श्रमिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई CSTU अध्यक्ष अर्जुन लम्सालको चेतावनी

काठमाडौं — १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा समाजवादी ट्रेड युनियन महासङ्घ (CSTU) का अध्यक्ष अर्जुन लम्सालले श्रमिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन्।

श्रमिक दिवसका अवसरमा जारी शुभकामना तथा वक्तव्यमा अध्यक्ष लम्सालले देश–विदेशमा कार्यरत सम्पूर्ण श्रमिकप्रति शुभकामना व्यक्त गर्दै यो दिवस केवल औपचारिकतामा सीमित नभई श्रमिक वर्गले अधिकारका लागि गरेको ऐतिहासिक संघर्षको स्मरण गर्ने दिन भएको उल्लेख गरेका छन्।

उनले नेपालको आर्थिक विकास, उत्पादन प्रणाली तथा सामाजिक संरचनाको मुख्य आधार नै श्रमिक वर्ग भएको उल्लेख गर्दै श्रमिकहरूको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए। सरकारद्वारा सार्वजनिक गरिएको १०० दिने कार्ययोजनाप्रति असन्तुष्टि व्यक्त गर्दै लम्सालले ट्रेड युनियन अधिकार र श्रमिक स्वतन्त्रतामाथि अंकुश लगाउने संकेत देखिएको आरोप लगाए। “संगठन स्वतन्त्रता, सामूहिक सौदाबाजीको अधिकार र श्रम सुरक्षाजस्ता विषयहरूमा देखिएका प्रवृत्तिहरू चिन्ताजनक छन्,” उनले भने। उनका अनुसार यस्ता कदमहरूले श्रमिक आन्दोलनको ऐतिहासिक उपलब्धिमाथि नै चुनौती सिर्जना गर्नेछन् र यसले सामाजिक असन्तुलन तथा असन्तोष बढाउने खतरा रहनेछ। अध्यक्ष लम्सालले श्रमिक अधिकार कुनै पनि हालतमा सम्झौताको विषय नभएको स्पष्ट पार्दै यसलाई संकुचित गर्ने प्रयास भए सशक्त प्रतिरोध हुने चेतावनी दिए। उनले सरकारलाई श्रमिक अधिकारमाथि देखिएका हस्तक्षेपकारी प्रवृत्तिहरू तत्काल सच्याउन, ट्रेड युनियनहरूको स्वतन्त्रता सुनिश्चित गर्न र श्रममैत्री नीतिहरू प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका छन्। साथै, उनले श्रमिक समुदायलाई आफ्नो अधिकारको संरक्षण र प्रवर्द्धनका लागि थप संगठित र सचेत बन्न आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार