काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?

गत भदौमा भएको आन्दोलनपछि क्षतिग्रस्त प्रहरी संरचनाको निर्माण तथा मर्मत–सम्भारदेखि दैनिक प्रहरी गतिविधिमा सहयोग पुर्‍याउने स्थानीय तह, नागरिक समाज, व्यवसायिक क्षेत्र तथा अन्य सहयोगीहरूप्रति पनि उनले धन्यवाद व्यक्त गरेका छन्।

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा सर्वसाधारणप्रति आभार व्यक्त गरेका छन्।

मिति २०८२ असोज ५ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हालेका थापा मिति २०८३ जेठ २१ गतेदेखि सरुवा भई प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएका छन्। सरुवापछि सामाजिक सञ्जालमार्फत उनले आफ्नो कार्यकालको समीक्षा गर्दै धन्यवाद ज्ञापन गरेका हुन्।

थापाले आफूलाई नेतृत्वको अवसर प्रदान गर्नुका साथै मार्गनिर्देशन र सहयोग गर्ने प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा उपत्यका प्रहरी कार्यालयका प्रमुखसहित सम्पूर्ण वरिष्ठ अधिकृतहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनले आफ्नो कार्यकालमा प्रचलित कानुन तथा संगठनको नीति–निर्देशनअनुसार कानुन कार्यान्वयन, नागरिकमा शान्ति–सुरक्षाको अनुभूति गराउने, पीडितलाई न्याय सुनिश्चित गर्ने तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास गरिएको बताएका छन्। ‘हाम्रो प्रहरी’ अभियानअन्तर्गत समुदाय–प्रहरी साझेदारीका विभिन्न कार्यक्रम सञ्चालन गरिएकाले नागरिक र प्रहरीबीचको सहकार्यले नयाँ आयाम प्राप्त गरेको उनको भनाइ छ।

गत भदौमा भएको आन्दोलनपछि क्षतिग्रस्त प्रहरी संरचनाको निर्माण तथा मर्मत–सम्भारदेखि दैनिक प्रहरी गतिविधिमा सहयोग पुर्‍याउने स्थानीय तह, नागरिक समाज, व्यवसायिक क्षेत्र तथा अन्य सहयोगीहरूप्रति पनि उनले धन्यवाद व्यक्त गरेका छन्।

थापाले आफ्नो कार्यकालमा आन्दोलनपछिको काठमाडौंको शान्ति–सुरक्षा व्यवस्थालाई सामान्य अवस्थामा फर्काउने, आम निर्वाचनको वातावरण सुनिश्चित गर्ने, राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको सुरक्षा व्यवस्थापन गर्ने तथा अनधिकृत रूपमा बसोबास गरिएका बस्ती हटाउने लगायतका महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिएको उल्लेख गरेका छन्।

यस क्रममा व्यवसायिक निष्ठाका साथ काम गर्ने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकृत तथा कर्मचारी, जिल्ला सुरक्षा समिति, राष्ट्रसेवक कर्मचारी, स्थानीय तह, समाजसेवी, नागरिक समाज र सञ्चारमाध्यमप्रति उनले विशेष आभार व्यक्त गरेका छन्।

सरुवासँगै थापाले काठमाडौंमा आफ्नो कार्यकाल सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति सुरक्षा र सुशासनका लागि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार