काठमाडौँ । वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ । वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो।
कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको टोलीले बिहीबार छापा मारेको हो । सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारका लागि भन्दै विज्ञापन गरिएको थियो । सोही आधारमा छापा मारेर तीन थान ल्यापटप, २० थान स्क्यानिङ पासपोर्ट, तीन थान डिमान्ड लेटर लगायतका कागजात जफत गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
उनीहरूको साथबाट सङ्कलन गरिएका २० थान पासपोर्ट समेत नियन्त्रणमा लिइएको हो । सामाजिक सञ्जालमा गैर कानुनी रूपमा विज्ञापन प्रकाशन गरी ठुलो रकम असुली ती देशमा नेपाली कामदार पठाउने गरेको भन्ने उजुरी समेत विभागमा परेको थियो । उक्त कन्सल्टेन्सीहरूले टिकटक तथा फेसबुकको प्रयोग गरी गैर कानुनी रूपमा सूचना दिने गरेको र त्यही आधारमा लाखौं रुपैयाँ लिने गरेको पाइएको विभागले जनाएको छ । कन्सल्टेन्सीले कम्तीमा ५० हजारदेखि एक लाख अग्रिम असुल गरेको समेत पाइएको छ ।
पछिल्लो समय कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीका घटना बढ्दो क्रममा छन् । सामाजिक सञ्जालको प्रयोग गरी उनीहरूले लाखौं रुपैयाँ असुल गर्दै श्रमिकहरूमाथि ठगी गर्ने गरेको देखिन्छ । विभागले त्यस्तो कार्य निरुत्साहित पार्नका लागि अनुगमनलाई तीव्रता दिने जनाएको छ । विभागले त्यसका लागि तीन वटा निर्देशकहरूको नेतृत्वमा अनुगमन समिति समेत गठन गरेको छ ।