प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका उपराष्ट्रपति जगदीप धनखड़सँग भेटवार्ता गरेका छन् ।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति धनखड़ भेटवार्ता गरेका हुन् ।

भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्ध हाम्रो सम्बन्धको आधारस्तम्भ बनेको विषयमा दुवै जनाबीच छलफल भएकाे हाे ।

भेटवार्ताकाे क्रममा उपराष्ट्रपति धनखड़ले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै खुसी व्यक्त गरेका थिए ।

साेही क्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका थिए। त्यस क्रममा दुई देशबीच द्विपक्षीय वार्ता भएको थियो ।

उक्त संवादमा नेपाल र भारतबीच ऊर्जा, व्यापार र सहयोग प्रवर्द्धनका विषयमा छलफल भएको थियो । यस क्रममा प्रधानमन्त्री मोदी र प्रधानमन्त्री पुष्पकमलको उपस्थितिमा दुई देशबीच धेरै क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर पनि भएको थियो ।

साेही क्रममा प्रधानमन्त्री मोदी र प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रुपमा रेलमार्गको कुर्था–बिजलपुरा खण्डको ई–योजनाको अनावरण गरेका थिए। दुवै नेताले बथनाहाबाट नेपाल भन्सार राेडसम्मको भारतीय रेलवे कार्गो ट्रेनलाई झण्डा देखाएर विदाई गरेका थिए ।

त्यस्तै दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतबीचको मोतिहारी–अमलेखगन्ज तेल पाइपलाइनको फेज–२ को संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार