मन्त्री राईलाई डा. रूइतसँग जाेडेर गलत प्रचार

काठमाडाैं । केही व्यक्तिहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईलाई नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग जाेडेर गलत प्रचार गरेकाे भन्दै मन्त्रीकाे सचिवालयले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री राईले नेत्र रोग विशेषज्ञ डा. रुइतको जीवनी कक्षा १० को नेपाली विषयबाट हटाएको भनी गलत प्रचार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएकाे हाे ।

जारी विज्ञप्तिमा भनिएकाे छ, ‘डा. सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली विषयबाट हटाइएको सत्य हो, तर मन्त्रीकाे यसमा कुनै संलग्नता छैन।’

पाठ्यक्रम विकास केन्द्रले २०७९ वैशाखदेखि कक्षा ५, ८ र १० को पाठ्यक्रम परिमार्जन गर्ने निर्णयसहित प्रक्रिया सुरु गरी २०७९ फागुनमै सबै प्रक्रिया पूरा गरी परिमार्जित किताब छपाइका लागि प्रेसमा पठाएको थियो र हाल सोही परिमार्जित नयाँ पाठ्यपुस्तक विद्यार्थीहरुलाई वितरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएकाे छ,’पाठ्यक्रम परिमार्जनका क्रममा विश्वप्रख्यात नेत्र रोग विशेषज्ञ डा. रुइतको जीवनी हटाइएकोमा हामीलाई पनि दुःख लागेको छ । उहाँको जीवनी कक्षा १० को नेपालीबाट हटाइए पनि सोही कक्षाको सामाजिक अध्ययन र विज्ञान तथा प्रविधि विषयमा फरक तरिकाले समेटिएको छ । त्यसैगरी कक्षा ७ को अंग्रेजी र कक्षा ८ को नेपाली विषयमा पनि उहाँको जीवनी राखिएको छ।’

जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष समेत रहेका मन्त्री राईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै भएको निर्णयलाई अहिले आएर जानाजान उहाँले नै डा. रुइतको जीवनी हटाएको भन्ने पूर्वाग्रही किसिमबाट गरिएका गलत प्रचार र भ्रममा नपर्न सचिवालयले अनुराेध समेत गरेकाे छ ।

साथै मन्त्री राईले हाल डा. सन्दुक रुइतले स्थापना गरेका तिलगङ्गा आँखा अस्पताललाई छुट्टै विश्वविद्यालयको रुपमा विकास गर्न सम्बन्धन दिने निर्णय गरिसकेकाे र सोका लागि आवश्यक प्रक्रिया पनि अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार