सन् १९८५ मा पपगायक जर्ज माइकल र एन्ड्रु रिडगेले पहिलो पटक चीन पुगेका थिए। यसरी चीन पुग्ने पहिलो पश्चिमा पपगायक समूह उनीहरूकै बनेको थयो। सांगीतिक कार्यक्रमका सहभागीलाई आ–आफ्नो सिटमा बस्न निर्देशन दिइएको थियो।
तर त्यतिबेला पनि चिनिया युवाहरू यी पपगायकलाई देख्न लालायित थिए। कम्युनिस्ट देश भएकाले त्यति स्वतन्त्रता नभए पनि त्यतिबेला चीन बिस्तारै विश्वसामु खुल्दै थियो र आर्थिक सुधारलाई अगाढि बढाउँदै थियो। तर त्यसको ३ दशकमा अर्थतन्त्र दु्रुत गतिमा अगाडि बढेको थियो र चीनमा नयाँनयाँ अवसर सिर्जना भएका थिए। ठूलो संख्यामा चिनियाँ युवा विदेश अध्ययन गर्ने र भ्रमण गर्ने अवसर पाएका थिए। यो अवधिमा हुर्केका युवाहरूमा भविष्यप्रति नयाँ आशाको सञ्चारसमेत भएको थियो।
तर अहिलेको वास्तविकता अपेक्षा गरे भन्दा फरक छ। सन् १९९० र २००० मा जन्मेका चिनियाँले आफ्नो अगाडि कालो बादल देख्न थालेका छन्। राष्ट्रपति सी चिनफिङले
सन् २०१२ मा सत्ता सम्हालेयता शासन झन कठोर र समाज कम गतिशील बनेको छ। सेन्सरसिपका कारण इन्टरनेट निरस बनेको छ र राष्ट्रवादी नारा बोकेका सन्देशहरूले इन्टरनेटमा व्यापकता पाएका छन्। विश्वविद्यालयका विद्यार्थी राष्ट्रपति सीको व्यक्तिगत विचारधारालाई आत्मसात गर्न बाध्य बनेका छन्। सबै भन्दा चिन्ताको पक्ष के हो भने अधिकांशका लागि चीनका अर्थतन्त्र ठप्प बनेको छ। सहरमा बस्ने १६ देखि २४ वर्षका युवा समूहमा बेराेजगारी २१ प्रतिशतले बढेपछि गत महिनादेखि चीनले बेरोजगारी दर सार्वजनिक गर्न छाडेको छ।
राष्ट्रपति सीले युवालाई ‘कठिनाइ सहन र तीतोपना स्वीकार गर्न’ आह्वान गर्दै आएका छन् तर राष्ट्रपतिको चाहना किन पूरा गर्नुपर्ने भन्नेमा अधिकांश युवा अनुत्तरित छन्।
इकोनोमिस्टले यो साता चीनका युवा तथा युवतीहरूसँग उनीहरूको अवधारणा बुझेको थियो। अधिकांशले अझै पनि पार्टीप्रति विश्वास रहेको र राष्ट्रपति सीलाई झन् बलियो बनाउनुपर्ने बताएका छन। तर कतिपय युवा आक्रोशित देखिएका छन्। रोजगारदाताहरूले खोजे जस्तो सिप विश्वविद्यालयका ग्राडुएटहरूले दिन सकेका छैनन्। रोजगारीको अभाव र खस्कँदो सम्पत्तिको मूल्यका कारण अधिकांशको घर किन्ने र परिवार बसाल्ने सोचमा तुषारापात आएको छ। सामाजिक सञ्जालमा प्रवाहित सन्देशहरूको विश्लेषण गर्दा आमजनताको मुड निराशाजनक देखिन्छ। मोहभंग भएका युवाहरूले सामाजिक दबाबलाई मतलव नगर्ने (टङपिङ) र यस्ता कुरालाई यत्तिकै सड्न दिने (बैलान) जस्ता शब्द प्रयोग गर्ने गरेका पाइएको छ। यी प्रचलित शब्दावलीले युवाहरूले हार मानेको देखिन्छ।
त्यसो त, उदास युवाहरूको वर्चस्व रहेका देशहरूमा चीन मात्र छैन। अमेरिकाका १८ देखि ३४ वर्ष समूहका अमेरिका झण्डै आधा युवा जनसंख्याले पनि भविष्यप्रति आफ्नो आत्मविश्वास नरहेको बताएका छन्। यसरी चिनियाँ युवाहरूले आफ्नै हिसाबले प्रतिरोध (लाइ फ्ल्याट) गरेका छन् भने अमेरिकी युवा चूपचाप देखिन्छन्। मिलिनियस्ल र त्यसपछि जन्मेको पिँढी अर्थात जेनेरेसन जेड विश्वभर उदास प्रकृतिको देखिएको छ। तर १६ वर्षदेखि ३५ वर्षभित्रका चीनका ३६ करोड जनसंख्या गंभीर हिसाबले चिन्तित देखिएको छ। समुन्नत जिन्दगीका लागि आवश्यक पर्ने भर्याङ उनीहरूबाट टाढिएको छ। परिवर्तित परिस्थितिमा कतिपयले यो दौडबाट आफूहरूलाई अलग पारेका छन् भने अन्य अन्तर्मुखी बन्दैछन्। एकातिर यो शताब्दीको मध्यसमममा चीनलाई ठूलो शक्तिका रूपमा विश्वसामु उभ्याउने राष्ट्रपति सीको चाहना छ भने त्यो चाहना पूरा गर्न सहयोगी हुनपर्ने युवाहरू तयार नहँुदा राष्ट्रपतिको आकांक्षामा ठूलो प्रश्न उठेको छ।
यो अवस्थामा युवा बेचैनीले राजनीतिक जोखिम निम्त्याउन सक्ने देखिएको छ। निराश युवाले स्वतन्त्रता र भ्रष्टाचारको विरोधमा
सन् १९८९ मा तियानमेन स्क्वायरमा प्रदर्शन गरेर चीनलाई थर्काएका थिए। गत वर्ष पनि, सरकारले अवलम्बन गरेको सख्त कोभिड–१९ नीतिको विरोधमा विभिन्न सहरमा प्रदर्शनी भएको थियो। त्यतिबेला, कतिपयले राष्ट्रपति सी र उनको पार्टीले सत्ता छाड्नुपर्ने मागसमेत गरेका थिए।
यस्तो अवस्थामा नयाँखाले अशान्तिको संभावनालाई कसैले इन्कार गर्न सक्दैन। तर गत वर्षको प्रतिरोध सानो स्तरको थियो र हाम्रो समीक्षाले के देखाएको छ भने युवा चिनियाँहरूमा क्रान्तिकारी जोशको प्रष्फुटन भएको छैन। यी युवाहरू फायरवालद्वारा सीमित गरिएका समाचार र सूचनाहरूसहितको इन्टरनेट युगमा हुर्केका पिँढी हुन। कम्युनिस्ट पार्टीका ठूलो सफलता हासिल गरिरहेको छ भन्ने प्रोपोगान्डाको बीचमा हुर्केको यो पिँढीका कतिपयले मनदेखि कम्युनिस्ट पार्टीको समर्थन गरेको पाइएको छ। सहरिया युवाहरूसमेतले कतिपय स्वतन्त्रतालाई सीमित पार्नुपर्ने धारणा व्यक्त गरेका छन्।
चिनियाँ महानतालाई पुनस्र्थापना गर्ने सीको उद्देश्यलाई साथ दिन चिनियाँ युवाहरूले बिहे गर्नुपर्छ, बालबच्चा पाउनुपर्छ र विद्यमान जनसांख्यिक क्षयीकरणलाई उल्टाउनुपर्छ। राष्ट्रपति सीले युवालाई ‘कठिनाइ सहन र तीतोपना स्वीकार गर्न’ आह्वान गर्दै आएका छन् तर राष्ट्रपतिको चाहना किन पूरा गर्नुपर्ने भन्नेमा अधिकांश युवा अनुत्तरित छन्। (बेलायती पत्रिका इकोनोमिस्टमा प्रकाशित समाचारको भावानुवाद)