रेशम चौधरीको सजाय माफीको प्रस्ताव शीतलनिवासमा

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइल पुगेको छ ।

सरकारले पूर्वसांसदसमेत रहेका चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको हो । चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत बाँकी सजाय माफी गराउनका लागि गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयको कानुन शाखामा सजाय माफीको निवेदन पुगेको छ ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा रेशम चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार