हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलका बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् ।
गत जेठ १ गते हिमताल भासिएर लेदो सहितको बाढीले खानेपानीको संरचना समेत क्षतविक्षत भएपछि स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएका हुन् ।
नाम्खा गाउँपालिका– ६ तिल गाउँका स्थानीय कन्जोक फुर्व लामाले गाउँमा खानेपानीको पाइप र धारा नै बाढीले बगाएपछि गाउँ नजिकैको गुनछुसा खोलाको धमिलो पानी खान बाध्य भएको बताए ।
‘कतिबेला धमिलो पानी आउँछ, कतिबेला सफा आउँछ,’ लामाले भने, ‘पानी त खानै पर्यो ।’
सोनाम साङमु लामाले पनि झण्डै एक सातादेखि खोलाको धमिलो पानी खान बाध्य भइरहेको बताए ।
धमिलो खानेपानीका कारण गाउँका बासिन्दा बिरामी हुने चिन्ता भएको उनले बताए ।
हुम्लाको तिलगाउँमा जेठ एक गते राति एक्कासी आएको बाढी र पहिरोले स्थानीयका घर, पुल, लघु जलविद्युत् आयोजना लगायतका संरचनामा क्षति पुगेको छ । बस्ती जोखिममा परेपछि तिलगाउँका १८ परिवार घर छाडेर असुरक्षित रूपमा पालमुनि बसिरहेका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ ई. दिनेश भट्टले मंगलबारको एक कार्यक्रममा तिल गाउँमा खानेपानी मर्मतका लागि पाइप पुर्याइसकेको बताएका थिए ।

112 पटक हेरिएको 

