सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरुको पारिवारिक सम्बन्ध

काठमाडौं । आइतबार काठमाडौंबाट एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग माओवादी नेताहरुको निकट सम्बन्ध दर्शाउने कतिपय तस्विर सार्वजनिक भएपछि राजनीतिक वृत्त तरंगित बन्न पुग्यो।

माओवादी नेताहरुको सुन काण्डमा शंकास्पद भूमिका रहेको चर्चा चलिरहेको बेला सुन तस्करी प्रकरणका अभियुक्तसँगको सार्वजनिक तस्विरले थप संशय उत्पन्न गराएको छ।

सुन काण्डमा पक्राउ परेका चिनियाँ मूलका बेल्जीयन नागरिकसँग रोल्पा थवाङ गाउँपालिका ७ मरन्ठानाकी अमला रोकाको वैवाहिक सम्बन्ध रहको खुलेपछि माओवादी नेताहरुसँगको सम्बन्ध थप रहस्यमयी बनेको छ।

अमला रोकाको विहेका कारण दावा छिरिङसँग माओवादी उपमहासचिव वर्षमान पुन दम्पत्तिसँग निकटता बढेको बताइएपनि उनको विवाह माओवादी नेताहरुकै योजनामा भएको बुझिएको छ।

माओवादी नेता वर्षमान पुन दम्पत्तिसँग निकट सम्बन्धमा रहेकी रोकाको अर्का माओवादी नेता तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत पारिवारिक सम्बन्ध रहेको देखिएको छ।

उनले हरेक चाडपर्व पूर्वउपराष्ट्रपति पुन र माओवादी नेता वर्षमानको परिवारसँग विगतदेखि हालसम्मै मनाउँदै आएको र नितान्त पारिवारिक सम्बन्ध रहेको स्रोत बताउँछ।

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनले नै रोकामार्फत उनका श्रीमान सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग अन्य माओवादी नेताहरुको सम्बन्ध जोडिदिएको स्रोतले बतायो।

पक्राउ परेका चिनियाँ नागरिकसँग उनको विहेको तारतम्य समेत यीनै माओवादी नेताहरुले मिलाएको बताइन्छ। यद्यपि उनको विहेलाई कतिपयले नाटकीय प्रपञ्च भएको समेत बताउँछन्। उनको विहेको हालसम्मै आधिकारिकता पुष्टि हुने कुनै आधार नभएको स्रोतको दाबी छ।

अवैध कारोबारको साझेदारीका लागि माओवादी नेताहरुसँगको सम्बन्ध बनाउन र विदेशी लगानी नेपालमा आफ्नो नाममा गर्न विहेको नाटक गरिएको स्रोत बताउँछ।

पुन दम्पत्तिकै कारणले विवादित चिनियाँ नागरिकसँग विहे गरेकीले रोकाले यस अघि जडिबुटी ब्यापार गर्ने गर्दथिन्। उनको पहिलो विहे थवाङकै एक स्थानीयसँग भएको थियो।

उनका श्रीमानको रोल्पामा युवाहरुको आपसी झडपमा निधन भएको रोल्पाका माओवादी नेताहरु बताउँछन्। माओवादी निकट रोल्पा काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्ष समेत रहेकी रोकाको पहिलेको श्रीमानबाट एक छोरीसमेत छिन्।

यता माओवादी नेताहरुले सहिद परिवारको भन्दै आफ्नो बचाउमा उत्रिएका छन्। रोल्पाका माओवादी नेताहरुले उनको श्रीमान माओवादी युद्धमा निधन नभएर उद्दण्ड युवाहरुको दोहोरो झडपमा निधन भएको भन्दै सहिद परिवार भनिएकोमा आश्चर्य प्रकट गर्दछन्।

नाम उल्लेख नगर्ने शर्तमा रोल्पाका एक माओवादी नेताले भने, ‘हामीले कहिल्यै उनको श्रीमान जनयुद्धमा सामेल भएको थाहा छैन। उनको युवाहरुको आपसी झडपमा निधन भएको हो। अहिले सहिद परिवारको सूचीमा राखिएको भए जानकारी भएन।’

तर, माओवादी उपमहासचिव समेत रहेका प्रभावशाली नेता पुनले सहिद परिवारको सदस्यको हैसियतले भेटघाट गरेको बताउँदै आफूमाथि लागेको आक्षेपको प्रतिवाद गरिरहेका छन्।

माओवादीका नेता पुन दम्पत्तिसँग उनको निकै लामो समय देखि पारिवारिक सम्बन्ध रहेको र यसको सम्पूर्ण योजनाकार पूर्वउपराष्टूपति पुत्र दिपेश पुन रहेको स्रोत बताउँछ ।

माओवादीका नेता वर्षमान पुनले सहिद परिवारको हवाला दिँदै आफ्नो प्रतिरक्षा गरिरहेका छन्। उनले सहिद परिवारकी रोकाको वैवाहिक सम्बन्धको कारणले आठ वर्ष अघि भेटघाट भएको बताएका छन्।

उनले सहिद परिवारकी रोकाले हालै पक्राउ परेका चिनियाँ मूलका नागरिकसँग विहे गरेकाले सोही सम्बन्धको आधारमा भेटघाट गरेको स्पष्टिकरण दिएका छन्।

सामाजिक सञ्जाल लगायत यत्रतत्र सुन तस्करी प्रकरणका चिनियाँ नागरिकसँगको सम्बन्ध बारे चर्चा चुलिएसँगै नेता पुनले आठ वर्ष अघि पारिवारिक कारणले भेटवार्ता भएको बताइरहेका छन्।

उनले अरु थप सम्बन्धबारे खुलासा गर्न नसक्ने गरी विलखबन्दमा परेका छन्। आफू र श्रीमती पूर्वसभामुख ओनसरी घर्तीको विगतदेखिकै सम्बन्धको बारेमा पुनले अनविज्ञता प्रकट गरेपनि उनको चिनियाँ नागरिक र रोल्पाकी रोकाबीचको निकटता निकै लामो समयदेखि निरन्तर रहेको स्रोतले जनाएको छ।

उनको लामो समयदेखिको सम्बन्धको खुलासा भएसँगै यस प्रकरणमा माओवादी नेताहरुको भूमिका थप शंकास्पद देखिएको छ।

सुन तस्करी प्रकरणका मुख्य योजनाकारसँग रोल्पाकी चेलीको विहे गराउन मुख्य भूमिका खेलेका माओवादीका नेताले नै आफ्नो बचाउमा आठ वर्ष अघिको तस्विर भन्दै पन्छिन खोजेको निकटस्थ स्रोत बताउँछ।

सदैब सम्पर्क र पारिवारिक सम्बन्धमै रहेका पुन दम्पत्तिको तस्करसँगको पारिवारिक सम्बन्ध र भूमिकाले यस प्रकरणमा माओवादी नेताहरुको संलग्नताबारे बाहिरिएको चर्चालाई थप मलजल पुर्याएको छ।

आइतबार पक्राउ परेको ठमेलको भियना होटेल पत्नीको रुपमा चर्चामा रहेकी रोकाको नाममा रहेको पाइएको छ। तर उक्त होटलमा लगानी सुन तस्करीको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङकै लगानीमा रहेको बताइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार