काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । अन्य चार नाबालकविरुद्ध भने सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी छ ।
सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ ।
जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ । मिश्र र जबरामाथि भने राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्तिविशेष मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध भने भक्तपुर बाल अदालतमा सोमबार मुद्दा दायर हुने सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए । उनका अनुसार एक बालकलाई राज्यविरुद्ध र अन्य ३ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता हुनेछ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो । त्यस क्रममा ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । १८ जना अहिले पनि प्रहरीको फरार सूचीमा छन् ।
प्रवक्ता बोहराका अनुसार तीनकुने घटनामा मुद्दा दायर भएका ४९ जना हिरासतमा छन् । ‘आपराधिक उपद्रव र संगठित अपराधमा ६१ र राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिएको थियो,’ बोहराले भने, ‘त्यसमध्ये आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्यविरुद्धको कसुरमा रहेका ३ जना यसअघि नै हाजिरी जमानीमा छुटेका थिए ।’

96 पटक हेरिएको 

