कुलमानलाई बदनाम गराउँदै एमाले कार्यकर्ता

दाजू गणेशले निकितालाई पार्टी बेचेको आरोप

सिंहदरबार क्षेत्रमा ऊर्जासहित तीन विकासे मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम प्रयोग गरेर दबाब सिर्जना गर्ने गतिविधि भइरहेको भन्दै कर्मचारीस्तरमा चिन्ता व्यक्त हुन थालेको छ।

सर्लाही घर भएका एमालेनिकट एक कार्यकर्ता हेमन्त मोक्तानले ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा कुलमानको नाम ‘बेचेर’ प्रभाव जमाउन खोजेको आरोप कर्मचारीहरूले लगाएका छन्।

हेमन मोक्तानले ‘हेमन मोक्तान फाउन्डेसन नामक संस्था स्थापना गरी विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन गरेको र त्यसमा अनियमितता भएको आरोपसमेत उठेको छ। विशेषगरी नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटर आपूर्तिसम्बन्धी ठेक्कामा आफ्नो पहुँच जमाउन उनले प्रयास गरिरहेको बताइन्छ।

ऊर्जामन्त्री नियुक्त हुनुअघि नै कुलमान घिसिङलाई आफ्नो जन्मदिनमा आमन्त्रण गरी सामाजिक सञ्जालमा निकटता प्रदर्शन गर्ने र त्यसलाई राजनीतिक तथा आर्थिक लाभका लागि प्रयोग गर्ने रणनीति हेमन्तले अपनाएको आरोप छ। मन्त्रीसँगको सम्बन्ध देखाएर ऊर्जा मन्त्रालयसँग जोडिएका ठेक्कापट्टामा प्रभाव जमाउने प्रयास भइरहेको बताइन्छ।

यसै क्रममा हेमन मोक्तान भनेर चिनिने हेमन्तले विदेशमा रहेका नेपालीहरूसँग सम्पर्क विस्तार गर्ने बहानामा कुवेत, ओमान, साउदी अरेबियालगायतका गल्फ मुलुकहरूमा कुलमान घिसिङसँगै भ्रमण गरेको र त्यहाँबाट संकलित चन्दाको दुरुपयोग गरेको तथ्य बाहिर आएको दाबी गरिएको छ। अहिले पनि ‘कुलमानसँग भेटघाट गराइदिने वा काम मिलाइदिने’ आश्वासन दिएर विदेशस्थित नेपालीहरूबाट लाभ लिँदै आएको आरोप छ।

ऊर्जा मन्त्रालयभित्र ‘हेमनले मन्त्रीलाई नै संकटमा पार्न सक्छ’ भन्ने चर्चा चलिरहे पनि कुलमान घिसिङले उक्त यथार्थ गम्भीरतापूर्वक नबुझेको टिप्पणीसमेत सुनिन थालेको छ। सुशासन र जेन–जी आन्दोलनको नाराबाट बनेको सरकारका मन्त्री यस्ता ब्रोकरहरूसँग किन नजिक देखिन्छन् भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकताको प्रक्रियासँगै ऊर्जा मन्त्री कुलमान घिसिङ वरिपरि राजनीतिक र सांगठनिक विवादहरू चर्किन थालेका छन्। एकतापछि कुलमानलाई दोस्रो बरियतामा राखिने चर्चा भए पनि अन्ततः रास्वपामा तेस्रो बरियता मात्र पाउने निश्चित भएपछि उज्यालो नेपाल पार्टीभित्र असन्तोष र भाँडभैलो सुरु भएको बताइन्छ।

यसै सन्दर्भमा कुलमान घिसिङका दाजू गणेश घिसिङमाथि उज्यालो नेपाल पार्टी ‘बेचेको’ आरोप लागिरहेको छ। उज्यालो नेपाल पार्टीका केही कार्यकर्ताहरूले गणेश घिसिङले रास्वपा अध्यक्ष रवि लामिछानेकी पत्नी निकिता पौडेलसँग बारम्बार वार्ता गर्दै पार्टीलाई विलयतर्फ डोर्‍याएको दाबी गरेका छन्। पार्टी एकता रोक्न खोज्दा पनि दाजूको दबाबका कारण कुलमान निरीह बनेको चर्चा उज्यालो वृत्तमा चलिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार