कर बढाउने हल्लाले ‘ईभी’ को आयातमा वृद्धि

काठमाडौँ । नेपाली अटोमोबाइल बजार तीव्र गतिमा विद्युतीयकरणतर्फ दौडिएको छ । सवारी आयातमा सरकारी नीति पेट्रोलियम पदार्थबाट चल्ने सवारीको प्रतिस्थापन गर्न विद्युतीय गाडीमा सहुलियत दिएसँगै बजार ईभी (विद्युतीय सवारी) तर्फ आकर्षित भएको हो । फलतः छोटो समयमा नै नेपाली बजारमा विद्युतीय सवारीको माग र प्रयोगले फड्को मारेको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा मात्र १५ अर्ब ४ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । साउनदेखि माघ मसान्तसम्ममा कूल १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरका ६ हजार १५९ वटा विद्युतीय गाडी (कार, भ्यान र जिप) नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

जबकि अघिल्लो वर्षको यसै अवधिमा जम्मा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको २ हजार ९ वटा मात्र विद्युतीय सवारी आयात भएको थियो । गएको एक वर्षमा विद्युतीय गाडीको आयात मूल्यका आधारमा १६७.१५ प्रतिशतले र सङ्ख्याको आधारमा अधिकतम २०६.५७ प्रतिशतले वृद्धि भएको छ । विद्युतीय सवारी आयात बढ्नुले नेपाली अटोमोबाइल बजार तीव्र गतिमा इलेक्ट्रिकतर्फ सिफ्ट हुँदैछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष सबैजसो क्याटागोरी (वर्ग) का विद्युतीय सवारीको आयात बढेको छ । सरकारले राजस्व नीतिमा परिमार्जन गर्दै १०० किलोवाटसम्मको विद्युतीय सवारीमा विशेष छुट तथा सहुलियत दिएसँगै अधिकांश आयातकर्ताहरुले १०० किलोवाटभन्दा कम ब्याट्री क्षमताको गाडी आयात गरेको तथ्यांकमा देखिन्छ ।

आर्थिक विधेयक, २०८० ले गरेको व्यवस्था विद्युतीय सवारीको भन्सार शुल्क, राजस्व तथा अन्तःशुल्कका विशेष छुट दिएको छ । उक्त विधेयक अनुसार यसअघिको व्यवस्था तथा करण प्रणाली परिमार्जन गर्दै सरकारले ५० किलोवाटसम्मको मोटर क्षमता भएको विद्युतीय सवारीमा १० प्रतिशत मात्र भन्सार शुल्क लगाइएको छ । यसमा अन्तःशुल्क पूर्णरुपमा छुट दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार