सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो ।

दुवै चिनियाँ नागरिक हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको बताइएको छ । यही प्रकरणमा यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक अर्का चिनियाँ नागरिक पक्राउ परेका थिए । यही प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालो सूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ ।

क्विन्टल सुन तस्करी प्रकरणमा संगठित अपराधका दफा लगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । सुरुमा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेर अघि बढाएको अनुसन्धानको जिम्मा बीचमै सीआईबीलाई दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार