व्यापारीको भेषमा करोडौँ ठग्ने गिरोह पक्राउ, महिलाको समेत प्रयोग

काठमाडौँ । व्यापारीको भेषमा विभिन्न बहाना बनाएर करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुमार थापासहित चार जनालाई पक्राउ गरेको हो । काभ्रेका थापा भक्तपुरको कमलविनायकबाट पक्राउ परेका हुन् । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्ने अन्यमा स्याङ्जाकी मीना दमै, सिन्धुलीका रवीन कुमार थापा र सप्तरीका दिलिप कुमार लाभ पक्राउ परेका हुन् ।

आफू सुनका गरगहना विदेशमा निर्यात गर्ने व्यापारी भएको भन्दै थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गर्ने नाममा ठगी गरेको पाइएको उनले बताए । आफू ठगिएको थापा पाएपछि विरेन्द्र सुनारले जिल्ला प्रशासन कार्यालय कास्कीमा २ करोड बिगोको मुद्दा दर्ता गरेका थिए । त्यसलगत्तै यसबारे सम्बन्धित निकायबाट पत्राचार भएपछि कार्यालयको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले जानकारी दिए ।

थापालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मिना दमै, रविन कुमार थापा र दिलीप कुमार लाभको समेत संलग्नता खुलेको रेग्मीको भनाइ छ । भक्तपुरको सल्लाघारीबाट पक्राउ परेकी मीना दमैविरुद्ध कास्कीमा १ करोड ७० लाख ५९ हजार बिगो मागदावी भएको मुद्दा देखिएको छ । यस्तै उनले चितवनमा समेत १ करोड ३६ लाख ठगी गरेको देखिएको रेग्मीले बताए ।

रविन कुमार थापाले चितवन जिल्लामा ४ वटा बैङ्किङ कसुर तथा ठगी मुद्दामा २ करोड ४५ लाख ठगी गरेको देखिएको तथा काठमाडौँमा समेत ३ वटा मुद्रामा फरार रहेको देखिएको छ । दिलीप कुमार लाभसमेत २ वटा मुद्दामा फरार देखिएको प्रहरीको भनाइ छ । उनलाई जिल्ला अदालत काठमाडौँ पठाइएकोमा सर्वोच्च अदालतबाट वन्दी प्रत्यक्षीकरणको रिटबाट जरिवाना दाखिला गरेको देखिँदा छाडिएको रेग्मीको भनाइ छ । अन्य दुई जनालाई भने कारबाही प्रक्रियाका लागि सम्बन्धित अदालतमा पठाइएको छ ।

अनुसन्धानका क्रममा खुले यी तथ्य
थापाले पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाखका गहना खरीद गरेका थिए भने पछि विश्वास जितेर १ करोड ८० लाखका गहना बाहिर निर्यात गर्ने भनी लिई चेकमार्फत भुक्तानी गरेर योजनाबद्ध रुपमा ठगी गरेको खुलेको छ ।

यसै गरी लाभले भक्तपुर सुडालमा अरु व्यक्तिको नाममा रहेको जग्गा भए पनि आफ्नो भनेर परिवार अटो मोबाइलबाट २६ लाख रकम ठगेको खुलेको छ । यस्तै तीन गाडी समेत लगेको खुलेको छ । पछि कम्पनीको उजुरीको आधारमा गाडी फिर्ता गराइएको छ ।

यसै गरी चितवनमा जग्गा दिन्छु भनी अन्य व्यवसायीहरूको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको समेत खुलेको छ ।

ठगीमा महिलाको प्रयोग

प्रहरीका अनुसार ठगीमा मीना दमैलाई प्रयोग गरेको पाइएको छ । रेग्मीका अनुसार मिना दमै उपर कास्कीमा ७ वटा ठगीका मुद्दा दर्ता भएको देखिएको छ भने चितवनमा पनि २ वटा मुद्दा दर्ता भएका छन् । यस्तै कुमार थापा विरुद्ध पनि कास्कीमै २ करोड ठगीमा बैङ्किङ कसुर मुद्दा दर्ता भएको पाइएको छ । यस्तै रविन कुमार थापाविरुद्ध चितवनमा ४ वटा मुद्दा र काठमाडौँमा ३ वटा मुद्दा दर्ता भई फरार रहेको पाइएको छ ।

कुमार थापाले मिना दमैलाई देखाई निजको नामको चेक दिने र निज बाटै कारोबार गर्ने गरेको पाइएको छ । कारोबार गर्दा विश्वास पार्न महिला प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ४ जनाले समूह बनाई विभिन्न बहानामा ठगी गर्ने र ठगी गर्ने क्रममा आफूहरू सुनका गहना, गाडी र जग्गाको कारोबारी रहेको बताउने गरेका थिए । उनीहरूले ठगीबारे थापा नपाउन् भनेर ठुलो व्यापारी देखाउन ठुलो कारोबार भएको देखाउने गरेको अनुसन्धानबाट खुलेको छ । ४ जनाबाट ठगी भएको रकम बिगो ‍७ करोड ७७ लाख ५९ हजार रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार