नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्याएको आरोप लगाएका छन्। आइतबार कास्कीको रूपा गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्यायो,’ उनले भने, ‘जात, लिङ्ग के-केको नाममा; हिजो अस्तिसम्म दाजुभाइ भनेर मिलेर बसेको मान्छेहरू भड्किए।’
उनले त्यसबेला माओवादीको उत्तेजनालाई कांग्रेसले रोकेको बताए। ‘माओवादी उत्तेजनामा थियो। कांग्रेसले त्यसलाई रोक्यो। दुई ठाउँबाट चुनाव हार्नुभएका माधव नेपाललाई अगाडि बढाएर पनि हामीले त्यसलाई रोक्यौँ,’ उनले भने।
संविधान जारी भएपछि मधेसवादी दलहरू चुनावमा भाग लिन नआएको सन्दर्भ जोड्दै थापाले भने, ‘कांग्रेसले हरेक कठिन परिस्थितिमा समाधान निकाल्ने काम गर्दै आएको छ।’ उनले थपे, ‘कांग्रेस चुनाव, चुनावको परिणामभन्दा माथि छ। जन्मेदेखि कांग्रेस नेपालको मूल, प्रमुख, एक मात्रै र राष्ट्रिय शक्ति हो। राज्यको सबैभन्दा अगाडि आउने समस्यालाई बुझ्छ, सङ्कल्प गर्छ र समाधानको सामर्थ्य पनि राख्छ।’

126 पटक हेरिएको 

