उत्तरी नाकामा धमाधम व्यापारिक पूर्वाधार बनाउँदै चीन

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनले आफूसँग सीमा जोडिएका नेपाली भूभागमा धमाधम व्यापारिक पूर्वाधार बनाउने क्रमलाई तीव्रता दिएको छ । चीनले ४ अर्ब रुपैयाँ सहयोगमा सिन्धुपाल्चोकको तातोपानीपछि ३ अर्बको लागत सहयोगमा रसुवाको टिमुरेमा समेत सुख्खा बन्दरगाह निर्माण गरिरहेको छ ।

चीनले तातोपानी सुख्खा बन्दरगाह, मितेरी पुल र ६ किलोमिटर सडक निर्माणका लागि ४ अर्बभन्दा बढी रकम खर्च गरेको थियो । तातोपानी सुख्खा बन्दरगाह निर्माण सम्पन्न भएर हाल सञ्चालनमा छ ।

यता रसुवाको टिमुरेमा ३ अर्बको लागतमा निर्माणाधीन अवस्थामा रहेको सुख्खा बन्दरगाहको कामसमेत ४५ प्रतिशत सम्पन्न भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले सन् २०२५ भित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ पक्षले काम गरिरहेको बताए । हाल रसुवाको सुख्खा बन्दरगाह बनाउन १०० जना चिनियाँले काम गरिरहेका छन् ।

यी दुईबाहेक चीनले माथिल्लो मुस्ताङमा समेत कोरला सुख्खा बन्दरगाह निर्माणमा चासो देखाइरहेको छ । हाल कोरला सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । यो सुख्खा बन्दरगाह निर्माणमा समेत चीनको सहयोग हुने सक्ने अनुमान उच्च सरकारी संयन्त्रको छ ।

रसुवाको टिमुरेमा बनिरहेको सुख्खा बन्दरगाहको कामले कोरोला महामारी मत्थर भएसँगै गति लिन थालेको छ । सन् २०१९ देखि निर्माण सुरु भएको सुख्खा बन्दरगाह निर्माणको काम यतिबेला ४५ प्रतिशत सम्पन्न भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । त्यसो त सुरुमा निर्माण सुरु भएको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो । तर, २० नोभेम्बर २०१९ बाट सुरु भएको काम महामारीका कारण प्रभावित बनेको थियो । महामारीले सुस्त बनेको निर्माण कार्य यतिबेला तीव्रताका साथ अघि बढिरहेको छ ।

सुरुमा १ अर्ब ८० करोड अधिकतम लागतमा निर्माण हुने आकलन गरिएको थियो । तर, महामारीका कारण समयावधि लम्बिँदा आयोजनाको लागत बढेर ३ अर्ब हाराहारी पुगेको छ । टिमुरेको ८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाहमा ३५० वटा मालवाहक कन्टेनर अटाउने छन् । यस्तै, दुई वटा जाँच पास स्थल हुनेछन् भने पाँच तले भवन र एउटा गोदामसमेत हुनेछ ।

यस्तै, सोही बन्दरगाहबाट भन्सार, सशस्त्र प्रहरी, अध्यागमन लगायतले एकीकृत सेवा उपलब्ध गराउनेछन् । हाल चिनियाँ पक्षले भोटेकोसी नदीपट्टीबाट आउने पानीको बहावबाट सुख्खा बन्दरगाहलाई बचाउन ठुलो पर्खाल बनाइरहेको छ । यो पर्खालको निर्माण सकिएपछि आयोजनाले थप गति लिने समितिको भनाइ छ ।

हाल उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापारका लागि नेपालसँग तातोपानी सुख्खा बन्दरगाह र रसुवा गरी २ वटा स्थलमार्ग छन् । २०७२ सालको भूकम्पपछि विभिन्न बहानामा तातोपानी नाका करिब–करिब ठप्प जस्तै छ । यद्यपि, पछिल्लो समय धेरथोर सामान आयात/निर्यात हुन थालेको छ । पुरानो व्यापारिक नाकाको रूपमा पहिचान बनाएको तातोपानी सुस्ताएसँगै रसुवागढी भरपर्दो नाका बन्ने स्थिति देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार