तीनकुनेमै प्रदर्शन गर्ने प्रसाईं समूहको अडान, प्रशासन भन्छ- अनुमति छैन

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले जसरी पनि काठमाडौंको तीनकुनेमै प्रदर्शन गर्ने अडान लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न नदिने चेतावनी दिए पनि प्रसाईं समूहले भने तीनकुनेमै कार्यक्रम गर्ने अडान लिएको हो ।
बिहीबार तोकिएको ठाउँमा प्रदर्शन गरेको भन्दै आज भने तीनकुनेमै विरोध प्रदर्शन गर्ने अभियानका सहससंयोजक राजानन्द मान्डव्यले बताए । ‘हिजो हामीले प्रशासनको आदेश मानेर तोकिएको ठाउँमा कार्यक्रम गर्‍यौं । आज तीनकुनेमा गर्ने भनेका छौं त्यही गर्छौं,’ उनले भने, ‘जसरी पनि तीनकुनेमै जाने हो । कार्यक्रम गर्ने हो । त्यहाँबाहेक विकल्प छैन ।’
अध्यक्ष प्रसाईंले गलत मनसायका साथ तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले उक्त क्षेत्रमा कार्यक्रम गर्न नदिने प्रशासन कार्यालयले जनाएको छ । जबर्जस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ।

प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेको छ । आजदेखि काठमाडौंको तीनकुनेमा केन्द्रित भएर आन्दोलन गर्ने प्रसाईंले बताएका थिए । जनप्रदर्शनपछि बिहीबार अबेर आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलन अनिश्चितकालसम्म जारी रहने बताएका थिए ।

बिहीबार तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो भने प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरेको थियो । तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाब उत्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार