मुस्लिम जर्नलिस्ट क्लबद्वारा सात जनालाई अन्तर्राष्ट्रिय सम्मान

बाँके । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहीबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएकाे छ ।

‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरुमा जिम्मेवारी पाएका मुस्लिमहरुलाई मायाको चिनो प्रदान गरिएकाे मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्टप्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाह र पूर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो ।

कार्यक्रममा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएका थिए । सो अवसरमा उनले बाँकेमा निर्वाचित मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरे ।

सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बाने, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायत थिए ।

पूर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासँगै चेतना बृद्धि गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राजनीतिक विचारधारा अलग अलग भए पनि समुदायको उत्थान र भलाइका लागि सबै एकजुट हुनु आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार