भारत-पाकिस्तान द्वन्द्वको प्रभाव – अन्तर्राष्ट्रिय उडान प्रभावित, पर्यटक ह्वात्तै घटे

भारत पाकिस्तान झडपको अर्को मुख्य असर नेपालको पर्यटनमा पर्ने चिन्ता पर्यटन व्यवसायीहरूले गरेका छन्।

“अहिले नै भारतबाट आउने पर्यटकहरू कैयौँले बुकिङ रद्द गर्न थालिसकेका छन्,” नेपाल असोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्सकी वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले भनिन्।

उनका अनुसार युद्धका त्रासका कारण मानिसहरू बाहिरफेर घुम्न जान हच्किने हुँदा खास गरी भारतीय पर्यटक तथा भारत हुँदै नेपाल आउने पर्यटकहरू कम हुने डर छ। “करिब २० प्रतिशत बुकिङ रद्द भएको छ। अझ धेरै असर पर्ने हामीलाई चिन्ता छ,” उनले भनिन्।

विशेष गरी एफआईटी (फ्री एन्ड इन्डिपेन्डन्ट ट्राभलर) भनिने एक्लै वा सानो समूहमा घुम्न आउने पर्यटकहरूले बुकिङ रद्द गरिरहेको उनले बताइन्।

“त्यसबाहेक, उदाहरणका लागि, मे २३ मा हामीले बुद्धिस्ट इन्टर्न्याश्नल ट्राभल मार्ट कार्यक्रमको पनि आयोजना गर्दै थियौँ। त्यसमा धेरै भारतीयहरू आउने योजना थियो। तर त्यसका लागि आउने भनेका कतिपयले पनि बुकिङ रद्द गर्न थालेका छन्।”
नेपाल आउने विदेशी पर्यटकहरूमध्ये भारतीयहरूको सङ्ख्या अधिकतम हुन्छ। उनीहरू नेपाल आउने मुख्य समय पनि यही मे, जुन, जुलाई महिना हुने गर्छ।

“विगतमा चिनियाँ पर्यटकले धेरै हिस्सा ओगट्थे तर अचेल त भारतीय पर्यटकहरू नै प्रमुख हुन्। अझ सडकमार्गबाट आउने भारतीय पर्यटकहरूको त हिसाबै छैन,” उनले भनिन्।

त्यसैले पछिल्लो अवस्थाले पर्यटन आयमा नराम्रो धक्का पुग्न सक्ने जानकारहरू बताउँछन्।

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए।

हवाईमार्ग भएर गत वर्ष नेपाल भ्रमण गर्नेमध्ये तीन लाख १७,००० जनाभन्दा बढी भारतीय थिए। नेपाल आउनेमध्ये दोस्रोमा एक लाख ११,००० जनाभन्दा बढी अमेरिकी र तेस्रोमा एक लाख १,००० जना भन्दा धेरै चिनियाँहरू थिए।

सन् २०२५ मा १६ लाख विदेशी पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राखिएको नेपाल पर्यटन बोर्डले जनाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार