नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आठै जनासँगको बयान सकियो

काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकासँगको प्रारम्भिक बयान सकिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् ।

प्रहरीसँगको बयानका क्रममा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपले आफ्नो संलग्नतालाई अस्वीकार गरेको बतइएको छ ।

सचिव पाण्डे, थापाका सुरक्षा सल्लाहकार राई तथा रायमाझीका छोरा सन्दीपसहित ठगी धन्दामा संलग्न रहेको आरोपमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुकै बयानका आधारमा प्रहरीले गएको मंगलवार तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरेको हो । ठगीको घटनामा जोडिएका पूर्वमन्त्री रायमाझी, राईका छोरा निरज र तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक फरार छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आंकलन छ । ठगी र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार