जसपा विधान अधिवेशन र जनअपेक्षा

सुरेशकुमार मण्डल
जसपा नेपालको पहिलो विधान अधिवेशन यही असार १०–१२ मा काठमाडौंमा हुँदै छ । विधान अधिवेशनले नेपाली जनताका धेरै आशा र जिज्ञासाहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ । जसपाकोे वैचारिक अस्पष्टता चिर्दै परिवर्तित समय र सन्दर्भअनुकूलको व्याख्या–विश्लेषण गर्न विधान अधिवेशनले केही ठोस र वैज्ञानिक प्रस्तावहरू गर्नुपर्ने देखिन्छ ।

प्रस्तावित विधान र अवधारणापत्र तथा घोषणापत्र अनुसार जसपा नेपाल समाजवादी लोकतान्त्रिक पार्टी हो । समाजवाद जसपा नेपालको ढुकढुकी हो । तर पनि जसपा कतिपय सवालमा स्पष्ट देखिँदैन । उदाहरणका लागि, हामी जसपा नेपाललाई लोकतान्त्रिक समाजवादको दर्शनमा आधारित दल बनाउन चाहन्छौं कि समाजवादी लोकतन्त्रमा आधारित ? यहाँनेर कन्फ्युजन छ । संघीयता, सुशासन र समृद्धिको सिद्धान्त अवलम्बन गरेर कसरी मधेश र सिंगो नेपालका आदिवासी जनजाति, दलित, महिला र मुस्लिम लगायतका क्षेत्र, समुदाय, लिंग र धर्मप्रति व्याप्त विभेद, अन्याय र अत्याचार अन्त्य गर्न सक्छौं ? कसरी न्यायपूर्ण र गतिशील समाज निर्माण गर्न सक्छौं ? जसपा नेपाल यी सवालहरूमा वैचारिक एवं सैद्धान्तिक तवरले स्पष्ट भएर मात्र अगाडि बढ्नुपर्छ ।

जसपा नेपाललाई यस्तो पार्टीका रूपमा निर्माण गरौं जसको स्पष्ट राजनीतिक एजेन्डा होस् । पार्टीका सम्पूर्ण सदस्य पार्टीले अख्तियार गरेको विचार र सिद्धान्तमा अटाउन सकून् । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक बदलावहरूबारे दार्शनिक स्पष्टता र सुस्पष्ट धारणा बन्न सकोस् । समाजको हरेक पक्षबारे सही राजनीतिक दृष्टिकोण र मौलिक समझ बन्न सकोस् । पार्टीका प्रत्येक सदस्यलाई आफ्नो गन्तव्य र बाटोबारे राम्ररी थाहा होस् । सबै जातजाति, समुदाय, क्षेत्र, लिंग र धर्मले जसपा नेपालमा आफ्नो

अपनत्व र प्रतिनिधित्व भएको महसुस गर्न सकून् । आधुनिक युगसुहाउँदा, विज्ञान–प्रविधिका सबै सुविधा उपलब्ध होऊन् । पार्टीको आय–व्यय कोष र आर्थिक स्रोतसाधन पारदर्शी होऊन् । अध्ययन र प्रशिक्षणको चुस्त व्यवस्था होस् । पार्टी सञ्चालन पुरानो ढर्रा, शैली र तौरतरिकाबाट नभई आधुनिक र समयसुहाउँदो किसिमले होस् ।

दर्शन, नीति, सिद्धान्त, सडक, सदन र संगठनमा मधेशलाई आधार बनार्ईर् पहिचान र संघीयताको नेतृत्व गरिरहेको जसपा नेपालमा अझै वैचारिक निखार आउनुपर्छ । मधेशमा रहेका अन्य मधेशी दल र देशका तीन ठूला पार्टी कांग्रेस, एमाले तथा माओवादीसँग प्रतिस्पर्धा गर्न सक्ने कार्यकर्ता र संगठन निर्माण गर्न सक्नुपर्छ । त्यसका लागि निरन्तर अभ्यास, अभियान र प्रशिक्षण जरुरी छ ।

भर्खर घोषित समाजवादी मोर्चाबारे नेपाली जनतामा, खास गरी मधेशमा विकसित भैरहेको अविश्वास र भ्रमबारे पार्टीले स्पष्ट पार्न जरुरी छ । समाजवादी मोर्चाको गन्तव्य र यात्रा (शैली) बारे नेतृत्ववर्गले समयमै अन्तरक्रिया र प्रशिक्षण दिन जरुरी छ । विपक्षीबाट फैलाइन सक्ने अफवाह र भ्रम समयमै चिर्न सक्नुपर्छ । समाजवादी मोर्चालाई कम्युनिस्टको एकता भन्दै हल्ला फिँजाइएकाले यसबारे जनताबीच बेलैमा स्पष्ट पार्न सक्नुपर्छ । जसपा कम्युनिस्ट कित्तामा गएको होइन, अरू राजनितिक शक्तिहरूलाई समाजवादी कित्तामा ल्याउन सफल भएको हो । यस मोर्चाका माध्यमले हाम्रा स्थापनाकालदेखिका मुद्दाहरूलाई सम्बोधन गराउन सहज हुनेछ ।

समाजवादी आन्दोलनलाई सही मार्ग र माध्यम दिन सकिएन भने मधेशसहित सम्पूर्ण देश भोलि अनियन्त्रित भेलमा डुब्न सक्ने खतरालाई ध्यानमा राखी पार्टी नेतृत्वले सुझबुझका साथ समयमै होसियारीपूर्वक रणनीति बनाउन सक्नुपर्छ । पार्टी नेतृत्वले आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्ने र दूरदृष्टि साबित गर्ने उपयुक्त समय यही हो । यति बेला चुकियो भने हामी फेरि उठ्नै नसक्ने गरी पछारिन्छौं ।

अहिले मधेशको मात्र होइन, समग्र देशकै राजनीतिक ‘डायनामिक्स’ बदलिएको छ । पहाडमा रास्वपा र राप्रपा तथा मधेशमा जनमत र नागरिक उन्मुक्ति पार्टीको उपस्थितिका कारण समग्र राजनीतिक माहोल तरंगित भएको छ । युवा सहभागिता मात्र नभई युवा नेतृत्व बढेको छ । यससँगै परम्परागत र अवसरवादी नेतृत्वमा चुनौती थपिएको छ । समय छँदै आफ्ना कमीकमजोरी हटाए मात्र चुस्तदुरुस्त र तन्दुरुस्त भएर प्रतिस्पर्धामा आउन र विगतको साख जोगाउन सकिन्छ । परिस्थितिको गम्भीरता जसपाले मात्र होइन, देशकै स्थापित राजनितिक दलहरूले मनन गर्नुपर्ने देखिन्छ । तर के पनि भुल्नु हुन्न भने, अस्थिर दलहरू र अविश्वसनीय नेतृत्व खहरे खोलाझैं सुरुमा निकै जोसिने गर्छन् तर समयसँगै सेलाउँदै जान्छन् । दर्शन, नीति, विचार, सिद्धान्तबिनाको पार्टी क्षणिक उत्तेजनाजस्तै हुन्छ, एक छिनमै हराएर जान्छ ।

मधेशमा समाजवादी एकताको सूत्रधारका रूपमा जसपा नेपाल र यसका अध्यक्ष उपेन्द्र यादव अघि सर्नुपर्छ । यसका लागि अध्यक्ष यादवले आफ्नो मनमस्तिष्क फराकिलो पार्नुपर्छ । उहाँले समग्र मधेशलाई समेट्न सक्नुपर्छ । सिद्धान्त र विचार मिल्ने सम्पूर्ण दललाई एकसूत्रमा बाँधी मधेशलाई एउटा सशक्त राजनीतिक पक्षका रूपमा खडा गर्नु यादवको युगीन अभिभारा हो । मधेशी जनताको एकताको चाहनालाई पूरा गर्ने दायित्व पनि उहाँकै काँधमा छ । मधेशी एकता आजको आवश्यकता मात्र होइन, बाध्यता पनि हो । मधेशी एकता थप अधिकारप्राप्तिका लागि, प्राप्त अधिकारहरूको रक्षाका लागि एवं त्यसपछि मधेश निर्माण र समृद्धिका लागि अत्यावश्यक छ । संघीयतामाथि भइरहेको षड्यन्त्र र प्रहार रोक्न पनि संघीयताको जननी समग्र मधेश सशक्त हुनैपर्छ । अनि मात्र हामी संघीयताको मर्म र भावना अनुसार राज्य पुनःसंरचना आयोगको प्रतिवेदनले छ टुक्रामा टुक्र्याएको मधेशलाई समेट्न सक्छौं ।

केवल राज्यलाई गाली गरेर हामी आफ्नो जिम्मेवारी र दायित्वबाट पन्छिन मिल्दैन । मधेश र पहाडमा बजेट र नीति–कार्यक्रम उस्तै जान्छÙ पहाडमा विकास, शिक्षा र चेतनाको दायरा फराकिलो हुँदै गइरहेको छ तर मधेशमा दिन–प्रतिदिन विकृति, विसंगति, अशिक्षा र अविकासले प्रश्रय पाइरहेको छ । मधेशका स्कुल–कलेजहरू नियमित पठनपाठन र अनुशासन अभावका कारण दिनानुदिन धराशायी भइरहेका छन् । बाटोघाटो, सडक, यातायात जीर्ण छ । बीस किलोमिटर यात्रा गर्न एक घण्टा लाग्छ । सरकारी कार्यालयहरूमा अनियमितता र भ्रष्टाचारले जरो गाडेको छ । दाइजो, बोक्सी, छुवाछुत र अन्धविश्वासजस्ता सामाजिक कुरीति उत्कर्षमा छन् । यी र यस्ता विकृति–विसंगतिबारे हामी र हाम्रो नेतृत्व बोल्ने कि नबोल्ने ? मलाई लाग्छ, जसपा नेपालले यसको थालनी यही प्रथम विधान अधिवेशनबाट गर्न सक्नुपर्छ ।

मधेशका युवाहरूमा व्याप्त विकृति, विसंगति, दुर्व्यसन र अराजकतालाई समयमा रोक्न सकिएन भने भोलिको मधेश डरलाग्दो र सम्हाल्नै नसकिने हुन्छ । गरिबी, अशिक्षा, अन्धविश्वास र अराजकतासँग लड्न सामाजिक चिन्तन र युवा जागरणको ‘सेन्स’ भएको राजनीतिक दल जरुरी छ । यस विधान अधिवेशनलाई नीति, विचार, सिद्धान्त र संगठन संरचनाको विषयमा केन्द्रित गराउन सके मात्र जसपा नेपालले राष्ट्रिय राजनीतिमा नयाँ उचाइ प्राप्त गर्न सक्छ । जसपा नेपालले स्थापनाकालदेखि नै संघीयता, सुशासन, समृद्धि र समाजवादको मान्यतावरिपरि आफ्नो नीति तथा कार्यक्रमको विकास गर्दै आएको छ । यी चारवटा अवधारणा जसपा नेपालका नीति र सिद्धान्त हुन् । आधुनिक पहिचानवादी राजनीतिको सर्वाधिक शक्तिशाली अवधारणा पनि यही नै हो । यही स्थापित मान्यताका आधारमा श्वेतहरूको साम्राज्य भएको संयुक्त राज्य अमेरिकामा काला बाराक हुसेन ओबामा राष्ट्रपति भए ।

समाजवादी लोकतन्त्र जसपा नेपालको दर्शन हो, जसको केन्द्रमा जनता हुन्छ । दुई दशकयता हाम्रो नेतृत्वमा मधेश लगायत थरुहट र अन्य ठाउँमा भएका अधिकारवादी आन्दोलनले धेरै उपलब्धि हासिल गरिसकेका छन् । संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, पहिचानको सुनिश्चितता जसपा नेपालका उपलब्धि हुन् । यी उपलब्धिहरूलाई रक्षा तथा संस्थागत गर्नु हाम्रो पहिलो दायित्व हो । त्यस्तै, आफ्नो विविधताको सम्मान, सम्बोधन र व्यवस्थापनका लागि संघर्षरत रहिरहनुसमेत हाम्रो कर्तव्य हो । सामाजिक न्याय, अर्थपूर्ण सहभागिता, समानुपातिक समावेशिताको सुनिश्चितता जसपा नेपालको कार्यभार हो ।

समावेशी लोकतन्त्रमा सबै पक्ष र समुदायलाई राज्यसत्ताको मूलधारमा समावेश गरिन्छ । त्यस्तै, उदार लोकतन्त्रमा व्यक्तिको स्वतन्त्रतालाई बढी जोड दिइन्छ । तर, समावेशी लोकतन्त्रले व्यक्तिको अधिकारका साथै उसको समुदायका पक्षमा समेत वकालत गर्छ । सामाजिक सुरक्षा, सांस्कृतिक अधिकार र सहभागिताजस्ता महत्त्वपूर्ण एजेन्डाहरू समावेशी लोकतन्त्रका पक्ष हुन् । यसले सामाजिक द्वन्द्व, असमानता र विभेदलाई अन्त्य गर्छ । र यसैको जगमा जसपा नेपालले मधेशका साथै समग्र देशको आर्थिक विकास र समृद्धिको आधार तय गर्नुपर्छ ।

विधान कुनै पनि राजनीतिक दल र नेतृत्वलाई मार्गदर्शन दिने सहमतिको दस्तावेज हो । जसपा नेपालले पहिलो पटक लगभग एक हजार प्रतिनिधिहरूको सक्रिय सहभागिताबाट आफ्नो विधान बनाउन गइरहेको छ । सैद्धान्तिक, वैचारिक एवं दार्शनिक रूपले स्पष्ट तथा नीति, कार्यक्रम र सांगठनिक रूपले चुस्तदुरुस्त र व्यवस्थित जसपा नेपाल हामी सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक र आम जनताको चाहना हो । यही पहिलो ऐतिहासिक विधान अधिवेशनबाट भद्रगोल, अनुशासनहीन, षड्यन्त्रकारी, द्वन्द्वले भरिपूर्ण, निरीह र लाचार पार्टीको अन्त्य भई अनुशासित, सुशासित र सुसंगठित जसपा नेपालको पुनर्निर्माण हुन सकोस् । मण्डल जसपा नेपालको राजनीतिक समिति सदस्य हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार