हड्तालको अवज्ञा गर्दै सडकमा निस्किन थाले गाडी

काठमाडौं । व्यवसायीको हड्ताललाई अवज्ञा गर्दै सडकमा सार्वजनिक सवारी चलाउन थालिएको छ । आज काठमाडौंको विभिन्न रुटमा गाडी चलाइएको हो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले काठमाडौंमा आज केही सार्वजनिक यातायात सञ्चालन भइरहेको बताए ।

उनले भने, ‘आज मयुर यातायात, चन्द्रागिरी यातायात, थानकोट-रत्नपार्कमा सञ्चालन हुने फोर्स र निलो माइक्रो चलिरहेको छ । हिजो भन्दा सार्वजनिक यातायात केही मात्रामा सञ्चालन भएको छ ।’

काठमाडौंमा साझा र मयुर यातायातले पनि सेवा दिइरहेको छ । आज फोर्स, माइक्रो, टेम्पो चलिरहेका छन् । ट्याक्सीले पनि यात्रु ओसारिरहेका छन् ।

कलंकी-रत्नपार्कमा रुटमा निलो माइक्रोका एक चालक भन्छन्, ‘हामीले यात्रु नबोके पनि पठाओ र इन्ड्राभ चलेको देखेर आजबाट गाडी निकालेको हुँ । सुरक्षाको हिसाबले त्यति समस्या पनि छैन यो रुटमा । यात्रु पनि सोचेभन्दा धेरै छन् ।’

आन्दोलनकारीले किन गाडी चलाएको भन्दै प्रश्न गर्ने गरेको भन्दै उनले गरिखान पाउनुपर्ने बताए ।

थानकोट-रत्नपार्क रुटका फोर्स चालक रमेश कार्कीले पनि आफ्नो गुजाराको मेलो नै यही पेशा भएको भन्दै गाडी सडकमा निकालेको बताए ।

नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चालकहरूले अन्योल केही चलाए पनि फेरि रोकेको बताए ।

उनले भने, ‘सबै यातायात व्यवसायीहरू आन्दोलनमा नै छौँ । तर, अन्योल भएर केही गाडी सञ्चालन भएको भए पनि अहिले पुनः रोकिएको छ । हाम्रो माग पुरा नहुँदासम्म गाडी बन्द नै हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार