काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोक्न आग्रह गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेका छन्।
संस्थापन इतर समूहका तर्फबाट पठाइएको उक्त पत्रमा अदालतमा मुद्दा विचारणाधीन रहेको अवस्थामा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनीतिक वा सांगठनिक निर्णय नगर्न र सांगठनिक गतिविधि तत्काल स्थगित गर्न अनुरोध गरिएको छ।
गत २१ साउनमा सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरावलोकन (निस्सा) का लागि अनुमति प्रदान गरेको थियो। सर्वोच्चको उक्त आदेशसँगै पार्टीको आधिकारिकतासम्बन्धी कानुनी विवाद पुनः सुनुवाइको प्रक्रियामा गएको छ।
यसै अदालतमा विचाराधीन प्रक्रियालाई मुख्य आधार बनाउँदै डा. कोइरालाले कानुनी निरुपण नभएसम्म महाधिवेशन लगायतका गतिविधि अघि बढाउनु उपयुक्त नहुने भन्दै आयोग र पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

279 पटक हेरिएको


