काठमाडौं । सन् २०१६ जुनमा सांघाई विमानस्थलमा हजारौँ समर्थक चर्चित फुटबलरमध्येका एकलाई घरेलु सहरमा स्वागत गर्न उपस्थित थिए ।
२९ वर्षीय हल्क – जो उच्च शारीरिक शक्तिका निम्ति प्रसिद्ध थिए, उनलाई सांघाई एसआईपीजीका व्यवस्थापक स्भेन–गोरान एरिकसनले अनुबन्ध गरेका थिए । ४६ मिलियन पाउन्डभन्दा बढीमा अनुबन्धित हल्कलाई प्रतिहप्ता तीन लाख २० हजार पाउन्ड पारिश्रमिक दिइएको रिपोर्ट छ ।
खेल करियरकै महत्त्वपूर्ण निर्णयसहित चीन पुगेका हल्कको स्वागतमा विमानस्थलभर फूलका गुच्छा उनीमाथि फालिएको थियो । सांघाई एसआईपीजीको स्कार्फ उनको नाकसम्म आइपुगेको थियो ।
त्यसको तीन वर्षपछिसम्म हल्कसँगै अरू चर्चित नाम उच्च मूल्यसहित चिनियाँ घरेलु फुटबलमा भित्रिए । हल्क आगमनको ६ महिनापछि चेल्सीका स्टार ओस्कार पनि ६० मिलियन युरोमा चिनियाँ फुटबलमा आबद्ध भए । ओस्कार प्रतिसाता चार लाख युरो पारिश्रमिकसहित चीन पुगेको अनुमान थियो ।
यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबाट प्रिमियर लिगको उपाधि जितेका खेलाडी चिनियाँ फुटबलमा भित्रँदा यी दुईले भन्दा धेरै पारिश्रमिक पाएको खुलेको थियो । पेरिस सेन्ट जर्मन (पीएसजी)का इजेक्वेइल लाभेजी, लिभरपुलका एलेक्स टेइजेरा र कोलम्बियाका फरवार्ड ज्याक्सन मार्टिनेज पनि पारिश्रमिकको बम्पर चेकसहित चिनियाँ फुटबलमा भित्रिए ।
राष्ट्रपति सी चिनफिङले चीनलाई फुटबल राष्ट्रका रूपमा चिनाउने इच्छा व्यक्त गरेपछि चिनियाँ सुपर लिगको चर्चा ह्वात्तै बढेको थियो । सन् २०११ मा सीले चीनलाई विश्वकपमा छनोट गराउने र विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरेका थिए । त्यसपछि चिनियाँ फुटबल उकालो चढ्न सुरु गर्यो ।
सुपर लिगमा ठूलो मात्रामा पैसा खर्च गर्न थालेपछि चीन फुटबलको ‘सुपर पावर’ बन्ने लक्ष्यउन्मुख देखिन्थ्यो । “चेल्सीका लागि मात्र नभई विश्वको सबै टिमका निम्ति चिनियाँ बजार खतरा बनेको छ,” ओस्कार चिनियाँ फुटबलमा गएपछि त्यस बेला चेल्सीका मुख्य प्रशिक्षक रहेका एन्टोनियो कोन्टेले भनेका थिए ।
“चीनसँग पूरा युरोपियन लिग नै चीनमा लैजान सक्ने आर्थिक क्षमता देखिएको छ,” आर्सनलका तत्कालीन प्रशिक्षक आर्सेन वेंगरले भनेका थिए ।
त्यसको एक दशकपछि चिनियाँ फुटबल ठिक उल्टो पथमा छ । सुपर लिगले साख गुमाउँदा खेलाडीहरूले एकपछि अर्को गर्दै चिनियाँ फुटबल छोडिरहेका छन् ।
ज्याक सिली चिनियाँ फुटबलमा पुग्नेमध्ये ठूला नाम थिएनन् । क्यूपीआरका पूर्वस्ट्राइकर टोनी सिलीका छोरा ज्याकले सन् २०१५ मा सीएसलीको चाङचुन यताईसँग सम्झौता गरेका थिए ।
त्यस बेला २८ वर्षीय ज्याक हङकङमा खेल्थे र सुपर लिगका ठूला नामहरूबीच आबद्ध भए । उनका निम्ति सुपर लिग उपल्लोस्तरको फुटबल र पारिश्रमिक पनि उच्च थियो ।
“त्यहाँको फुटबल विकास हुने क्रममै रहँदा म त्यहाँ पुगेको थिएँ । यसैकारण फुटबल विकासकै क्रममा त्यहाँ हुनु मेरो लागि उत्साहित कुरा थियो,” उनले भने, “म त्यहाँ जाँदै छु भन्नेबारे मानिसले सुने पनि प्रायःलाई जानकारी थिएन । केही समयपछि फुटबल बुझेकालाई बताउँदा उनीहरू अचम्मित हुँदै ‘ओहो, तिमी सुपर लिगमा जाँदै छौँ !’ भनेर आफ्नो उत्साह पोख्थे ।”
ज्याकले थपे, “चिनियाँ फुटबलमा गएकामा ममा कुनै गुनासो छैन । यो निकै उत्कृष्ट थियो ।”
ज्याकका निम्ति यो उत्कृष्ट थियो नै, नौलो अनुभव पनि । “मैदानमा उनीहरू को हुन् भन्ने पूर्ण रूपमा बिर्सिएर खेलिन्थ्यो । मैले आफ्नो पाइला बढाउँदा उनीहरूले घटाए । उनीहरू जे भए पनि खेल्दा एकसमान भएको अनुभव हुन्थ्यो र आफ्नो उत्कृष्ट दिने प्रयास हुन्थ्यो । तर, यो अनुभव केही नौलो पनि थियो,” उनले भने, “ओस्कार – जसलाई मैले चेल्सीमा खेल्दा पछ्याएको थिएँ । फिफा खेल्दा सबै खेलाडी चिनिएको हुन्थ्यो । यो अनुभव निकै उत्कृष्ट थियो ।”
२०१९ सम्म सुपर लिग निकै ठूलो भयो । रियाल मड्रिडका ग्यारेथ बेल – जो एक समयका विश्वकै सबैभन्दा महँगो खेलाडी थिए, उनलाई जियान्सु सनिङले प्रतिसाता एक मिलियन पाउन्ड दिने सहमतिसहित तीनवर्षे सम्झौतामा भित्र्याउने चर्को चर्चा चलेको थियो ।
त्यसको दुई वर्षपछि नै जियान्सु सनिङ खराब आर्थिक स्थितिका कारण बन्द भयो । नाजुक आर्थिक अवस्थाका कारण क्लबले टिमको बस समेत लिलामीमा राखेको थियो ।
सुपर लिग कसरी लाग्यो ओरालो ?
चीनको फुटबल संघ (सीएफए) – जसले पहिले नै ठूलो पैसा स्थानान्तरणलाई निषेधित रूपमा महँगो बनाउने र प्रायोजकलाई आफ्नै नाममा टिमको नामकरण गर्न प्रतिबन्धित गर्ने ‘लक्जरी कर’ लागु गरेको थियो । २०२० डिसेम्बरमा तलब नियमनको घोषणापछि चिनियाँ फुटबल ओरालो लाग्न सुरु गर्यो ।
त्यस समयमा सीएफएले यो कदमले ‘पैसाको फुटबलमा अंकुश लगाउने’ र चिनियाँ राष्ट्रिय टिममा ‘लगानी’ प्रदान गर्ने आशा गरेको थियो ।
केही समयका निम्ति चीनको खेलकुद प्रशासन पनि लिगमा गरिएको खर्चप्रति सावधान थियो । २०१७ मा प्रशासनले खर्चमाथि अंकुश लगाउने र ‘अनावश्यक लगानी’लाई नियन्त्रण गर्ने निर्णय गर्यो । प्रशासनले त्यस बेला क्लबहरूले ‘पैसा उडाइरहेको’ र विदेशी खेलाडीलाई ‘अतिउच्च पारिश्रमिक’ दिएको आरोप लगाएको थियो ।
पारिश्रमिकमा अंकुश लगाउने नीतिको प्रभाव प्रशासनले चाहेजस्तै थियो । नियमनको अर्थ विदेशी खेलाडीले प्रतिसाता ५२ हजार पाउन्डभन्दा धेरै पारिश्रमिक पाउँदैन थिए । त्यो सुरुआतमा खेलाडीलाई दिइएको पारिश्रमिकभन्दा निकै कम थियो ।
केही टिमलाई उनीहरूको ठूलो खर्चबाट थुप्रिएको ऋणका कारण यो प्रतिबन्ध आवश्यक पनि थियो । चीनको रियल स्टेट व्यापारमा केही घर बनाउने ठूला कम्पनी ‘क्यास फ्लो’को समस्याबाट गुज्रँदा सुपर लिगका धेरै क्लबको समस्या बढेको थियो ।
यसबाहेक सबैभन्दा प्रमुख कोरोना महामारीले सुपर लिगलाई पतनमै पुर्यायो । कोरोनाविरुद्ध चीनको कडा रणनीतिका कारण सुपर लिगका खेल संख्या घट्यो । दुई वर्षसम्म सबै खेल बन्द रंगशालामा शून्य दर्शकमाझ सञ्चालन गरियो । यसले ब्रोडकास्ट र प्रायोजनबाट आउने आम्दानी डुब्दै गयो ।
बोस्निया–हर्जगोभिनाका रक्षक समिर मेमिसेभिच २०२० को फेब्रुअरीदेखि हेबेई एफसीबाट खेले । क्लबमा उनको दोस्रो सिजनले नै चिनियाँ फुटबलको पर्दा पछाडिका कुरा बताउँछ ।
“दोस्रो सिजन मलाई क्लबमा केही गलत भइरहेको छ भन्ने महसुस भयो,” उनले भने, “दोस्रो सिजनको केही महिनापछि आर्थिक समस्या सुरु भयो । त्यसपछि क्लब र चिनियाँ खेलाडीबीच समस्या देखियो । क्लबले त्यहाँका खेलाडीलाई धेरै महिनासम्म पारिश्रमिक दिन सकेनन् । म त्यस बेला क्लब अब धेरै समयसम्म अस्तित्वमा रहँदैन भन्नेमा विश्वस्त थिए ।”
लिगको शीर्ष क्लबमध्येको एक बेइजिङ गुओनबाट लोन सम्झौता पाएपछि मेमिसोभिच त्यतै लागे ।
सुपर लिग उच्च लयमा रहँदा लाभेजी, प्रिमियर लिगका चर्चित नाम हाभियर मास्चेरानो, गेर्भिन्होजस्ता खेलाडी अनुबन्ध गरेको हेबेईले क्लब सञ्चालनका निम्ति आफ्नो युवा टिम समेत खारेज गर्यो । केही कर्मचारीलाई महिनौँसम्म पारिश्रमिक नदिई बर्खास्त गरियो । अन्ततः सन् २०२३ को सुरुआतमा हेबेई बन्द भयो ।
“म हेबेईको अवस्थाप्रति माफी चाहन्छु । किनकि, हेबेई सबैभन्दा ठूलो टिममध्ये एक, ठूला नाम र सम्पन्न क्लबमध्येको एक थियो,” हाल दुबईमा व्यावसायिक फुटबल खेलिरहेका मेमिसेभिचले भने, “हेबेई अहिले हराइसकेको छ । यो निकै दुःखद कुरा हो । तर, धेरै चिनियाँ क्लबहरू यही अवस्थामा छन् । ग्वान्झाउ र वुहान पनि हराउँदै गरेको मैले देखेको छु । यो निकै दुःखद कुरा हो ।”
“आशा छ, चिनियाँ फुटबल राम्रो हुनेछ । किनकि, उनीहरूले यसमा धेरै लगानी गरेका छन् । तर, यो पुनः पहिलेजस्तै हुनेछ भन्ने आसचाहिँ गरेको छैन,” उनले थपे ।
आफ्नो प्रिय टिमबिना चिनियाँ सुपर लिग जोन हासटका लागि उस्तै बनेको छैन । ग्वान्झाउ सिटी – जसलाई एरिकसन र आर्सनल तथा रेन्जर्सका पूर्वस्टार जिओभानी भान ब्रोन्कहहस्र्टले सम्हालेका थिए । तर, ग्वान्झाउ गत वर्षको मार्चमा बन्द भयो ।
हासट ग्वान्झाउको हरेक घरेलु खेलमा आफूजस्तै समर्थक भेट्न र उनीहरूसँगै टिमको समर्थन गर्न आतुर रहन्थे ।
“धेरै मानिसका लागि सामाजिक सञ्जालजस्तै फुटबलले पनि ठूलो महत्त्व राख्थ्यो । मैदानबाहिरको सानो पसलमा हामी खेलअघि र पछि पेयपदार्थ लिन्थ्यौँ । यो खेल पछि स्थानीय चिनियाँ समर्थक समूहको अड्डा पनि बन्यो,” हासटले भने, “टिकट पनि निकै सस्तो थियो । पूरा सिजनको टिकट ५० देखि ६० पाउन्डमा पाइन्थ्यो । विद्यार्थीको केही समूहले भने योभन्दा पनि सस्तोमा टिकट किन्न पाउँथे । धेरै समर्थकले क्लबको आधिकारिक जर्सी पनि किन्दैन थिए । उनीहरूले रंगशालाअगाडि तीन पाउन्डमा जर्सी पाउँथे ।
“क्लबहरूका लागि राजस्व उठाउनु सुपर लिगको सबैभन्दा ठूलो समस्या हो । अर्थतन्त्र कसिलो हुँदा पैसा कहाँबाट आउँछ ?,” उनले प्रश्न गरे ।
एभर्टनका पूर्वमिडफिल्डर र चीनको पुरुष टोलीका पूर्वमुख्य प्रशिक्षक ली टाईमाथि अगस्टमा घुसखोरीको आरोपमा ‘कानुनको गम्भीर उल्लंघन’का निम्ति अनुसन्धान गरिएको थियो ।
चिनियाँ फुटबल संघका पूर्वअध्यक्ष चेन सुयुएनले पनि उस्तै प्रकृतिका आरोपको सामना गरे । सान्डोङ ताइसानका निम्ति खेल्ने दक्षिण कोरियाका मिडफिल्डर जुन हो घुसखोरीको आरोपमा गएको मेदेखि हिरासतमा छन् ।
अहिले सुपर लिगमा निकै कम विदेशी खेलाडीले खेलिरहेका छन् । हाल चीनमा खेलिरहेका विदेशी र स्थानीय खेलाडीले पनि अन्तर्वार्ताका निम्ति इन्कार गरेको बीबीसीले खुलाएको छ ।
यी तमाम समस्याका बाबजुद अझै पनि चीनमा घरेलु फुटबलको माग उच्च छ । गएको अप्रिलमा बेइजिङ गुओएन्सले समर्थकका निम्ति टिकट खुला गरेको पाँच मिनेटमै ‘सोल्ड आउट’ भएको थियो ।
चीनमा एजेन्टको काम गर्ने अल्बर्टो डोल्डान हाल साउदी अरेबियाले आक्रामक रूपमा खेलाडी भित्र्याइरहँदा कुनै समयको सुपर लिग सम्झना हुने बताउँछन् । उनी अझै पनि चिनियाँ लिगको भविष्य रहेकामा जोड दिन्छन् ।
“धेरै चिनियाँ क्लबहरू आर्थिक स्थितिका कारण हराए । तर, उनीहरूले युवा खेलाडीहरूमा काम गरेकाले चिनियाँ फुटबलको भविष्य राम्रो छ,” उनले भने, “अबको पाँच, छ वा सात वर्षमा हामीले चीनका धेरै खेलाडी शीर्ष फुटबल खेलिरहेका देख्न पाउनेछौँ । चीन अझै पनि राम्रो स्थितिमा छ । यहाँका भविष्य स्थानीय खेलाडीमा निर्भर छ ।”
अब थोरै ठूला खेलाडीसहित लिगको विकास र विश्वकपमा देशको सम्भावना सुधार गर्न चीनले थप स्वदेशी ‘सुपरस्टार’ उत्पादन गर्नेतर्फ ध्यानकेन्द्रित गरेको छ । फिफा पुरुष विश्वकपमा हालसम्म एकपटक मात्र चुनौती प्रस्तुत गरेको चीन त्योभन्दा अगाडि बढ्ने लक्ष्यमा छ । (बीबीसीबाट अनूदित)