प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : उपेन्द्र यादव

सप्तरी (राजविराज), १७ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् ।

बुधवार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ्ग कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई विषेश धन्यवाद समेत दिएका छन् ।

‘मुलुकबाट नागरिकता सम्बन्धि समस्या सदाका हल होस्, नागरिकता पाउनकै लागि नागरिकलाई लड्नुपर्ने बिषय दुरभाग्यपूर्ण हो’ उनले भने, ‘यस्तो मुलुक संसारमा कतै छैन्, अन्य मुलुकमा त अन्य देशका नागरिकलाई पनि बोलाइ–बोलाइ नागरिकता दिन्छन् तर यहाँ त नागरिकलाई आफ्नै देशमा गैरनागरिक भएर बस्नु परेको छ ।’

उनले विगतमा पनि लामो सघर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता र नागरिकता विधेयकमा पनि ठुलो नै सघर्ष गर्नु परेको बताए । ‘मधेशमा देखिएका नागरिकता सम्बन्धि समस्या समाधानका निम्ति हामीले सडकदेखि सद्नसम्म लामो समय सघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलायौं’ उनले भने, ‘तर पनि थुप्रै नागरिकका सन्तानहरु गैरनागरिक नै छन्, त्यसका लागि पनि ठुलै सघर्ष गर्नुपर्यो । संसदबाट दुई–दुई पटक पास भएको विधेयक राष्ट्रपतिकोमा गएर अड्किरह्यो ।’

अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अब नागरिकता सम्बन्धि सबै समस्या समाधान हुनेमा आशावादी भएको अध्यक्ष यादवले बताए ।

छ करोड ९२ लाखको नर्सिङ्ग भवन उद्घाटन
अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नसिंङ्ग भवन उद्घाटन गरिएको छ । कुल ६ करोड ९२ लाख रुपैयाँको लागतमा निर्माण भएको दुई तले भवनको अध्यक्ष यादवले उद्घाटन गरेका हुन् ।

गजेन्द्र नारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङ्गको कक्षा सञ्चालन गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार