काठमाडौं। विदेशबाट कर छलेर भित्र्याइएका सुन बरामदी र धरपकडमा व्यापारीदेखि प्रहरीसम्म पर्दै आएका छन्। सुन तस्करीको संरक्षण राजनीतिक व्यक्तिबाट हुने गरेको आरोप समेत लाग्ने गरेको छ।
पछिल्लोपटक उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असार २२ गते एक कार्यक्रममा राजनीतिक क्षेत्र सफा त्यस्तो आपराधिक प्रवृत्ति हट्न आवश्यक रहेको बताएका थिए।
उनले त्यसै बोलेका होइनन् भन्ने पुष्टि उनकै पार्टीका एक नेताको नाम विदेशबाट हुने सुन तस्करीमा मुछिएबाट पनि हुन्छ। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुल महराको नाम सुन तस्करीमा मुछिएको छ। कृष्णबहादुर पूर्व सभामुख पनि हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले दुई महिना लामो अनुसन्धानपछि फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो।
सरकारी वकिल कार्यालयले पनि जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ। आपराधिक विश्वासघात र संगठित अपराधमा मुद्दा दायर भएको हो। जसमा ९ जनालाई प्रतिवादी बनाइएको छ।
यस घटनामा भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षा गार्ड निर्मल विक, सुन व्यापारी वेदप्रसाद अग्रवाल, साहेव राव पाण्डुङ मरग, अमृत कार्की, फरार रहेका रामकेशव थापा, गोपाल सुवेदी र दीपेश बस्नेतको संलग्नता रहेको खुलेको छ।
गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप (इलेक्ट्रिक चुरोट) ल्याएका थिए। भेप भित्रको ९ किलो सुन फिल्मी शैलीमा भन्सारको कोठाबाट बाहिर ल्याएर बिक्री गरेपछि तस्करीको शैली र संलग्नता खुलेको थियो।
तर प्रहरीको अनुसन्धानपछि अदालतमा दायर भएको अभियोगपत्रमा सुन कहाँबाट आयो ? ल्याउने चिनियाँ नागरिक को थिए ? कसले मगाएको थियो भन्ने प्रश्नको उत्तर स्पष्ट देखिएको छैन। त्यसो त यस प्रकरणमा नेता महरा र उनका छोराको समेत चिनियाँ नागरिकसँग सम्पर्क भएको देखिन्छ। तर प्रहरीले सुन ल्याउन चिनियाँ नागरिक र महरा बाबुछोरालाई प्रतिवादी भने खडा गरेको छैन।
अभियोगपत्रमा महरा बाबुछोरासँग पटक पटक सम्पर्क भएको देखिएको छ। तर त्यो सम्पर्क सुन तस्करीको लागि थियो वा अरु नै प्रयोजन हो भन्ने प्रष्ट पारिएको छैन। केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी सञ्जयसिंह थापालाई महरा बाबुछोरा संलग्नता कस्तो हो भनेर प्रश्न गर्दा उनको जवाफ यस्तो थियो- ‘के कुरा रहेछ म पनि बुझेर भन्छु नि है त।’
कसरी भेपभित्रको सुन भन्सारबाट बाहिरियो ?
२०७९ पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिक ली हेन विमानस्थलमा ओर्लिन्छन्। उनको साथमा दुई सुटकेस हुन्छ। भन्सार कार्यालयमा खटिएका नासु टिकाराम माझीले सुटकेसको एक्स-रे गर्छन्।
माझी नेपाल उड्डयन प्राधिकरणबाट एक्स-रे/ स्क्रिनिङ तालिम लिएर खटिएका कर्मचारी हुन्। उनले सुटकेस एक्स-रे गर्दा एउटै वस्तु धेरै भएकाले व्यापारिक प्रयोग र भन्सार तिर्नुपर्ने भएको भन्दै ‘आरसी’ लेखेर पठाउँछन्।
आरसी (रेड च्यानल) लेखेको मालसामानको पुनः एक्स-रे गर्नु भन्ने हो। यसरी आरसी गर्दा सुन भए कालो धब्बा देखिन्छ। पुनः एक्स-रे गर्दा पनि केही नदेखिए वा शंका भइरहे मानिसले भौतिक रुपमा नै खोलेर खानतलासी गरिन्छ।
भन्सार कार्यालयका कर्मचारीले लगेजको सामान व्यापारिक प्रयोजन देखिएपछि जफत गर्ने निर्णयमा पुग्छन्। नासु भुवनराज घिमिरेले सुटकेसमा रहेको सामान गणना गर्दा ७३ वटा प्याकभित्र ७ सय ३० वटा भेप भएको विवरण उठाउँछन्।
नासु सरोज श्रेष्ठले जफत भएको भेप मुद्दा शाखामा लगिरहेका हुन्छ। भन्सारको सुरक्षामा खटिएका अमृत विकले त्यो दृश्य देखेपछि सुटकेस बोकेर लग्छन्। मुद्दा शाखामा सुटकेसभित्रको भेप हेरिन्छ र त्यहाँबाट गोदामतर्फ पठाइन्छ। गोदाममा लैजाने क्रममा सुटकेसबाट एउटा भेप झर्छ, झरेको भेप गार्ड विकले खल्तीमा हाल्छन्।
विकको बयानलाई आधार मान्ने हो भने उनले त्यो टिपे र घर लगे। घरमा गएर तान्न खोज्दा त्यसबाट केही निस्केन। भेपबाट धुँवा नआएपछि उनले त्यसलाई फुटाए। त्यहाँ सुनजस्तो धातु थियो। अरु नै एक जनाको सहयोगमा उनले त्यो धातु कोटेश्वरमा रहेको एक सुन पसलमा लगे। त्यो धातु सुन नै रहेको खुल्यो। उनले बेचे। बिक्रीबाट उनले १ लाख १२ हजार रुपैयाँ पाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
अनुसन्धानले देखाएको सुन ल्याउने, चोरेर बेच्ने र किन्नेको सञ्जाल
एउटा भेप भेटेर लुकाउँदा भएको फाइदाबाट सुरक्षा गार्ड विक थप लोभिए। त्यसपछि पालैपालो उनले ४० वटा भेपबाट सुन निकाले। जसबाट उनले ४४ लाख रुपैयाँ कमाएको अनुसन्धानमा देखिन्छ।
तर यसपछि भने घटनामा भन्सार एजेन्ट दिनेश बस्नेत र नासु रेवन्त खड्काको भूमिका देखिन्छ। प्रहरीको प्रतिवेदनमा मुख्य अभियुक्त उनीहरूलाई नै बनाइएको छ।
भन्सार गोदामबाट सुन निकाल्न खड्का र बस्नेत पटक-पटक १११ नम्बरको गोदाममा पुगेको देखिएको छ। दिनेशले प्रहरीसँगको बयानमा नै नासु खड्कालाई लिएर भन्सार कार्यालयको कार्गो भवनको उक्त कोठामा छिरेर ९ दिनसम्म भेप फुटाउँदै सुन निकालेको बयान दिएका छन्।
‘करिब ८/९ दिन लगाएर रेवन्त खड्काको सामुन्नेमा उक्त जफत भएको भेप फुटाइ त्यसमा रहेको सुन झिकी बाहिर लगेको हो,’ दिनेशले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन्।
यसरी भेपबाट ९ किलो सुन निकालेका थिए। भेप फुटाउँदा निस्किएको टुक्रा-धुलो समेत पोको पारेर बानेश्वरस्थित सुकुम्बासी बस्ती नजिकैको बागमती खोलामा फालेको बताएका छन्।
त्यसपछि रेवन्तका भाइ दीपेश र भिनाजु गोपाल सुवेदीको सहयोगमा न्युरोडमा रहेका व्यापारीलाई बिक्री गरेका थिए। सुन प्रकाश अग्रवाल र साहेव राव लगायतका भारतीय गिरोहलाई बिक्री गरेका थिए। सुनको मूल्य ६ करोड २१ लाख भए पनि २१ लाख छुट दिएर बिक्री गरेका थिए।
सुन किन्नेहरूको विशाल बजारमा भूषण चस्मा तथा घडी पसल भएको देखिन्छ। आवरणमा व्यापार भए पनि भित्री रुपमा उनीहरू यसरी भित्रिने सुन किन्न सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। दिनेशले सुनबाट आएको पैसा भक्तपुरको मध्यपुर थिमि-१७ दिव्यश्वरी प्लानिङभित्रको जग्गा खरिद गरेका थिए। २ करोड ७५ लाख रुपैयाँमा ससुरा राम केशव थापाको नाममा उनले जम्मा गरेका थिए।
त्यसपछि मुछियो महरा बाबुछोराको नाम…
यस घटनामा दुबईबाट सुन ल्याउनेमा चिनियाँ नागरिक लि हुनसँग देखिन्छ। त्यस्तै अर्का चिनियाँ नागरिक डाजिङ वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने र राहुल महरा राखिएको छ। राहुल कृष्णबहादुर महराका छोरा हुन्।
प्रहरीको अनुसन्धानमा उनीहरूको सम्पर्क कृष्णबहादुर महरा र मुक्ति श्रेष्ठसँग रहेको देखिन्छ। प्रमुख भन्सार अधिकृतस्तरका कर्मचारी मुक्तिले प्रहरीसँगको बयानमा आफूलाई राहुल महराले जफत भएको सामान छुटाउने प्रक्रियाको लागि बुझ्न फोन गरेको बताएका छन्।
‘आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले फोन गरी जफत भएको भेपको लिलामी प्रक्रिया के हो? कसरी हुन्छ भनी सोधेका थिए,’ बयानमा श्रेष्ठले भनेका छन्।
महरा बाबुछोराले भने पनि चिनियाँ नागरिकसँग सम्पर्क र चिनजान भएको स्वीकार गरेका छन्। कृष्णबहादुर महराले चिनियाँ नागरिकले आफू फलफूल व्यापारी भएकाले नेपाल बस्दै आएको जानकारी भएको बताएका छन्। नेता महराले उनको अन्य व्यापारको बारे जानकारी नभएको दाबी गरेका छन्।
नेता महराले छोरा राहुलको विषयमा पनि बोलेका छन्। चिनियाँ नागरिकले कामदारको लागि सामान ल्याउँदा भन्सार अड्किएकाले प्रक्रिया बुझ्न फोन गरेको र भन्सारका कर्मचारीको अनुसार नै जानकारी दिएको बताएका छन्।
नेता महराको अनुसार र प्रहरीको प्रतिवेदनका अनुसार नै महरा बाबुछोराको सुन ल्याउने चिनियाँ नागरिकसँग सम्पर्क र चिनजान भएको पुष्टि हुन्छ। त्यस्तै राहुलले भन्सारका कर्मचारी मुक्ति श्रेष्ठलाई फोन समेत गरेको देखिन्छ। अब यो सम्पर्क सुन तस्करीकै लागि थियो ? भन्ने अनुसन्धानमा प्रस्ट खुलेको छैन।
प्रहरीको प्रतिवेदनमा विदेशबाट सुन ल्याउने समूहको नाममा कृष्णबहादुर महरा र राहुल महराको समेत नाम राखिएको छ।