रेशम चौधरीले भने – सर्वोच्चको फैसलामा मप्रति न्यायिक नहुन सक्छ तर स्वीकार्य छ

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्ने बताएका छन् ।

टीकापुर घटनामा दोषी ठहर भएर जेल जिवन बिताई रहेका चौधरीलाई सर्वोच्चले सफाइ दिन अस्वीकार गरेपछि विज्ञप्ति जारी गर्दै चौधरीले यस्तो बताएका हुन् ।

चौधरीले सर्वोच्चको फैसला स्वीकार्य रहेको र पुनरावलोकनको बाटो आफ्ना लागि खुल्ला पनि रहेको बताए ।

चौधरीले भने, ‘मिति २०८० जेष्ठ २ गते सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोली पुनरावलोकनको बाटो हाम्रो लागी खुल्ला छ।’

सम्मानित अदालतलाई सधैं सम्मान गर्नुपर्ने उनले बताए । त्यस्तै उनले टिकापुर घटनाको फैसलालाई जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न पनि आग्रह गरेका छन्।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर भएको थियो ।

संविधान जारी हुनुभन्दा अघि २०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो। उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा रेशम चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार