जसपाको ७७८ जना विधान अधिवेशन प्रतिनिधि

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशनमा प्रतिनिधिको संख्या ७७८ हुने भएको छ ।

प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले संख्या टुंगो लगाएको होे । २ वा २ भन्दा बढी प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको संख्या तोकिएको छ ।

मातहत समिति र संगठनहरुलाई जेष्ठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाले शुक्रबार परिपत्र जारी गरेको छ । जसपाले केन्द्रीय समिति ४२३ जना, ७ प्रदेश समितिबाट ४९ जना, १० वटा राष्ट्रिय समितिबाट ५० जना, ३ वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १३५ जना, ५ वटा महानगरपालिकाबाट ५ जना प्रतिनिधि रहने व्यवस्था गरेको छ ।

यस्तै, ट्रेड युनियन महासंघ, विद्यार्थी, युवा, महिला, कानून व्यवसायीबाट २÷२ जना प्रतिनिधि हुने छन् । बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासंघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ, खेलकुद महासघ, साँस्कृतिक महासंघ, पिछडा वर्ग महासंघ, शिल्पी दलित महासंघ, थारु संघ, मुस्लिम संघ, सुकुम्वासी संघ, प्रेस युनियनबाट १÷१ जना प्रतिनिधि हुनेछन् ।
बैठकले मधेस प्रदेश समितिलाई, प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुलाई थप प्रतिनिधिको व्यवस्था गरेको प्रचार विभागले जनाएको छ ।

जस अनुसार मधेस प्रदेश समितिलाई ५ जना, प्रदेश १ का धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट ४÷४ जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट ५÷५ जना थप प्रतिनिधि रहने छन् । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई ४÷४ जना थप प्रतिनिधिको व्यवस्था गरिएको छ । केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार