गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा आराजकता मचाउँदै चिनियाँ दूतावास

काठमाडाैं । गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा चिनियाँ दूतावासले आराजकता मचाउने गरी क्रियाकलाप गरिरहेकाे छ । भाेलि शुक्रबार २५६७ र्औं बुद्धजयन्ती दिवसकाे दिन कार्यक्रम गर्ने नाममा चिनियाँ दूतावासले आराजकता मचाउने गरी क्रियाकलाप गरिरहेकाे हाे ।

सरकारले बुद्धजयन्तीलाई भव्य रुपमा मनाउने तयारी गरिरहेकाे बेला चिनियाँ दूतावासले भने आमसभा शैलीमा कार्यक्रम गर्ने याेजनाका साथ तामझाम गरिरहेकाे छ ।

चिनियाँ दूतावासको तामझामले भने यतिबेला लुम्बिनी विकास कोष चिन्तामा परेकाे छ । चिनियाँ दूतावासले बुद्धजयन्ती दिवसका अवसरमा विश्व सम्पदा सूचीमा रहेको मायादेवी मन्दिर परिसरमै माइकहरु जोडेर आमसभा शैलीमा कार्यक्रम गर्ने याेजनाका साथ तामझाम गरिरहेकाे स्थानीयहरुले बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथी हुने उक्त कार्यक्रम चिनियाँ दूतावासले आयोजना गर्न लागेको हो । ध्यान केन्द्र मायादेवी मन्दिर परिसरमै आमसभाका शैलीमा कार्यक्रम गर्ने चिनियाँ दूतावासको तयारीको कतिपयले विराेध गरेका छन् ।

चिनियाँहरूले बौद्धधर्मालम्बीहरूको पवित्रस्थल मायादेवी मन्दिरकै परिसरमा फलामका भव्य संरचना बनाएर लुम्बिनीको सुन्दरतालाई कुरुप बनाएको छ ।

चीनले नेपालका विभिन्न स्थानका साथै धार्मिक संरचनाहरूमाथि अतिक्रमण गरिरहेकाे आरोप लागिरहेका बेला मायादेवी मन्दिरको परिसरमा फलामको संरचना बनाएपछि चिन्ताको विषय बनेको बाैद्ध धर्मका अगूवाहरु बताउँछन् ।

बौद्धधर्मालम्बीहरूले चिनियाँहरूले फलामका ठूला डण्डीहरू राखेर स्टेजका साथै विभिन्न संरचना बनाएपछि स्थानीयहरुले त्यसकाे विरोध गरिरहेका छन् ।

बुद्धभूमीमा शान्ति हुनुपर्नेमा बुद्धजयन्ती मनाउने नाममा मायादेवी मन्दिर परिसरमै कार्यक्रम हुनु उपयुक्त नहुने स्थानीयहरुको भनाइ छ । भगवान गौतम बुद्धले नुहाएको पोखरीमा पनि चिनियाँहरूले विभिन्न बस्तु राखेर कुरुप बनाएका छन्।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले विभिन्न कार्यक्रमको तयारी गरिरहेको छ । तर, हिन्दुहरूको समेत आस्था रहेको लुम्बिनीको मायादेवीको मन्दिर परिसरमा संरचना बनाएपछि विरोध भएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले चिनियाँहरूले मायादेवीको मन्दिर परिसरमा संरचना बनाएको पुष्टि गरे ।

बुद्धजयन्ती दिवसलाई भव्य रुपमा मनाउनु स्वभाविक भएपनि मायादेवी गार्डेनमा आमसभा शैलीमा कार्यक्रम हुनु उपयुक्त नहुने भन्दै कतिपय बौद्धमार्गीहरुले नै विरोध जनाएका छन् ।

उनीहरुले लुम्बिनीमा नेपाली र विभिन्न देशका बौद्धमार्गीहरु ध्यान गर्न आउने गरेका छन् । त्यस्तै सर्वसाधारणहरु पनि ध्यान गर्न लुम्बिनी पुग्ने गरेका छन् ।

विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी क्षेत्रभित्र ठूला ठूला कार्यक्रम गर्न नमिल्ने प्रावधान छ । संयुक्त राष्ट्र सङ्घिय निकाय युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखेको हो ।

विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी क्षेत्र, त्यसमा पनि मायादेवी मन्दिर परिसरमै ठूला ठूला माइक जोडेर कार्यक्रम गर्ने चिनियाँ दूतावासको कार्यलाई कतिपयले चिनियाँ दादागिरी भनेका छन् ।

विश्व सम्पदा सूचीमा रहेका स्थलको सुरक्षा, संरक्षण र त्यसको सम्वद्र्धन गर्नुपर्नेमा उल्टै विदेशी निकायले आमसभा शैलीमा शान्ति क्षेत्रमा कार्यक्रम आयोजना गर्नु कुटनीतिक मर्यादा विपरीत भएकोसमेत आरोप लगाएका छन् । उनीहरुले उक्त कार्यक्रमले बुद्ध भगवानकै अवमूल्यन भएकोसमेत दावी गरे ।

बुद्धजयन्तीका दिनमात्रै यस्ता कार्यक्रम गर्नुभन्दा अरु बेला बुद्धस्थलको संरक्षण र सम्वद्र्धनमा ध्यान दिन उचित हुने बौद्धमार्गीको सुझाव छ । उनीहरुले बुद्धभूमीलाई राजनीतिक कार्यक्रम गर्ने मैदानका रुपमा परिणत नगर्न पनि लुम्बिनी विकास कोषलाई आग्रह गरेका छन् ।

‘संसारभरका बौद्धमार्गीको आस्थाको केन्द्र रहेको पवित्रस्थल जहाँ बौद्धमार्गीहरु ध्यानमा हुन्छन्, त्यस्तो ठाउँमा विदेशी संस्थाले आमसभा गर्ने गरी कार्यक्रम गर्न राम्रो होइन,’ एक बौद्धमार्गीले भने, ‘सरकारले नै त्यहाँ कार्यक्रम गर्न नदिनुपर्ने हो ।’

ती बौद्धमार्गीका अनुसार चिनियाँ दूतावासकाे यस्ताे कार्यक्रमले लुम्बिनी गार्डेन वरपर ध्वानी प्रदुषण हुन्छ । उनले भने,’ध्वनी प्रदुषणले लुम्बिनी गार्डेनकाे संरचना पुरानाे भएकाेले क्षति पुग्छ।’

पछिल्लाे समय चीनले लुम्बिनीमाथि आफ्नो आँखा लगाएको छ । चीनले नेपालमा पर्यटक वा पर्यटन क्षेत्रमा सहयोग गर्नेभन्दा पनि नेपाली धार्मिक संरचनामाथि अतिक्रमण गरेर धार्मिक संहिष्णुता बिथोल्न खोजेको आरोप लागेको छ ।

चिनियाँहरू मात्रै होइन अनुशासनमा बसेर आफ्ना कार्यक्रम गर्न पाउँछन् । तर, मुख्य मन्दिर परिसरमा कुरुप संरचना बनाएर लुम्बिनीको आकर्षण विगार्ने अधिकार चिनियाँहरूलाई छैन । चिनियाँहरूलाई यो अनुमति दिनेहरूलाई कारबाही गर्न माग उठेको छ ।

चिनियाँ दूतावासले आयोजना गर्ने उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि हुनेछन् भने संघीय सरकारका मन्त्री र प्रदेश मुख्यमन्त्रीसहित मन्त्री, सांसद र कुटनीतिक नियोगका अधिकारीलाई पनि निम्तो दिइएको छ ।

त्यस्तै उक्त कार्यक्रममा सहभागी हुन चाइना रिलिजियस कल्चर कम्यूनिकेसन एशोसिएसनका महासचिव हान साङ काठमाडौं आइपुगेका छन् । उनी ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार