उपेन्द्र यादव, चट्टानी अडानका एक्लो सिपाही

                                    
 –आत्माराम प्रसाद साह

म पेसाले इन्जिनियर हुँ । मैले व्यवस्थापन पनि पढेको छु । बिस २०४६ देखि बिस २०५४ सम्म एउटा ‘फ्याक्ट्री’को व्यवस्थापन सम्हालेको थिएँ । 

जतिखेर उपेन्द्र यादवजीले मधेशी जनअधिकार फोरम स्थापना गर्नुभयो, त्यसबखत म ‘जिएम’ पदमा कार्यरत थिएँ । त्यो पद त्यागेर मधेशी जनअधिकार फोरममा जोडिएँ । उपेन्द्रजीसँग जब कुरा हुन्थ्यो, रातभरि हुन्थ्यो । जबसम्म निद्रा लाग्दैन्थ्यो, उहाँसँग वादविवाद गर्थें । म उहाँको तर्क र विचारदेखि ज्यादै प्रभावित हुन्थेँ । उपेन्द्रजीले मधेशी समाजलाई जगाउन, उकास्न र उत्थान गर्न आफ्नो घरबाट निस्किनुभएको हो ।

उपेन्द्रजी राजनीतिज्ञको रुपमा पहिले नेकपा एमालेमा हुनुहुन्थ्यो । उहाँले यस्तो मुद्दा लिएर हिँड्नुभयो जुन मलाई लाग्दथ्यो कि सम्भव छैन । किनभने मधेशी जनता सुतेको अवस्थामा थिए । आज पनि पुरै जागिसकेका छैनन् । मधेशमा सामाजिक विखण्डन धेरै थियो । त्यो विखण्डन अहिले पनि विद्यमान छ । मधेशीले आफ्नो निजी स्वार्थलाई बढी आँकलन गर्छन्, महत्व दिन्छन् । त्यो भनेको मैले यस्तो गरे भने तत्काल के पाउँछु भनेर बढी सोच्छन् । यो हाम्रो समाजको अन्तर्निहित चरित्र भइसकेको छ । मैले मधेशीको त्यही चरित्र मात्रै हेर्थें । त्यसबेला म त्यही मानसिकताले ग्रसित थिएँ । त्यसैले मैले उपेन्द्रजीसँग बहस गर्ने गर्दथे र भन्ने गर्थे कि मधेशीमा कहिल्यै सुधार हुन सक्दैन । यस्तो विषयमा उहाँसँग बारम्बार वादविवाद हुने गर्दथ्यो । 
मैले उहाँलाई भन्ने गर्दथे कि मधेशीलाई अधिकार दिलाउने झन्झटमा किन फस्नुभएको छ ? यस्तो झन्झटबाट निस्किनुस् । तर उहाँले बारम्बार मलाई भन्नुहुन्थ्यो कि हेर्नुस् आत्मारामजी ! बीउ यदि सही ठाउँमा रोप्यो भने त्यो कुनै न कुनै दिन फलेर, फुलेर ठूलो रुख हुन्छ । उहाँले भन्नुहुन्थ्यो– ‘हेर्दै जानुस्, हामी एक दिन अवश्य सफल हुन्छौँ ।’ 

साथै उहाँले यो पनि भन्नुहुन्थ्यो कि कुनै संघर्ष वा आन्दोलन हुँदा धनी वर्ग त्यसमा सहभागी हुँदैन । जुन वर्ग सम्पन्न छ वा हुनेखाने छ त्यो वर्गले आन्दोलन गर्दैन । निम्मुखा, गरिब र उत्पीडित वर्ग एवं समुदायले नै आन्दोलन गर्छ । सबैभन्दा बढी क्षति त्यही आन्दोलन गर्ने वर्ग र समुदायको हुन्छ । आन्दोलन गरिसकेपछि त्यही निमुखा एवं गरिब वर्गले केही पाउँदैन । 

उपेन्द्रजीले एउटा कुरा हिजो भन्नुहुन्थ्यो र आज पनि भन्नुहुन्छ कि विभेद र उत्पीडिन मधेशी समुदायको मात्र समस्या होइन । नेपालमा राज्यद्वारा जति पनि बहिस्कृत र सीमान्तकृत समुदाय छन् ती सबै वर्ग र समुदायको समस्या हो । चाहे पहाडी होस् या मधेशी । उहाँले जुन मुद्दाको उठान गर्नुभयो त्यसको समाधान पनि दिनुभयो कि जबसम्म ती समुदायहरुको राज्यसत्तामा प्रत्यक्ष सहभागिता हुँदैन, तबसम्म ती समुदायहरु अधिकारसम्पन्न र पहिलो दर्जाको नागरिक हुन सक्दैन । यस्तो सोच मैले पहिले कुनै नेता वा भनौँ कुनै मधेशी नेतामा देखेको थिइनँ । मैले के देखेँ भने उहाँले राजनीतिक समस्याको समाधान पनि दिनुभयो । 

उहाँले भन्नुहुन्थ्यो कि मैले दिएर तपाईंले केही पाउनुहुने छैन । मैले तपाईंलाई केही दिन सक्दिनँ । अधिकार लिनु छ भने तपाईंले स्वयम् लडेर लिनुपर्छ । अगाडि आउनुस् । संघर्ष गर्नुस् । सत्तामा सहभागिता बनाउनुस् । धेरै खराब मान्छे आउँछन् । तपाईंका विरोधी वा शासक समुदायका मान्छेहरु आउँछन् । तपाईंलाई सत्ताबाट टाढा धकेल्न खोज्छन् । तर जब तपाईं संघर्ष गर्न सिक्नुहुन्छ । त्यही संघर्षले तपाईं र तपाईंका आउँदो पुस्तालाई शोषण र उत्पीडिनबाट मुक्त गराउँछ । यस्तै विचार र अभिव्यक्तिहरु उपेन्द्रजीले दिनुहुन्थ्यो । 

हेर्दाहेर्दै बिस ०६३ सालको भीषण मधेश आन्दोलनलाई मैले आफ्नै आँखाले नियालेँ, अनुभव गरेँ । त्यो ऐतिहासिक मधेश विद्रोह अथवा प्रथम मधेश आन्दोलनलाई आफ्नै आँखाले हेरिसकेपछि मैले उपेन्द्रजीलाई मानेँ कि उहाँ एक दूरदर्शी नेता हुनुहुन्छ । त्यसपछि मलाई बढी विश्वास हुन लाग्यो कि उहाँले केही गर्न सक्नुहुन्छ । त्यसपछि म उहाँसँग पूर्ण रुपमा जोडिन पुगेँ । मेरो भन्नु के छ भने उहाँ एक बौद्धिक एवं अध्ययनशील नेता हुनुहुन्छ । उहाँको संगठन निर्माण गर्ने र नेतृत्व गर्ने शैली फरक छ । उहाँको संगठन बनाउने जुन तौरतरिका छ त्यसले मलाई असाध्यै प्रभावित गर्दछ । 

म मधेशवादी व्यक्ति हुँ । सुरुदेखि नै काठमाडौँमा बसेको र अध्ययन गरेको हुँ । अपहेलना र तिरस्कार सबै हेरेको छु, झेलेको छु । नेपालमा मधेशी र पहाडीबीचको विभेद हेर्दा कम्युनिस्टको वर्ग संघर्ष मात्रै यहाँ आवश्यक छ भन्ने धारणा मलाई गलत लाग्थ्यो । म एक धनी वर्गको व्यक्ति जब काठमाडौं ओर्लिन्थेँ । एक जना प्रहरीबाट बेइज्जती सहनुपर्दथ्यो । त्यसबेला धनी र गरिबबीचको झगडा कहाँ थियो ! मैले आरम्भदेखि नै मधेशीमाथिको विभेद महसुस गरेको छु । पटक पटकको मधेश आन्दोलनपछि मधेश र मधेशीमाथि गरिने अन्याय र विभेदमा धेरै कमी आएको छ । तर राज्य र शासक जातिद्वारा गरिने त्यो अन्याय र विभेद कुनै न कुनै रुपमा आज पनि कायम छ । विभेद र पक्षपातको तौरतरिका पनि बदलिएको छ । 

उपेन्द्रजीको भनाइ थियो कि रणनीतिक रुपमा सत्ताको सहयोग लिएर आन्दोलनलाई अगाडि बढाउनुपर्छ । आन्दोलन त गर्नु नै छ । तर सत्ताको सहयोग लिइयो भने हामीलाई क्षति कम हुन्छ भन्ने उहाँको धारणा रहन्थ्यो । तर हामीले उहाँको दूरदर्शी विचार बुझ्न सकेनौँ । मैले पनि केही समयका लागि उहाँलाई छोडेको थिएँ । अरुसँग मिलेर केही राम्रो भइहाल्छ कि भनेर मैले उहाँलाई छोडेको थिएँ । तर उपेन्द्रजीको जुन मूल सिद्धान्त र विचार थियो त्यसको मैले कहिल्यै विरोध गरिनँ । 
उपेन्द्रजीसँग टाढिँदा मैले भनेको थिएँ कि सडक संघर्षमा जान्छु । तर जोसँग गएँ उनी पनि सडकमा टिक्न सकेनन् । सरकारमा गइहाले । अनि मैले सोचेँ– म त बेवकुफ भएँ । पछि फेरि म उपेन्द्रजीसँग जोडिएँ । 

उपेन्द्रजीलाई पहिले सप्तरी, सुनसरी र मोरङमा मान्छेहरुले मात्रै चिन्दथे । तर आज उहाँको नाम मधेशको कुनाकुनामा प्रचलित छ । देशैभरिका मान्छले चिन्छन् । अन्तर्राष्ट्रिय स्तरमा पनि उहाँ उत्पीडितहरुको नेताको रुपमा प्रसिद्ध हुनुहुन्छ । यो कसरी सम्भव भयो ? हामी धर्म मान्छौँ । धर्मले भन्छ– त्यागले जोड्छ, स्वार्थले तोड्छ । यसलाई हामीले बटमलाइन बनाएर हिँड्नुपर्दछ । उहाँले आफ्नो व्यक्तिगत स्वार्थ छोड्नुभयो । पत्नी र बच्चाबाट टाढा बस्नुभयो । कहाँ बस्नु भयो, कहाँ खानु भयो केही अत्तोपत्तो थिएन । कसैसँग भिक्षा माग्न पनि जानुभएन । उपेन्द्रजीको झोलामा केही हुँदैनथ्यो कापी, कलम र किताब बाहेक । मधेशप्रतिको उहाँको लगाव देखेर हामीले उहाँलाई उत्साहित र सहयोग गर्दथ्यो । 

उपेन्द्रजी समाजका लागि घर त्याग गरेर निस्किनुभयो । पछि पुरै मधेशी समाज उहाँसँग जोडिन आयो । उहाँको त्याग र संघर्षले मधेशी समाजलाई जोड्यो । मलाई उहाँको त्याग र तपस्या धेरै राम्रो लाग्थ्यो । स्वार्थले तोड्छ, त्यागले जोड्छ भन्ने हाम्रो पुर्खाले जुन अनुभवबाट ज्ञान दिनुभएको छ त्यो सबै अहिले पनि छ उहाँमा । उहाँ एक उदाहरण हुनुहुन्छ । योभन्दा ठूलो उदाहरण हामी कहाँ खोज्न जाने ? संघर्ष, त्याग र सफलताको यो धेरै ठूलो उदाहरण हो । उपेन्द्रजीको लगन, संघर्ष र दृढता देखेर हामीलाई उतिबेलै लागेको थियो कि उहाँले मधेशका लागि केही गर्नुहुन्छ । 

उहाँ हरेक गाउँ गाउँ गएर मधेशी समाजलाई शिक्षित गर्नुहुन्थ्यो । हरेक गाउँ र देहातमा आफ्नो टोली खटाउनुहुन्थ्यो राजनीतिक शिक्षा र सचेतना विस्तारका लागि । त्यही जागरुकता र सचेतनापछि मधेश विद्रोह भयो, पटक पटक मधेश आन्दोलन भयो । हामीलाई संघीयता प्राप्त भयो । संघीयता प्राप्तिपछि हामीले मधेशी र जनजाति समुदायका जनतालाई बुझाउन सकिरहेका छैनौँ कि यो वास्तविक संघीयता होइन । हामीलाई फसाउनका लागि शासक समुदायले जाल फालेका हुन् । 
मेरो अहिले पनि उहाँसँग कुरा हुन्छ, वादविवाद हुन्छ । उहाँ भन्नुहुन्छ समयअनुकूल अलिअलि ‘एडजस्टमेन्ड’ गर्नुपर्छ । रणनीति फेर्नुपर्छ । नभए संघर्षलाई अगाडि बढाउन सकिँदैन । उहाँमाथि मलाई पूरा विश्वास छ । खासगरी उहाँको त्याग र भिजनमाथि । हाम्रो विरोध र असहमति हुँदाहुँदै तीन ठूला पार्टीले मधेशविरोधी संविधान लादेर हामीमाथि धोका गरेका छन् । संघीयता र समावेशिकताको एजेण्डा अधुरो, अपुरो नै छ । पछिल्लो समय गणतन्त्र र संघीयताविरोधीहरु सल्बलाउन थालेका छन् । त्यसैले मलाई लाग्दछ उपेन्द्रजीले संघर्ष र आन्दोलनको नेतृत्व फेरि गर्नुहुनेछ । उहाँले मधेशलाई बाँकी अधिकार र सम्मान पनि दिलाउनुहुन्छ । 

संविधान निर्माण नगरीकनै संविधानसभाको विघटन संसारमा कहीँ पनि भएको छैन । यस्तै दोस्रो संविधानसभाको निर्वाचन संसारमा कतै पनि भएको छैन । संविधानसभा षड्यन्त्रपूर्वक विघटन गरियो किनभने उनीहरुलाई थाहा भइसकेको थियो कि पहिलो संविधानसभाबाट उत्पीडित जाति र समुदायको पक्षमा संविधान बन्दै छ । त्यसैले संविधान निर्माण नगरी संविधानसभा भंग गरियो ।

दुई वटा मधेश आन्दोलनको रापतापका कारण पहिलो संंविधानसभामा हामीले ५४ सिट जितेका थियौँ । सबै मधेशकेन्द्रित पार्टीहरुको सिट संख्या ८० भन्दा बढी थियो । त्यसबेला माओवादी र मधेशकेन्द्रित पार्टीहरुको सिट संख्याले बहुमत पार गर्दथ्यो । त्यसबेलाका कमजोर पार्टीहरु कांग्रेस र एमालेले स्थायी सत्तासँग मिलेर षड्यन्त्र गरे । हामी पनि अपरिपक्व थियौँ । पहिलो संविधानसभा विघटन गरियो ।  कांग्रेसको बिस २०७० को घोषणापत्रमा लेखिएको थियो कि कांग्रेस वास्तविक संघीयता स्थापना गर्न चाहने पार्टी हो । फोरमले मधेशी–पहाडीबीच भेद उत्पन्न गर्यो त्यसैले हामीलाई जिताउनुस् भन्ने कांग्रेसको आग्रह थियो । एमालेले पनि मधेशसहित देशैभरि त्यस्तै भ्रम छर्यो । हामीले हार्यौँ, उनीहरुले जिते । दोस्रो संविधानसभाबाट नयाँ संविधान कस्तो बनाए हामी सबैलाई थाहै छ । 

पहिलो संविधानसभाको बेला नै मधेशलगायतका उपेक्षित र उत्पीडित समुदायविरुद्ध शासक समुदायले पछिल्लो षड्यन्त्रको श्रृङ्खला सुरु गर्यो । त्यो महसुस गरेपछि उपेन्द्रजीले देशैभरिका उत्पीडित वर्ग र समुदायबीच एकता र सहकार्यको प्रक्रिया सुरु गर्नुभयो । त्यसैको फलस्वरुप अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग फोरमको एकता भयो । संघीय समाजवादी फोरम बन्यो । पछि डा. बाबुराम भट्टराईको पार्टीसँग एकीकरण गरेर समाजवादी पार्टी नेपाल निर्माण गरियो । त्यसपछि राष्ट्रिय जनता पार्टीसँग मिलेर जनता समाजवादी पार्टी बन्यो । अधिकार प्राप्तिका लागि उत्पीडित मधेशी, जनजाति र अन्यायमा परेका खस समुदायबीच एकता र सहकार्यको विकल्प छैन भन्ने उपेन्द्रजीको रणनीतिक सोचका कारण विभिन्न पार्टीसँग एकता र सहकार्य गरेर हामी जनता समाजवादी पार्टीसम्म आइपुगेका छौँ । 

पार्टी विनिर्माण र नवनिर्माणको क्रममा त्यस्ता केही नेता र कार्यकर्ताहरु पनि आए जो बैलुन फोड्नमा मात्रै विज्ञ थिए । उनीहरु बैलुन फुटाउँदै गए । जसपा छोडेर गएका वा फुटाएर गएकाहरु विचार, सिद्धान्त र लक्ष्यविहीन थिए । त्यसैले आज उनीहरुको अस्तित्व संकटमा छ । यता हामी जसपाका मधेशदेखि देशैभरिका नेताकार्यकर्ताहरु अगाडि बढ्दै गएका छौँ । केही महिनाअघि हामी विधान अधिवेशनमा भेला भयौँ । आफ्नो पार्टीको नयाँ विधान बनायौँ । हामीले कसम खाएका छौँ कि हामी जसपाको विधानअनुसार काम गछौँ । पछिल्लो चरणमा जसपाका नेताहरु पार्टी नवनिर्माण र सुदृढीकरणको चरणमा छौँ । हाम्रो अध्यक्ष उपेन्द्रजी आफैँ प्रशिक्षण कार्यक्रम लिएर प्रदेश प्रदेश र सहर सहर गइराख्नुभएको छ । त्यस्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा हामीले धेरै सिकेका छौँ । हामीले पनि विभिन्न ठाउँ गएर प्रशिक्षण दिन्छौं । हामीले आफ्ना कार्यकर्ता र मधेशी जनतालाई यथार्थ बताउँछौं र थप सचेत गराउँछौँ । 

बिस २०२१÷२२ सालतिर सरकारी सेवामा २५÷२६ प्रतिशत खस क्षेत्री थिए । ३० प्रतिशत जति बाहुन थिए । तर अहिले खसआर्यको प्रतिनिधित्व ७५ प्रतिशत छ । त्यसमा क्षेत्री ५÷६ प्रतिशत जति होला । नेपाली सेनादेखि हरेक निकायमा पहाडे बाहुनले आधिपत्य जमाइसकेको छ । यसरी राज्यबाट मधेशी र जनजाति समुदायमाथि विभेद भयो भनेर संघीय समाजवादी फोरम बनेको थियो । त्यसपछि नयाँ शक्ति पार्टीसँग एकता भएर समाजवादी पार्टी नेपालको निर्माण भयो । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भयो । यस्तो एकता र धु्रवीकरण बन्नुको कारण के थियो भने काठमाडौंमा जुन राज्यसत्ता छ, त्यो समानुपातिक समावेशी छैन । मधेशी, जनजाति र दलितलगायतका समुदायप्रति अझै विभेदकारी छ ।  

जसपाले गर्ने धेरै काम बाँकी छन् । संघीयतामा राज्य संरचना र राज्य शक्तिको बाँडफाँड दुई तहमा हुन्छ । तर नेपालमा तीन तहमा बाँडिएको छ । स्थानीय तहलाई निर्वाचित सरकारकोजस्तो छुट्टै स्वायत्त हैसियत दिइएको छ । स्थानीय तह प्रदेश सरकारको मातहत हुनुपर्दथ्यो । शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारलाई नदिएर स्थानीय तहलाई दिइएको छ । संविधान निर्माणमा बदनियपूर्वक धेरै कमीकमजोरी भएका छन् । यी तथ्य हामीलाई थाहा छ । 
संविधानका यी त्रुटिहरु र कमजोरीहरुलाई जसपाका हामी नेताकार्यकर्ता सुधार्न चाहन्छौँ । हामीले वास्तविक संघीयता स्थापित गर्न चाहन्छौं । तर अहिले मधेशमा संघीयताको नाममा भ्रम फैलाइँदैछ । संघीयतामा प्रदेशका मन्त्री र सांसदहरु कमाएर मोटाइसके, तिमीले के पायौ भनेर जनतामा भ्रम छरिदै छ ।

मधेशलाई बलियो बनाउन सत्ताको संरचना कसरी परिवर्तन गर्ने भन्ने उपेन्द्रजीको सोच छ । नेपालमा सत्ता मूलतः तीन समुदायमाथि आधारित संरचना हो । खसआर्य, आदिवासी जनजाति र मधेशी समुदाय । मधेशीभित्र थारु, मुसलमान र विभिन्न जातजाति पनि पर्छन् । खस आर्य समुदायको जनसंख्या करिब ३० प्रतिशत छ । मोटामोटी ३५ प्रतिशत आदिवासी जनजाति छन् । त्यस्तै ३५ प्रतिशत जति मधेशी छन् । मधेशमा निर्वाचन क्षेत्रको निर्धारण यसरी गरिएको छ कि हामी आफ्नै  क्षेत्रमा मधेशी मात्रको मतले जित्न मुश्किल छ ।

संघीय संरचनामा परिमार्जन र मधेशी तथा जनजातिलाई थप अधिकार दिलाउनका लागि ३५ प्रतिशत आदिवासी जनजाति र ३५ प्रतिशत मधेशी समुदायबीच गठबन्धन र राजनीतिक सहकार्य आवश्यक छ । आदिवासी जनजातिको ‘एफडिआई’ राम्रो छ । तर सत्तामा उनीहरुको पहुँच छैन । नोकरीमा उनीहरुको पहुँच छैन । विदेशी सेना र लाहुरेमा नोकरी गरेर उनीहरुको आर्थिक अवस्था राम्रो भएको छ । राज्यले उनीहरुलाई पनि केही दिएको छैन । यस्तै मधेशीहरुले पनि समान अधिकार र पहुँच पाएका छैनन् । 

मधेशी र आदिवासी जनजाति यी दुवै समुदायलाई राजनीतिक रुपमा एक ठाउँमा ल्याउने र जोड्ने उपेन्द्रजीको मुख्य उद्देश्य थियो । उहाँको यो उद्देश्य अहिले पनि कायम छ । करिब ३५ प्रतिशत मधेशी र त्यति नै अनुपातमा रहेको आदिवासी जनजाति राजनीतिक रुपमा एक साथ आए भने नेपालमा दुई कुराको परिवर्तन हुन्छ । पहिलो, मधेशीहरु भारतीय हुन् भन्ने मानसिकताको नामोनिशान मेटिन्छ । मधेशीहरु पनि नेपाली नै हुन् भन्ने मान्यता सर्वमान्य रुपमा स्थापित हुन्छ । अर्को, राज्यसत्तामा मधेशी र आदिवासी जनजातिको सहभागिता बढ्छ । दलितलगायतका सिमान्तकृत समुदायहरुको पनि उपस्थिति बढ्छ । मधेश र जनजातिले खोजेको संघीयता स्थापित हुन्छ । मधेश, पहाड र हिमालबीचको भावनात्मक एकतामा वृद्धि हुन्छ । यो जसपाको लक्ष्य हो । यसरी मधेश र पहाडका बहिस्कृत समुदायहरु मिलेर राज्य सत्तामा आफ्नो अधिकार स्थापित गर्दछन् । अझै पनि कायम रहेको एक जातीय शासन व्यवस्थाबाट नेपाली जनताले मुक्ति पाउँछ र मुलुक समानता, समृद्धि र सामाजिक न्यायको दिशातिर अगाडि बढ्छ । 
(पूर्व संविधानसभा सदस्य एवं जसपाका राजनीतिक समिति सदस्य साहसँग कुराकानीका आधारमा तयार पारिएको आलेख) 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार