आईपिएल : मुम्बईलाई पराजित गर्दै पंजाब क्वालिफायर प्रवेश

जयपुर । प्रियांश आर्य र जोस इंग्लिसको अर्धशतकमा पन्जाब किंग्स सोमबार मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायर १ मा पुगेको छ । प्लेअफमा पुगिसकेका यी दुई टोलीबीचको खेलमा पन्जाब बाजी मार्दै उपाधि दौडतर्फ अग्रसर भएको हो ।

आर्य र इंग्लिसले दोस्रो विकेटमा ५९ बलमा १ सय ९ रनको साझेदारी गरेपछि पन्जाबले १ सय ८५ रनको लक्ष्य ९ बलअगाडि १ सय ८७ रन बनाएर पूरा गर्‍यो । पन्जाबको १४ खेल समाप्तिमा १९ अंक पुगेको छ ।

गुजरात टाइटन्सको १८, रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को १७ र मुम्बईको १६ अंक छ । लिगको अन्तिम खेलमा आरसीबीले मंगलबार लखनउ सुपर जायन्ट्सको सामना गर्नेछ ।

आर्य १५ औं ओभरमा आउट भएपछि यो साझदोरी टुटेको थियो । उनले ३५ बल खेल्दै ९ चौका र २ छक्कासहित ६२ रन बनाए । इंग्लिसले ४२ बलमा ७३ रन बनाई मिचेल सान्टनरको बलमा एलबीडब्लु आउट भए ।

उनले ९ चौका र ३ छक्का प्रहार गरे । कप्तान श्रेयस ऐर १६ बलमा १ चौका र २ छक्का प्रहार गरी २६ रनमा अविजित रहे । टस हारेर ब्याटिङमा आएको मुम्बईले यसअघि ७ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । सूर्यकुमार यादवले ३९ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार