सीएमसीईले भन्यो– ‘पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनले गम्भीर बनायो’

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएमसीई)ले सार्वजनिक लेखा समितिको प्रतिवेदन उदृत गरेर प्रकाशन भएका सामग्रीप्रति आश्चर्य र चिन्ता प्रकट गरेको छ ।

सीएमसीईले आज गोरखापत्रमा विज्ञप्ति प्रकाशन गर्दै समितिकाे प्रतिवेदनमा थुप्रै त्रुटि रहेको भन्दै गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव रहेको उल्लेख गरेको छ ।
सीएमसीईको विज्ञप्तिमा भनिएको छ– ‘लेखा समितिको प्रतिवेदनमा हाम्रो कम्पनी सम्बन्धी विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैन । उक्त प्रतिवेदनलाई उदृत गरी प्रकाशित गरिएको परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र गम्भीर रूपमा चिन्ता लागेको छ ।’

कम्पनीले व्यावसायिक र जिम्मेवार अन्तर्राष्ट्रिय इन्जिनियरिङ ठेकेदारका रूपमा विमानस्थल परियोजनाको बोलपत्र, सम्झौता र कार्यान्वयन चरणमा नेपाल सरकारको सम्पूर्ण कानूनी र नियामक आवश्यकता कडाइपूर्वक पालना गरेको भन्दै सबै दस्तावेज सुरक्षित रहेको समेत जनाएको छ । पोखरा विमानस्थल नेपालको सबैभन्दा आधुनिक विमानस्थल भएको उल्लेख गर्दै २८ महिना लगातार सञ्चालन हुँदा शून्य घटना रहेको समेत जनाएको छ ।

कम्पनीले कर सम्बन्धी मामिलामा नेपाल र चीन सरकारबीच हस्ताक्षर गरिएको कार्यान्वयन गरिएको प्रावधानलाई कडाइका साथ पालना गरिएको भन्दै सरकारदेखि सहकारी परियोजनामा कर छुट गर्नु अन्तर्राष्ट्रिय प्रचलित मानक भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘कर सम्बन्धी मामिलामा हाम्रो कम्पनीले नेपाल र चीन सरकारबीच हस्ताक्षर गरिएको कार्यान्वयन सम्झौतामा उल्लेख गरिएको कर छुटका प्रावधानहरूलाई कडाइका साथ पालना गरेको छ । साथै, सरकारदेखि सरकार सहकारी परियोजनाहरूमा कर छुट प्रदान गर्नु अन्तर्राष्ट्रिय रूपमा प्रचलित मानक हो’, कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले निर्माण सामग्रीको खरिदलाई प्राथमिकता दिएको, स्थानीय इन्जिनियर र श्रमिकलाई रोजगारी दिएको, स्थानीय सरकारलाई आपतकालीन सडक मर्मत, सिँचाइ नहरको पुनर्निर्माण, शैक्षिक अनुदान, निःशुल्क स्वास्थ्य शिविर र खेलकुद कार्यक्रममा प्रायोजन जस्ता क्षेत्रमा सहयोग समेत गरेको जनाएको छ ।

कम्पनीले प्रतिवेदनको अनधिकृत प्रकाशनको अनुसन्धान गर्न र गलत सामग्रीलाई स्पष्ट पार्न सरकारी निकायलाई अनुरोध गर्दै गम्भीरतापूर्वक घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

सइएमसीईले सम्बन्धित नेपाली सरकारी निकायहरूलाई उक्त प्रतिवेदनको अनधिकृत प्रकाशनको अनुसन्धान गर्न, त्यसमा रहेको गलत सामग्रीलाई स्पष्ट पार्न र घटनाको सत्यतथ्य उजागर गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार