चिनियाँ नागरिकका कारण नायब सुब्बाकाे जागिर धरापमा

काठमाडौं । भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा चिनियाँ नागरिकले विदेशबाट नेपालभित्र सुन तस्करी गरिरहेकाे घटना बाहिरिएको छ। त्रिभुवन भन्सार कार्यालयका एक कर्मचारी समातिएपछि घटनाको पर्दाफास भएको हो। अब ती चिनियाँ नागरिककाे पनि प्रहरीले खाेजी गरिरहेकाे छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको (सीआइबी) टोलीले भन्सारका नासु रेवन्त खड्कालाई नियन्त्रणमा लिएपछि घटना बाहिरिएको थियो। त्यस्तै यस घटनामा जोडिएका अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको सीआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए।

२६ वर्षीय नासु खड्का ४ वर्षअघि मात्र लोकसेवा पास गरेर सेवामा छिरेका थिए। एकवर्ष अघि उनी भन्सार कार्यालयमा पुगेका थिए। ‘घटना अनुसन्धानको क्रममा नै छ। अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ,’ एसपी थापाले भने।

पुस १० गते भन्सार कार्यालयले विदेशबाट आएको आधुनिक चुरोट (भेप) बरामद गरेको थियो। सात सय ३० पिस बरामद गरेर राखेको थियो।

‘चिनियाँ नागरिकले भेप बोकेर आएपछि हामीले जफत गर्‍यौं। तर त्यसपछि समान छुटाउन असामान्य मानिसको आवत जावत देखेर शङ्का लागेको थियो,’ भन्सारका एक कर्मचारीले भने।

सुन, मोबाइल लगायत जफत गरेमा त्यो सामान सरकारको हुन्छ। तर धूम्रपानजन्य बस्तु बरामद भएमा निश्चित प्रक्रिया पुरा गरेर नष्ट गर्नुपर्ने हुन्छ। बरामद गरेको भेपको मूल्य ७ लाख भन्दा कम नै रहेको थियो। डेढ महिनापछि स्टोरमा गएर हेर्दा सामान नै साटिएको थियो। स्टोरको जिम्मा उनै नासु खड्काको हातमा थियो।

‘हामीलाई स्टोरका कर्मचारीमाथि शङ्का लागेपछि प्रहरीलाई जानकारी दिएका हौँ,’ त्रिभुवन भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले भने।

तर एकाएक स्टोरमा थन्किएको भेप नै गायब भएको थियो। तर त्यही सामानमा अर्को उस्तै प्रकृतिको भेप ल्याएर राखिएको थियो। भेप बरामद भएदेखि नै मानिसको आवत जावतले थप शङ्का भइरहेको समयमा सामान नै परिवर्तन भएपछि घटना अनुसन्धानमा तानिएको थियो। भन्सार कार्यालयको अनुसन्धानपछि सीआइवीलाई पत्राचार गरिएको थियो।

सीआइबीले अनुसन्धान गर्दा स्टोरमा रहेको भेपलाई नासु खड्काले साटफेर गरेको खुलेको थियो। उनको बयानका आधारमा भेपमा सुन राखेर विदेशबाट ल्याएको खुलेको थियो। भेप साटफेरपछि त्यसमा ल्याइएको सुन बजारमा बिक्री गरिएको पाइएको छ। सुन ६ करोड रुपैयाँ बराबरको रहेको आशंका गरिएको छ।

एसपी थापा भने कुनै पनि सामान र रकम बरामद नभएको बताउँछन्। ‘अहिलेसम्म सुन वा पैसा केही फेला परेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ,’ एसपी थापाले भने।

घटनामा अरु मानिसको पनि संलग्नता हुने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ। सरकारले अवैध रुपमा सुन ल्याउन कडाइ गरेपनि तस्करले विभिन्न तरिकाबाट विदेशबाट विमानस्थल हुँदै नेपालमा सुन ल्याइरहेको खुलेको छ। जसमा फेरि विमानस्थलका कर्मचारीकै संलग्नता भएको खुलेको छ।

भेप ल्याउने चिनियाँ नागरिक भने कहाँ छन् भन्ने पत्ता लागेको छैन। त्यो बेलामा भेपजफत गरेपछि चिनियाँ नागरिकलाई ट्रयाक गर्ने विषय भएन। बजारमा बिक्री भएको सुन भारत पुगेको आशंका गरिएको छ। विदेशबाट अवैध रुपमा आएको सुन नेपालहुँदै भारत पुग्ने गरेका छन्। गत फागुनमा भारतको राजस्व अनुसन्धान निर्देशनालय टोली (डीआरआई)ले गरेको ‘गोल्डेन डन अपरेशन’ नेपालसँग जोडेर गरेको थियो। निर्देशनालयले अप्रेसनमा १ सय १ किलो सुन बरामद गरेको थियो।

जसमा ७ जना सुडानी नागरिकसहित ३ जना भारतीय नागरिक पनि पक्राउ परेका छन्। नेपालको सीमा नजिकै समातिएका उनीहरूको कनेक्सन नेपालसँग पनि देखिएको थियो। यो सुन पनि पुसमा आएको थियो। तर अहिले नासु समातिएपछि भारतसँगको सुनको कनेक्सन देखिएको हो। त्यसैले प्रहरीले यो घटनाको अनुसन्धान त्यतातर्फ समेत जोडेर हेरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार