चिनियाँ अपराधको सञ्जालले नेपालमा बढ्दै सुरक्षा चुनौती

काठमाडौं । नेपालमा चिनियाँ नागरिकको अपराधको सञ्जाल बढ्दै जाँदा यसले सुरक्षामा गम्भीर चुनौती थपिएको पाइएको छ । सुरक्षा निकायलेसमेत यसलाई गम्भीर प्रकृतिको समस्या सिर्जना भएको भन्दै आन्तरिक संरचना बलियो बनाउन लागिपरेको बताएको छ ।

विभिन्न किसिमका अपराधमा चिनियाँको सक्रियता बढेको देखिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायत स्वीकार्छन् । चिनियाँको अपराध बढेसँगै चिनियाँ नागरिकमाथि निगरानी बढाइएको उनको भनाइ रहेको छ ।

प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी चिनियाँ पक्राउ परेका छन् । गत आर्थिक वर्षमा नेपालमा ४२ चिनियाँ पक्राउ परेका थिए । यो संख्या विगतका तुलनामा निकै बढी हो । आर्थिक वर्ष ०७८–७९ मा १३ तथा ०७७–७८ मा १६ चिनियाँ नेपालमा पक्राउ परेका थिए ।

पछिल्लो समय अवैध सुन प्रकरणमा जब चिनियाँहरुको सहभागीता रहेको बाहिरिएको छ तब सुरक्षा निकाय थप सक्रिय भएको छ । प्रहरीको उच्च स्रोतका अनुसार चीनबाट आउने अवैध सुन नेपालमा आपराधिक गतिविधि बढाउन थोरैमात्र लगानी हुने गरेको र अधिकांश सुन भारत जाने गरेको छ ।

उक्त सुन भारतको अवैध बजारमै परिचालन भएकोसमेत दाबी गरिएको छ । भारतलाई अस्थिर बनाउन पनि यो अवैध सुन गलत कामका लागि प्रयोग भइरहेको बताइन्छ ।

नेपालका धेरैजसो अपराधमा चिनियाँकै बढी संलग्नता भएकोसमेत दाबी गरिएको छ । अझ त्यसमा पनि प्रविधिको प्रयोग गरेर हुने आपराधिक गतिविधिमा बढी सक्रिय छन् । अनलाइन ठगीदेखि विदेशी मुद्राको अवैध कारोबार, कल बाइपास, साइबर अपराध, सुन तस्करी, मानव तस्करीलगायत अपराधमा चिनियाँ नागरिकको संगठित सञ्जाल निरन्तर बढेको पाइएको हो ।

एटीएम तस्करीसहीत लुटपाटमा संलग्न ठूलै गिरोह यसअघि पक्राउ परेको थियो ।

अहिले अवैध सय किलो सुन तस्करीमा चिनियाँको संलग्नता धेरै नै रहेकोसमेत प्रहरीको दाबी छ । त्यसो त राजस्व अनुसन्धान विभागले पनि अवैध सुन प्रकरणमा चिनियाँ संलग्नता देखिएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनअनुसार सुन तस्करीमा संलग्न चिनियाँ गिरोह महिनौँदेखि काठमाडौँमा रहेर गतिविधि चलाइरहेको थियो । यही गिरोहले नै सुन लुकाउने, गाल्ने र पुनः प्याक गरी बाँडफाँट गर्नेसम्मका काम गरेकोसमेत दाबी गरिएको छ ।

यो गिरोह लामो समयदेखि सक्रिय भएको बताइए पनि यति समयदेखि सक्रिय छ भन्ने खुलिसकेको छैन । तर अवैध सुनको कारोबार भने राजा वीरेन्द्रकै पालादेखि हुँदै आएको बताइन्छ । यसले सुरक्षा चुनौती भने बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार