बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धन हो : राज्यमन्त्री सिर्पाली

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्मले नेपाल र भारतलाई सदियौंदेखि जोड्ने काम गरेको बताएकी छन् ।

उनले बौद्ध धर्मको इतिहास उल्लेख गर्दै दुई देशबीच बलियो कसीका रुपमा बौद्ध धर्म रहेको बताएकी हुन् ।

‘आषाढ पूर्णिमा’ को अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री सिर्पालीले उक्त कुरा उल्लेख गरेकी हुन् ।

उनले भनिन्, बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउदै लैजाने मेरो विश्वास छ ।

कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरुको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेदको पनि उपस्थिति थियो ।

कार्यक्रममा दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिनुभएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताए ।

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिनुभएको पहिलो उपदेशलाई आषाढ पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ । यसलाई धर्म चक्रको पहिलो फन्कोको रुपमा चिनिन्छ । सो उपदेशमा भगवान बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताउनुभएको थियो ।

कार्यक्रममा महायाना संघ र थेरावडा संघले भगवान बुद्धको प्रार्थना गरेका थिए भने तत्पश्चात चार बौद्ध सूत्रको प्रार्थना गरिएको थियो । अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेदले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्नुका साथै सो कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा लुम्बिनी गुम्बाक्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाको अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र नेपालका पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त रुपमा सो केन्द्रको शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार