के जनार्दन शर्माले माओवादी विभाजन गर्न लागेका हुन् ?

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ जेठमा पोखरामा आन्तरिक प्रशिक्षणमा पार्टी होइन, गुट बनाउँदा समस्या आएको भन्दै आक्रोश पोखे । गुट बनाउने मात्र हाेइन्, उनले पार्टी नै फुटाउने सोच्नेहरूको हालत मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवको जस्तो हुने चेतावनीसमेत दिन भ्याए । प्रचण्डकाे संकेत पार्टीमा असन्तुष्ट नेताहरूतर्फ थियाे ।

प्रशिक्षणका लागि पाेखरा पुगेका प्रचण्डले नेता कार्यकर्तालाई ऊर्जा दिनुभन्दा पनि पार्टी बनेन, यस्तो भएन, उस्तो भएन भन्दै पार्टी फुटाउन सोच्नेको अवस्था वैद्य र विप्लवको जस्तो आउने भन्दै गुनासो मात्र पोखेको सहभागीहरूले बताएका छन् । गण्डकी प्रदेश कमिटीका एक सदस्य सुनाए, ‘प्रचण्डले कसैले पार्टी विभाजन गर्छु भनेर सोचेको छ भने त्यसको हालत वैद्य र विप्लवको जस्तो हुने भन्नुभयाे । उनीहरू ममा नै ध्रुवीकृत हुँदै छन् त्यसैले कसैले पार्टी फुटाउने कुरा नसोचे हुन्छ भन्नुभयाे ।’

प्रचण्डले माओवादीमा आफू नै निर्विकल्प नेतृत्व भएको पोखरा पुगेर पनि दोहोर्‍याएका छन् । कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले ‘मैले पार्टी नेतृत्व छोड्नुपर्ने हो ?’ भनेरसमेत प्रश्न गरेका थिए । ‘कोही तयार छ नेतृत्व लिन ?’ भनेर पुनः हललाई प्रश्न गरेका थिए । ‘तपाईं नै हाम्रो नेता हो, प्रचण्डको विकल्प छैन’ एक स्वरले हलबाट आवाज आएको सहभागी नेताले शिलापत्रलाई बताए ।

प्रशिक्षणमा प्रचण्डले आक्रोश पाेखेका थिए । निराश कार्यकर्तालाई ऊर्जा भरेर पार्टी बन्छ भन्ने सन्देश दिनुको सट्टा नेतृत्वबाट आक्रोश मात्र पाेखिएकाे सहभागी नेताहरूकाे गुनासाे छ । ‘यता भत्क्यो, उता भत्क्यो भन्नुभयो । भत्कन थालेको पार्टीमा को बस्लान् र ? के भनेर मान्छे माओवादीमा भविष्य देख्छन् त ? प्रचण्डले घुमाउरो भाषामा पार्टी विभाजन गर्न कोही पार्टीभित्रैबाट लागेको आभास हुने कुरा गर्नुभयो,’ सहभागी नेताकाे भनाइ छ, ‘नाम कसैको भन्नु भएन । तर, विभाजन गर्नेको अवस्था वैद्य र विप्लवको जस्तो हुने ठोकुवाचाहिँ गर्नुभयो ।’

प्रचण्ड आक्रोशकाे पछाडि माओवादीमा पछिल्लो समय उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्न थालेको हल्लाले काम गरेकाे धेरैकाे बुझाइ छ ।

प्रचण्ड र प्रभाकर विवादकाे अन्तर्य

प्रचण्ड र जनार्दन शर्मा प्रभाकरबीच गत १ फागुनमा माओवादी केन्द्रले पहिलोपटक विधान अधिवेशन सुरु गर्दा विवाद छताछुल्ल भएकाे थियाे । विधान अधिवेशनले पम्फा भुसालको नेतृत्वमा विधान लेखन समिति बनाएको थियो । विधान एकमतले पास हुने आस गरेका प्रचण्डका अगाडि त्यही समितिका सदस्य शर्माले केही बुँदामा फरक प्रस्ताव राखे ।

१ फागुन २०८० को स्थायी समिति बैठकमा नै शर्माले फरक प्रस्ताव राखेपछि माओवादीमा तरङ्ग नै आएको थियो । शर्माले त्यतिबेला पार्टीको नाम नेकपा समाजवादी राख्न प्रस्ताव गरेका थिए । त्यसो गर्दा माओवादीबाट छुटेर गएका नेता कार्यकर्तालाई मिलाउन र अन्य पार्टीबाट जनमत भित्र्याउन सजिलो हुने उनकाे तर्क थियाे । प्रदेश र जिल्लालाई केन्द्रबाट पूर्ण स्वायत्त राख्ने उनकाे अर्काे प्रस्ताव थियाे । प्रदेशका मन्त्री छान्दा होस् या तल्लो तहमा उम्मेदवार छान्दा, केन्द्रबाट हस्तक्षेप गर्दा कार्यकर्तामा ऊर्जा हराउँछ भन्ने शर्माकाे धारणा थियाे ।

त्यस्तै, सबै पदमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने, मनोनयन र चयन बन्द गर्नुपर्ने प्रस्ताव पनि उपमहासचिव शर्माले राखेका थिए ।जनवर्गीय संगठनहरूलाई पार्टीको वैचारिक बाटोबाहेकका विषयमा आफ्नै योजनामा चल्न दिन र उनीहरूले भ्रष्टाचारविरुद्ध बोल्दा होस् या कतिपय गलत प्रवृत्तिहरूविरुद्ध आवाज उठाउन पाउनुपर्ने उनकाे अर्काे प्रस्ताव थियाे ।

शर्माको पूरक प्रस्तावमा रहेकाे सबै पदमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्तावबाट प्रचण्ड झस्केपछि विवाद सुरु भएको शर्मानिकट नेताहरू बताउँछन् । विधान अधिवेशनमा पनि शर्माको प्रस्तावको पक्षमा बढी नेताहरूको समर्थन रहेको बताइन्छ । विधान अधिवेशनबाट शर्माको प्रस्ताव पास भएपछि प्रचण्डले प्रतिशोध साँधेकाे माओवादी नेताहरू नै बताउँछन् ।

१५ र १६ फागुन २०८० मा चलेको स्थायी समिति बैठकमा शर्माले लिखित रूपमा नै कार्यविभाजन मापदण्डप्रति असहमतिपत्र पेस गरेका थिए । प्रचण्ड आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन पाउने तर अरुको हकमा यो कुरा किन लागू नहुने भन्दै उनले प्रश्न उठाएका थिए । वैद्य र बाबुराम भट्टराइले पार्टी छोडेपछि प्रचण्डको कार्यशैलीप्रति प्रश्न उठाउने उनी पहिलाे नेता थिए ।

त्यसलगत्तै प्रचण्डले शर्मालाई खासै जिम्मेवारी दिएका छैनन । विधान अधिवेशनमा शर्माले प्रस्तुत गरेकाे अध्यक्ष र पदाधिकारीसमेत अधिवेशनबाट चुनिनुपर्ने एजेन्डा पास भएपछि प्रचण्डबाट निरन्तर प्रहार भइरहेको असन्तुष्ट नेताहरू बताउँछन् । शर्मानिकट भनिने सुदूरपश्चिमका खगराज भट्ट प्रचण्डको ग्रीन सिग्नलपछि सुदूरपश्चिम प्रदेशको दलको नेताबाट हटाइएका थिए । त्यसपछि भट्टले पनि प्रचण्डको आलोचना गर्न सुरु गरेका थिए ।

२० असार २०८० मा अखिल क्रान्तिकारीले आयोजना गरेको स्ववियु काउन्सिलको भेलामा प्रचण्डले शर्माको मात्र होइन, वर्षमान पुन र शक्ति बस्नेतको समेत आलोचना गरेका थिए । उनले भनेका थिए, ‘अचेल रैथाने साथीहरू कता हुनुहुन्छ, अत्तोपत्तो छैन । बरू अरूले पार्टीको बचाउ र प्रशंसा गरेका छन् । विप्लवजीले खुलेरै बचाउ गर्न थाल्नुभएको छ ।’

त्यसको उत्तर शर्माले २० साउनदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा दिएका थिए ।

शर्माले आफूले सधैँ अध्यक्षलाई सहयोग गरेको, आफ्नो मत थाती राखेर पनि अध्यक्षको निर्देशन मानेको तर पनि असहयोग गरेको आरोप लागेको भन्दै असन्तुष्टि पोखेका थिए । उनले भनेका थिए, ‘कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर, त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ । अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुनचाहिँ अप्ठ्यारो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन ?’

बालुवाटारले विभाजनको हल्ला चलायो

पछिल्ला केही दिनयता माओवादी विभाजन हुने हल्ला राजनीतिक वृत्तमा चलिरहेको छ । पार्टी उपमहासचिव शर्माले पार्टी विभाजन गर्ने त होइनन् भनी प्रचण्डलाई धम्क्याउनका लागि एक कार्डको रूपमा हल्ला चलाएको एक केन्द्रीय सदस्य बताउँछन् । ती केन्द्रीय सदस्यले भने, ‘हरेक कुरा बार्गेनिङ गरेर चलाउने बानी जनार्दनजीमा छ । पछिल्लो समय पार्टीमा भूमिका पाउनुभएको छैन । त्यसैले ‘मसँग यति सांसद छन्, यति नेताहरू छन्’ भनेर प्रधानमन्त्री तथा अध्यक्ष कमरेडलाई धम्क्याउन खोजेको हो । उहाँले विभाजन गरेर पार्टी विभाजन पनि हुँदैन । न त उहाँले अहिले भूमिका नै पाउनुहुन्छ ।’

प्रचण्ड र शर्माबीच विवाद हुँदा पार्टी बनाउनेभन्दा पनि गुट बनाएको भन्दै प्रचण्डले शर्मासँग गुनासो गरेको शर्मानिकट एक नेता बताउँछन् । ती नेताले भने, ‘एक बैठकमा अध्यक्ष प्रचण्डले शर्मालाई गुट मात्र बनाउने हो र भनी प्रश्न गरेका थिए । प्रचण्डलाई शर्मासँग डर पसेजस्तो छ । त्यही भएर पनि गत फागुनको विधान अधिवेशनपछि शर्मालाई साइड लगाउन थाल्नुभयो ।’

केही साताअघि बालुवाटरमै पनि प्रचण्ड र शर्माबीच भनाभन भएकाे विश्वस्तस्राेत बताउँछ । चर्काचर्की परेपछि प्रचण्डले शर्मालाई ‘पार्टी छाडेर जाने भए गए हुन्छ’ भनेर चेतावनी दिएका थिए । साे घटनापछि अध्यक्षनिकट नेताहरूले शर्माले पार्टी फुटाउने योजना बनाएको भन्दै हल्ला फैलाएको शर्मानिकट नेताहरूले बताएका छन् ।

विवादकाे साइड इफेक्ट कर्णालीमा

२१ फागुनमा केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेश सरकारमा पनि त्यसको असर पर्‍यो । कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लियो । त्यसपछि कर्णाली प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा अन्योल भयो । कर्णाली प्रदेशमा माओवादीले नेतृत्व गरिरहेकाले निरन्तरता दिनुपर्ने शर्माले माग गरे । तर, प्रचण्डले एमालेलाई नेतृत्व दिने सहमति गरे । प्रचण्डले यस्तो गर्नुको कारण पनि शर्मासँगको विवाद रहेको माओवादी नेताहरू बताउँछन् ।

उता तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले पनि प्रचण्डको निर्देशन अटेरी गर्दै अन्तिम समयसम्म पनि विश्वासको मत लिने भन्दै अडान लिए । २० चैतसम्म पनि विश्वासको मत लिने तयारीमा थिए शर्मा । उल्टै कांग्रेससँग मिलेर सरकार चलाउने चेतावनीयुक्त हल्ला चलाइए । जबकि शर्मालाई प्रधानमन्त्री प्रचण्डले एमालेका लागि मार्गप्रशस्त गर्न निर्देशन दिइसकेका थिए ।

जनादर्न शर्माका भाइ मुख्यमन्त्री भएकाले प्रचण्डले उनलाई मुख्यमन्त्रीबाट हटाएको कर्णालीका माओवादी नेताहरू बताउँछन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि २२ फागुनमा कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । २० चैतसम्म पनि शर्माले प्रचण्डको निर्देशन नमान्ने अडान लिनुका पछाडि पनि जनार्दनकाे भूमिका रहेको बताइन्छ ।

एक महिनाका लागि भए पनि विश्वासको मत लिएर मुख्यमन्त्री निरन्तरता दिन चाहेका राजकुमारको प्रस्ताव प्रचण्डले मानेनन् । उनले आफूविरुद्ध गुटबन्दी गरेकाले कर्णाली प्रदेशबाट नै बदला लिएर आफूविरुद्ध लाग्नेको अवस्था यही हुने सन्देश दिएको माओवादीका एक स्थायी समिति सदस्य बताउँछन् । उनले भने, ‘प्रचण्डका विरुद्ध बोल्नेको अवस्था यस्तै हुन्छ भनेर देखाउन पनि कर्णालीको मुख्यमन्त्री हटाउनुपर्ने थियो । जनार्दन अहिले कुनै पदमा हुनु हुन्न । त्यही भएर उहाँनिकटलाई नै पदबाट हटाएर आफूअनुकूल मात्र माओवादी चल्छ भन्ने सन्देश दिएको हो । हिजो मोहन वैद्य र बाबुरामलाई पनि एकएक आरोप लगाउनुभयो । अहिले जनार्दनले पार्टी फुटाउने हल्ला चलाउनुभयो, जुन शतप्रतिशत झुट हो ।’

शर्माले अहिले जति सफाइ दिए पनि आफ्नो पक्षमा कति सांसद छन् भनेर छलफल चलाएका थिए । पार्टीमा पनि कसरी प्रचण्डलाई अप्ठेरो पार्ने भनेर योजना बनाएपछि प्रचण्ड कडा रूपमा प्रस्तुत भएको अर्का स्थायी समिति सदस्य बताउँछन् । उनकाे दाबी छ, ‘उहाँले आफ्नो पक्षका सांसदहरूबीच छलफल चलाउन खोज्नुभयो । पार्टीमा पनि आफ्नो पक्षकालाई नेतृत्वलाई अप्ठेरो हुने गरी काम गर्न भन्नुभयो । त्यसपछि अध्यक्षले पनि त्यसको काउन्टर दिनुभयो । उनीसँग नेता कार्यकर्ता नजिकिएलान भनेर फुटाउँछ भन्ने कुरा बाहिर आएको हुनुपर्छ ।’

शर्माको पक्षमा संघीय संसद र राष्ट्रियसभामा १५–१६ जना सांसद रहेको शर्मानिकट एक सांसद बताउँछन् । ती सांसदले भने, ‘शर्मा स्वयम् विभाजनको पक्षमा नभएकाले सांसदहरू पनि शर्मालाई साथ दिँदै आएका छन् । हामी कोही पनि माओवादी विभाजन गर्ने पक्षमा छैनौँ । कसले हल्ला चलाएछ– जनार्दन पार्टी विभाजन गर्दै छ भनेर, अचम्म छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार