नेपाली कम्युनिष्ट पार्टीका गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखनाथ न्यौपाने गोरखा विकासको नयाँ दृष्टिकोण बोकेर चुनावी मैदानमा होमिएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका न्यौपाने राष्ट्रिय राजनीतिका एक चर्चित व्यक्तित्व हुन् । नेकपाको किल्लाको रुपमा रहेको गोरखामा उनी नयाँ उम्मेदवारको रुपमा रहेका छन् । यसअघि उनले कुनै प्रकारको राजकीय जिम्मेवारी लिएका छन् । बौद्धिक व्यक्तित्व, साधारण जीवनशैली र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका उनको परिचय बनेको छ । उनले गोरखामा दिर्घकालिन महत्वको केही एजेन्डा र योजनाहरु लिएर अघि बढेका छन् ।
‘हरित एवम् दिगो विकास’ को दृष्टिकोण लिएर मैदानमा
न्यौपानेले आफ्नो चुनावी एजेन्डाको रुपमा ‘हरित एवम् दिगो विकास’ को बृहत् दृष्टिकोण अघि सारेका छन् । वातावरण विनाश गरेर गरिने विकासको विरोधी रहेका उनले वातावरण, मानिस र विकासबीच सन्तुलित समन्वय हुनुपर्ने मान्यता बोकेका छन् । पर्यावरणीय विनाश, जलवायु परिवर्तन र त्यसले निम्त्याएको सङ्कटले विपन्न तथा निम्न वर्गीय तप्काका मानिसहरू बढी प्रताडित भएका छन् । उनले पर्यावरणीय मुद्दा पनि राजनीतिक सङ्घर्षको केन्द्रमा आउनुपर्ने भन्दै त्यसैमा जोड दिएका हुन् । गोरखाजस्तो हिमाली जिल्ला जलवायु परिवर्तनको उच्च जोखिममा रहेका कारण हरेक विकास निर्माणका काममा उच्च संवेदनशीलता अपनाउनुपर्नेमा उनको जोड छ । प्राकृतिक स्रोतको जग्गा गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै समृद्धिको आधार हो भन्ने आफ्नो ठम्याइ रहेको उनले बताए । वातावरणीय सङ्कटप्रति सचेत रहँदै भविष्यको पुस्ताका लागि पृथ्वीलाई सुरक्षित राख्नुपर्नेमा आफु दृढ रहेको उनले उल्लेख गरे । त्यसकारण आफुले गोरखाको विकासका लागि ‘हरित विकास’ को अवधारणा अघि सारिएको उनले स्पष्ट पारे । ‘गोरखाको भौगोलिक संवेदनशीलता र पर्यावरणको संरक्षण मेरो प्रमुख एजेन्डा हो’ उनले भने, ‘वातावरण र विकासबीच सन्तुलन मिलाउने हरित विकासको स्पष्ट खाकासहित अन्धाधुन्ध डोजरे विकासको विकल्पमा वैज्ञानिक भौतिक पूर्वाधार निर्माणको पहल गर्छु ।’
शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारमा जोड
न्यौपानेले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अधिकतम प्रयत्न गर्दै सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । उनले स्वरोजगार र उद्यमशीलता प्रवद्र्धन गर्न, स्थानीय स्रोत र सीपको उपयोग बढाउन, वैदेशिक निर्भरता घटाउँदै आन्तरिक अर्थतन्त्र सुदृढ गर्न मद्दत गर्ने भएकाले प्राविधिक र सीपमूलक शिक्षामा जोड दिइने उल्लेख गरेका छन् । यस्तो गर्दा शैक्षिक सुधार मात्रै नभई समग्र गोरखाको सामाजिक–आर्थिक रूपान्तरणको आधार पनि हुने भएकाले यसमा जोड दिइने बताइएको छ ।
युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न स्थानीय सम्भावनाको विस्तृत अध्ययन गर्ने पनि प्रतिबद्धता गरिएको छ । त्यसैरी गोरखा क्षेत्र नं. २ को उत्तरी भेगमा पर्यटन, मध्य भेगमा फलफूल तथा नगदे बाली र दक्षिणी भेगमा शैक्षिक केन्द्र बन्न सक्ने प्रचुर सम्भावनालाई नीतिगत र कार्यक्रमको रूपमा अगाडि बढाउने बताइएको छ ।
न्यौपानेले राजनीतिलाई व्यापार नभई विशुद्ध समाजसेवा बनाउने सङ्कल्प गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, बोली र व्यवहारमा एकरूपता हुने राजनीतिक संस्कृति निर्माणको अभियान सञ्चालन गर्ने, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउन डिजिटाइजेसन आधारभूत सर्त भएकाले त्यसअनुरूपको नीति कार्यक्रम निर्माणका लागि पहल गर्ने पनि बताइएको छ ।
उनले दलित, महिला, जनजाति, मुस्लिम एवम् पछाडि पारिएका वर्गको अधिकारका लागि लड्ने आधारभूत वर्गको साथीको रूपमा आफु रहेको भन्दै सबै प्रकारका शोषण, उत्पीडन र विभेदविरुद्ध उपलब्ध सबै मञ्चमा निरन्तर आवाज उठाउने पनि प्रतिबद्धता गरेका छन् । सीमान्तीकृत तथा अल्पसङ्ख्यक समुदायको सशक्तीकरणका लागि भुइँ तहदेखि नै कार्यक्रमहरू तर्जुमा गर्ने उनको अठोट छ ।

67 पटक हेरिएको 

