भारतकाे झण्डै सात करोड सहयाेगमा निर्माण भएकाे विद्यालय भवनकाे उद्घाटन

काठमाडौं । शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ ।

भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा विद्यालयको नवनिर्मित भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष श्री घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री इन्द्र बहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुईटेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थानका प्रतिनिधि लगायत अन्यको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरुप करिब रु ६.९ करोड लागतमा यस विद्यालय भवनको निर्माण गरिएको हो ।

यस नवनिर्मित संरचनामा दुइवटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन् । यो बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५०० जना भन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै प्रभावकारी सिकाइ वातावरण प्रदान गर्ने विश्वास लिइएको छ ।

यो विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलर अन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो । यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने काठमाडाैं स्थित रहेकाे भारतीय राजदूतावासले जनाएकाे छ ।

यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्याएको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार