५ पुस, बुटवल । कानुनी अड्चनका कारण चार वर्षसम्म लुम्बिनीमा थन्किएका विद्युतीय बस दानपेटिकाको सहारामा परीक्षण सञ्चालन सुरु गरिएको छ ।
बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन सुरु गरिएको छ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिनसक्ने छन् । तर बसभाडा भनेर पैसा लिइने छैन ।
एसियाली विकास बैंक (एडीबी)को क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत अनुदानमा प्राप्त ५ वटा विद्युतीय बस र १४ वटा ट्याक्सी २०७७ मंसिर ९ गते लुम्बिनी ल्याइएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ साल जेठ १२ गते लुम्बिनी विकास कोषलाई ती विद्युतीय सवारी हस्तान्तरण गरेको थियो ।
मन्त्रालयले सेतो नम्बर प्लेटमा ती गाडी हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी उल्झनका कारण सञ्चालन हुन सकेनन् । साथै सञ्चालनको मोडालिटी पनि तयार गरिएको थिएन ।
त्यसैले चार वर्षसम्म ती विद्युतीय सवारी खुल्ला आकाशमुनि थन्किएका थिए । दाताले दिएका सवारी साधन पर्यटक सुविधाका लागि सञ्चालन नगरेको भन्दै आलोचना भएपछि कोषले विहीबारदेखि परीक्षण स्वरुप पाँच बसमध्ये दुई वटामा दानपेटिका राखेर सञ्चालन शुरु गरेको हो ।
परीक्षण सञ्चालनको क्रममा सांसद, लुम्बिनी क्षेत्र विकास कोषका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, पर्यटन व्यवसायी लगायतले दानपेटिकामा पैसा जम्मा गरेर लुम्बिनी परिक्रमा गरेका थिए ।
लुम्बिनी र यससँग सम्बन्धित बौद्ध क्षेत्रका पर्यटकीय सुविधाका लागि ल्याइएका पाँचवटा १९ सिट क्षमताका बस र १४ वटा पाँच सिट क्षमताका भ्यान अत्याधुनिक सुविधासहितका स्वचालित ढोका भएका र अपाङ्गतामैत्री छन् ।
यी सवारी नेपाल भित्राउँदा साढे तीन करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व सरकारले व्यहोरेको थियो । साथै दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बस, भ्यान, चार्जिङ स्टेशन, सोलार प्लाण्ट र सोलार चार्जिङ स्टेशन निर्माणका लागि झन्डै २८ करोड खर्च गरिएको थियो ।
बस अब दिगो रुपमा सञ्चालन हुने दाबी
बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य सांसद बासुदेव घिमिरेले कानुनी उल्झनका कारण सञ्चालनमा नआएको विद्युतीय बस अब दिगो रुपमा सञ्चालन हुने बताए । सांसद घिमिरेले लुम्बिनी आउन चाहने तीर्थयात्रीहरुलाई लुम्बिनीमा ल्याउँदा त्यसले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए ।
यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अहिले परीक्षण स्वरुप दानपेटिका राखेर २ वटा बस सञ्चालन गरिएको बताए । उपाध्यक्ष डा. लामाले सेतो नम्बर प्लेटलाई हरियो बनाउन आफूहरुले पटकपटक पहल गर्दा पनि नभएको बताउँदै अहिले संघीय मन्त्री, मुख्यमन्त्री र सांसदहरुले समेत सञ्चालनका लागि निर्देशन गरेपछि यात्रुसँग पैसा नलिने गरी दानपेटिकाको विधि मार्फत सञ्चालन थालिएको बताए । उनले कानुनी अड्चनका कारण सञ्चालन गर्न नसकेको बताउँदै कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनको ध्यानार्कषण गराए ।
पूर्वमन्त्री एवं लुम्बिनी क्षेत्रका प्रदेश सांसद चन्द्रकेश गुप्ताले विद्युतीय बस सञ्चालनमा नआउँदा विकास कोष र यहाँका जनप्रतिनिधिले चौतर्फी आलोचना खेप्नुपरेको गुनासो गरे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनका तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले बसको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्ने बताए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले हरियो नम्बर प्लेटमा रुपान्तरण गर्न नसक्दा बस सञ्चालन गर्न नसकेको बताउँदै दिगो सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
सिद्धार्थ होटल एसोसिएशनका अध्यक्ष चन्द्रप्रकाश (सीपी) श्रेष्ठ र लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटकलाई सुविधा दिन र पर्यटन प्रवर्द्धका लागि ल्याइएका पाँच वटै बस र ट्याक्सी सञ्चालन हुनुपर्नेमा जोड दिए ।
विद्युतीय बस र भ्यान सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराईको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएर कार्यविधि नै तयार भएको थियो ।
सरकारी नम्बर प्लेट हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले २०८१ जेठ ६ गतेको मन्त्रिपरिषदले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरेपनि कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकेको कोषाध्यक्ष भट्टराईले बताए ।
यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कार्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रुपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो । बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले निःशुल्क धम्म यात्रा अन्तर्गत विद्युतीय बसको निःशुल्क सेवा लिएका थिए ।