अध्ययनले देखाएको थियो। तर धेरै दूध सेवन गर्दा, सिनेमा हेर्दा, आलु खाँदा पनि उस्तै प्रभाव देखिएका कारण उक्त अध्ययनको नतिजामा प्रश्न उठेको थियो।
यसै विषयमा अर्बेन र प्रिचविलिस्कीले गरेको अध्ययनमा १७ हजार ४०० किशोरकिशोरी र युवा सहभागी थिए। अध्ययनमा उनीहरूले सन् २०११ र २०१८ मा व्यक्तिगत सन्तुष्टिमा कति फरक आएको छ भनेर पनि सहभागीलाई सोधिएको थियो। उनीहरूले लिंग, उमेर र सामाजिक सञ्जालमा बिताउने समयका आधारमा यो अध्ययनको समीक्षा गरेका थिए।
अध्ययनले पनि किशोरकिशोरी र युवाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले नकारात्मक प्रभाव पार्ने देखाएको थियो। अर्थशास्त्री माकारिन र उनको टिमले सन् २००४ देखि २००६ सम्म अमेरिकाका ७७५ वटा क्याम्पसका विद्यार्थीमा गरेको एक अध्ययनले पनि सामाजिक सञ्जाल र किशोरकिशोरी–युवाको मानसिक स्वास्थ्यमा प्रत्यक्ष सम्बन्ध रहेको देखाएको थियो।
पछिल्लो विकासक्रम
२० वर्षअघिको भन्दा अहिलेको सामाजिक सञ्जालको धरातल फरक छ। सामाजिक प्लेटफर्ममा लत बसाल्न फेसबुक, इन्स्टाग्राम र स्न्यापच्याटले धेरै आकर्षण थपेका छन्। यो हिसाबले यसको मानसिक स्वास्थ्यमा प्रभाव झन् बढेको हुन सक्ने कतिपयको ठम्याइ छ। बेलायतको बर्मिङ्घम विश्वविद्यालयले यसको प्रभावबारे अध्ययन सुरु गरेको छ।
अनुसन्धानकर्ताले गत जुलाईमा प्रकाशित ब्रिटिस मेडिकल जर्नलमा यो अध्ययनको प्रोटोकलको विषयमा एक आलेख प्रकाशन गरेका थिए। अध्ययनमा बेलायतका ३० वटा विद्यालयका १ हजार विद्यार्थी सहभागी गराइने बताइएको छ। मोबाइल फोन प्रयोग गर्न अनुमति दिइएका विद्यालय र अनुमति नदिइएका विद्यालयका विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यको अवस्था पत्ता लगाउनु यो अध्ययनको उद्देश्य छ।
‘सोसियल मेडियाको जुन गतिमा विकास भएको छ र यसले पार्ने प्रभावबारे अध्ययन त्यो गतिमा हुन सकेका छैन,’ यो अध्ययनको नेतृत्व गरेकी वैज्ञानिक भिक्टोरिया गुडएयर भन्छिन्।
–साभार : साइन्सन्युज