नेपालकाे आन्तरिक राजनीतिमा बढ्याे चिनियाँ राजदूतकाे दाैडधुप

काठमाडाैं । पछिल्लाे समय नेपालकाे आन्तरिक राजनीतिमा चिनियाँ राजदूतकाे दाैडधुप बढेकाे छ ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको अन्तिम तयारी गरिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहित १४ जनाको टोली नेपाल आइपुग्यो ।

जेठ १७ गते भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ टोलीले बालुवाटारमै गएर भेट्यो । त्यही दिन चिनियाँ टोली माओवादीको हेडक्वाटर पेरिसडाँडामा गएर माओवादी केन्द्रका नेताहरूसँग भेट ग¥यो ।

साथै सबै भेटमा चिनियाँ राजदूत छन् सोङ्‌काे पनि सहभागिता रहेकाे थियाे । भारत जानुअघि यसरी चिनियाँ नेताहरूले प्रधानमन्त्री प्रचण्ड र अन्य नेताहरूलाई भेट्नु संयोग मात्र रहेको दाबी गर्छन् माओवादी केन्द्रका महासचिव देव गुरुङ ।

यसअघि पनि पार्टीका अध्यक्षको हैसियतमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि चिनियाँ टोली नेपाल आएर प्रधानमन्त्री प्रचण्डलाई भेटेको थियो ।

त्यस्तै जेठ ११ गते प्रधानमन्त्री प्रचण्डलाई भेटेका चिनियाँ राजदूत सोङले जेठ २६ गते सञ्चार मन्त्री रेखा शर्मालाई मन्त्रालयमा गएर भेटेका थिए । सो भेटमा चीनबाट आइटी क्षेत्रमा भइरहेको सहयोगका लागि मन्त्री शर्माले राजदूत सोङलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।

त्यसैगरी वैशाख २५ गते नेपालका लागि चिनियाँ राजदूत चेन सोङले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग मन्त्रालयमै गएर भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट चेनले उपराष्ट्रपति रामसहाय यादवलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए।

चैत ८ नेपालका लागि चिनियाँ राजदूत सोङले उद्योग मन्त्री रमेश रिजाललाई पनि भेटेका थिए । मन्त्री रिजालको निजी सचिवालयका अनुसार दुई देशबीचको सम्बन्धमा बारेमा कुराकानी हुनुका साथै उद्योग व्यापारमा एक अर्कालाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो ।

वैशाख १० गते कांग्रेस सङ्खुवासभाका सभापति एवम् सांसद दीपक खड्का नेतृत्वको टोलीले चीनसँग जोडिएको किमाथाङ्का नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई आग्रह गरेको दुई दिनपछि चिनियाँ राजदूत सोङले वैशाख १२ गते परराष्ट्रमन्त्री साउदलाई भेटेका थिए । त्यही दिन पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपालका लागि चिनियाँ राजदूत सोङलाई भेटेर पोखरा एयरपोर्टबाटै चीनका लागि उडान गर्न आग्रह गरेका थिए ।

त्यही दिन राजदूत सोङले अर्थमन्त्री प्रकाशशरण महतलाई पनि भेटेका थिए । उनले चैत ८ गते राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । राष्ट्रपतिमा नियुक्त भएपछि पौडेललाई बधाई दिन चिनियाँ राजदूतले भेटेको भनिएको छ ।

चैत १५ गते नेपाल–चीन सीमा वातावरणमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकमा रसुवागढी–केरुङ नाका दुईतर्फी आवतजावत गर्ने सहमति भयो । जबकि त्यो नाका सञ्चालनका लागि धेरै पहिलादेखि नेपालको प्रयास भइरहेको थियो ।

त्यसको भोलिपल्ट राजदूत चेनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भेटेका थिए भने त्यसको भोलिपल्ट परराष्ट्र सचिव भरतराज पौड्याललाई भेटेका थिए । चिनियाँ राजदूतसँगको भेटपछि मात्र सचिव पौड्याल चैत २१ गते चीन प्रस्थान गरेका थिए ।

उनी चीन भ्रमणमा किन गएका थिए भन्ने खुलाइएको छैन । चैत २३ गते चीनमा उनले बेइजिङस्थित विदेश मन्त्रालयमा जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री चिङ काङसँग भेट गरेका थिए ।

चैत २९ गते राजदूत चेनले चितवनको भरतपुर गएर त्यहाँका मेयर रेणु दाहाललाई भेटेका थिए । त्यही दिन उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग लुम्बिनी भ्रमणमा देखिएका थिए ।

लुम्बिनी गएकै मौकामा भेटेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत चेन सोङलाई आग्रह गरेका थिए ।

त्यसअघि फागुन २६ गते राजदूत चेनले नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेट गरेका थिए । त्यो भेटमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा राख्ने विषयमा छलफल भएको थियो ।

चैत २६ गते जहाज चार्टर्ड गरेर नेपाल आएको १८० जना चिनियाँ पर्यटकलाई त्रिभुवन विमानस्थलमा गएर उनले स्वागत गरेका थिए ।

त्यसअघि फागुन १५ गते भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति र त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओबीच भेटवार्ता भएको थियो ।

फागुन २ गते माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका थिए । फागुन ५ गते राजदूत चेनले स्वयम्भूमा रहेको आनन्दकुटी विश्वविद्यालयको भ्रमण गरेका थिए भने त्यसको भोलिपल्ट फागुन ६ गते पाटन दरबार स्क्वायरमा भएको फन रनमा सहभागी भएका थिए ।

त्यही दिन राजदूत चेनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा गएर भेटेका थिए भने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसलाई पनि त्यही दिन भेटेका थिए । उनले युनेस्को नेपालको प्रतिनिधि माइकल क्रफ्टलाई पनि भेटेका थिए ।

राजदूत चेनले माघ २ गते पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । त्यो भेटघाटपछि प्रचण्डले केपी ओलीसँग भेटेका थिए । त्यसपछि माघ ४ गते चिनियाँ राजदूत चेनले एमालेका अध्यक्ष केपी ओलीलाई बालकोटमा गएर भेटेका थिए ।

फागुन ११ गते चिनियाँ राजदूत चेन निर्माणाधीन चक्रपथको अवलोकन गर्न उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठका साथमा गएका थिए । त्यसअघि माघ १५ गते उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग राजदूत चेनले मन्त्रालयमै गएर भेटेका थिए ।

भारतीय राजदूत श्रीवास्तव पनि यस बीचमा कम सक्रिय रहेनन् । फागुन १८ गते उनले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका थिए।

फागुन २९ गते उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड’ (सीसीपीआईटी) का उपाध्यक्ष झाङ शाओगाङसँग भेटघाट गरेका थिए ।

फागुन २५ गते चिनियाँ राजदूत चेन र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच भेटघाट भएको थियो । त्यसअघि उनले माघ ४ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटेका थिए । माघ ५ गते चीनको नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावासले याक एण्ड यती होटलमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष तिमिल्सिना थिए ।

त्यही दिन नेपाल–चाइना चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सो भेटमा बाबुराम भट्टराईकी छोरी मानुषी यमी पनि थिइन्।

त्यसअघि माघ ६ गते राजदूत चेनले कांग्रेसका सभापति देउवा, तत्कालीन अर्थमन्त्री विष्णु पौडेल, तत्कालीन परराष्ट्रमन्त्री विमला पौडेल र परराष्ट्र सचिव भरतराज पौडेलसँग एकैदिन छुट्टाछुट्टै भेटेका थिए । त्यही दिन रेल अध्ययन गर्न आएका चिनियाँ टोली स्वदेश फर्केका थिए ।

माघ २६ गते प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेनले भेटेका थिए । त्यसअघि पुस ३ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि गरेको आह्वानका दिन कार्यवाहक राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका थिए । पुस १२ रेल्वे अध्ययनका लागि चिनियाँ टोली नेपाल आइपुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार