महोत्तरी घरदैलो अभियानलाई तीव्रता दिँदै नेपाली कम्युनिस्ट पार्टी महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार गिरिराजमणि पोखरेलले दीर्घकालीन विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्ने बताएका छन्। बर्दिवास क्षेत्रका विभिन्न टोलबस्तीमा घर–घर पुग्दै उनले जनताका आधारभूत समस्या पहिचान गरी परिणाममुखी, गुणस्तरीय विकासमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो अभियानका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पोखरेलले विगतमा थालेका दीर्घकालीन पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिँदै अब विकासलाई ठोस परिणाममा पुर्याउने समय आएको उल्लेख गरे। “जनताको आवश्यकता बुझेर योजना बनाउने र कार्यान्वयनमा कडाइ गर्ने हो भने महोत्तरी विकासको गतिमा अगाडि बढ्न सक्छ,” उनले भने। सडक, खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्य रहेको उनको भनाइ थियो।
अभियानका क्रममा स्वतःस्फूर्त रूपमा सहभागी भएका स्थानीयवासीको उपस्थितिले आफू थप उत्साहित भएको पोखरेलले बताए। उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै, विकासका आधार तयार भइसकेकाले अब समुन्नतिलाई निष्कर्षमा पुर्याउने चरणमा प्रवेश गर्नुपर्ने बताए। “विश्वास जित्ने राजनीति र परिणाम दिने विकास, यही हाम्रो प्रतिबद्धता हो,” उनले थपे।
निर्वाचन परिचालन समितिका संयोजक राजु खडकाका अनुसार घरदैलो अभियान केवल मत माग्ने कार्यक्रम नभई जनताको समस्या, अपेक्षा र सुझाव संकलन गर्ने माध्यमका रूपमा सञ्चालन गरिएको छ। मतदाताबाट प्राप्त गुनासा तथा सुझावलाई कार्ययोजनासँग जोडेर कार्यान्वयन गर्ने तयारी भइरहेको बताइएको छ। अभियान टोलीले प्रत्येक वडामा पुगेर विकास आवश्यकता, रोजगारी सम्भावना र सामाजिक सेवा विस्तारका विषयमा तथ्य संकलन गरिरहेको छ।
स्थानीयस्तरमा अभियान प्रभावकारी बनाउन महिला र युवा परिचालन, मतदाता शिक्षा र सूचना संयन्त्र सुदृढीकरणलाई जोड दिइएको छ । अभियानमार्फत स्वतन्त्र मतदातासँग प्रत्यक्ष संवाद विस्तार गरिएको र समुदायगत भेलाहरू पनि सञ्चालनमा ल्याइएको परिचालन समितिले जनाएको छ ।

135 पटक हेरिएको 

