कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

आज बस्ने प्रदेश पार्टी पदाधिकारीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न लागेको हो । यो संगै कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको छ ।

दलका नेता इन्द्रबहादुर आङ्बोसहित पार्टीका प्रदेश पदाधिकारीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । उक्त बैठकले निर्णय गरे लगत्तै राजीनामा दिने तयारीमा मन्त्रीहरू छन् ।

यसअघि सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता आङ्बोको नेतृत्वमै वैकल्पिक सरकार गठन गर्न भन्दै पहल समिति गठन गरेको थियो । माओवादीबाट सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ र वन, वातावरण तथा पर्यटनमन्त्री जीवन आचार्य सहभागी रहेका छन् ।

एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माओवादीको १२ र जसपाको १ सांसदले समर्थन फिर्ता लिएको खण्डमा कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतमा पर्नेछ । प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार