भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित बुढानीलकण्ठमा बनेको धर्मशाला उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथिगृह) को उद्घाटन गरेका हुन् ।

बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरू गगनकुमार थापा र प्रदीप पौडेल, भारतीय राजदूतावासका पदाधिकारीहरू, काठमाडौंका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवलगायतको उपस्थिति थियो ।

भारत सरकारको करिब ५ करोड रुपैयाँ अनुदानमा निर्माण भएको उक्त धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिने बताइएको छ ।
यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिविम्बित गरेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पप छिको पुनर्निर्माणमा भारत सरकारले पुर्‍याएको सहयोगको सराहनासमेत गरेका थिए ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

नेपालको पवित्र साँस्कृतिक एवम् धार्मिक स्थलहरुमध्येकै एक मानिने बुढानीलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ ।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार