चिनियाँ कम्पनीबाट कमसल हतियार खरिद गर्दै नेपाली सेना

काठमाडाैं । दक्षिण एसिया र अफ्रिकी देशहरुमा कमसल हतियार बेचेको आरोप खेपिरहेको चिनियाँ कम्पनीसँग नेपाली सेनाले हतियार खरिदको प्रक्रिया अघि बढाएको छ । चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) सँग सेनाले कुनै प्रतिस्पर्धाविना नै हतियार खरिद गर्न लागेको हो ।

सेनाले करिब ६ अर्ब बराबरको हतियार किन्ने भएको छ । यसका लागि सम्झौता भई प्रक्रिया पनि अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चीनबाट २६ एपीसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढेको छ । यो प्रक्रियालाई अहिले रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि थाह नपाएझैं गरिरहेका छन् । यद्यपि उनले सामाजिक सञ्जालमा आफूले कुनै त्यस्तो निर्णय नगरेको दाबी गरेका छन् ।

अन्य देशहरू बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड र पाकिस्तानले यसअघि चीनबाट खरिद गरेका हतियारलगायत उपकरण कमसल रहेको पाइएको थियो । बंगलादेशमा २०१२–१३ मा चीनबाट खरिद गरिएको ट्यांको इन्जिन गुणस्तरहीन भेटिएको थियो । पाकिस्तानको नेभीले प्रयोग गर्ने एफ–२२पी मा पनि समस्या आएको थियो । नेपालमा पनि चीनबाट खरिद गरिएका विमानहरूमा समस्या आएपछि नेपाल वायुसेवा निगमले ठूलो घाटा व्यहोर्नुपरेको छ ।

यस्तै, सन् २०१९ को सेप्टेम्बरमा सोमाली आतंककारीहरूको आक्रमणमा पाँच केन्याली सुरक्षाकर्मीको मृत्यु भएपछि चीनबाट खरिद गरिएका एपीसीहरूको उपयुक्तताका विषयमा ‍त्यहाँको सरकारले छानबिन गरेको थियो ।

विगत एक दशकभन्दा बढी समयदेखि केन्याका सैनिकहरू अफ्रिकी संघका सेनाहरूसँगसँगै सोमाली आतंकवादी समूह अल–शबाबसँग लडिहेका छन् । उनीहरूले प्रयोग गरिरहेको नोरिन्कोले उत्पादन गरेको एपीसी कमसल भएकै कारण ज्यान गएको छानबिनको निष्कर्ष थियो ।

केन्याले बेइजिङबाट ३० थान नोरिन्को भीएन फोर एपीसी खरिद गरेको थियो । एपीसीहरूको खरिदको छानबिन गरेका विशेषज्ञहरूले चिनियाँ एपीसीहरू अयोग्य रहेको प्रतिवेदन दिएका थिए ।

एन्ड्रयू फ्रान्कलिन, एक पूर्वअमेरिकी मरीन जो नैरोबीमा लगभग चार दशकदेखि सुरक्षा सल्लाहकारको रूपमा काम गरिरहेका छन्, उनले त्यहाँका नेताहरूले चीनसँगको सैन्य सम्झौता व्यक्तिगत रूपमा लाभ लिन मात्रै कमसल एपीसी खरिद गरेको बताउँदै आएका छन् ।

स्रोतका अनुसार यी तथ्यहरूलाई बेवास्ता गर्दै सेनाले चीनसँग नै हतियार खोज्नुको कारण हो, कमिसन । चीनबाट हतियार ल्याउनका लागि बिचौलियाको भूमिकामा छन्, नेपाली एजेन्ट लोकेन्द्र कार्की । उनी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भाइ हुन् । बजार मूल्यभन्दा बढीमा ती उपकरण खरिद गर्न लागिएको हो ।

तरल राजनीतिक अवस्था र संक्रमणकालको फाइदा उठाउँदै हतियार खरिदमा नेपाली सेनाका केही उच्च पदस्थ अधिकारीहरूबाट सम्भावित हेरफेर र ठगीको आशंका गरिएको छ । चीनले दिएको उच्च कमिसनका कारण नेपाली सेनाले चीनबाट एपीसी ल्याउने तयारी गरिरहेको सैनिक स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार