एजेन्सी । संयुक्त राष्ट्रसङ्घका अनुसार चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको छ। भारत के छिमेकी देश चीनजत्तिकै अथवा उसलाई पनि जितेर अझ शक्तिशाली बन्न सक्ला?
अर्थतन्त्र, भूराजनीतिक प्रभाव र सैन्य सामर्थ्यको दृष्टिकोणले बेइजिङ अझै अगाडि छ। तर विज्ञहरूका अनुसार अवस्थामा परिवर्तन आइरहेको छ। सन् २००१ मा अर्थतन्त्रतर्फ नोबेल शान्ति पुरस्कारबाट सम्मानित माइकल स्पेन्सका अनुसार भारतको “समय आइसकेको” छ।
“भारतले चीनलाई जित्ने छ,” स्ट्यान्ड्फर्ड यूनिभर्सिटीका डीन तथा प्राध्यापक स्पेन्सले बीबीसीसँग भने। “चीनको आर्थिक वृद्धिदर मन्द हुने छ, भारतको हुने छैन।” तर अगाडि चुनौतीहरू छन्।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो। त्यो भनेको भारतको अर्थतन्त्रभन्दा पाँच गुनाले बढी हो। भारत पाँचौँ ठूलो अर्थतन्त्र हो।
“चिनियाँ शैलीमा” वृद्धि हासिल गर्नका निम्ति तुलनात्मक रूपमा सानो मध्यमवर्ग भएको भारतले शिक्षा, जीवनस्तर, लैङ्गिक समानता र आर्थिक सुधारका क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ।
अनि विश्वशक्ति बन्नु भनेको जनसङ्ख्या र अर्थतन्त्रभन्दा अझ पर जानुपर्ने कुरा हो।
विश्वशक्ति बन्ने कुरा भूराजनीतिक र सैन्य शक्तिमा निर्भर गर्छ जुन मामिलामा चीनभन्दा भारत निकै पछाडि छ।
‘सफ्ट पावर’ अर्थात् ‘सौम्य शक्ति’ले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। बलीवुड चलचित्र उद्योगले प्रभावकारी ढङ्गले भारतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गरिरहेको छ र नेटफ्लिक्समा नयाँनयाँ कीर्तिमान बनाइरहेको छ।
तर ‘चाइनावुड’ को प्रभाव पनि देखिन्छ। तीव्र रूपमा बढिरहेको चिनियाँ चलचित्र उद्योगले सन् २०२० मा विश्वभरिको ‘बक्स अफिस’मा पहिलो पटक हलीवुडलाई पछार्यो र सन् २०२१ मा पनि त्यो क्रमलाई निरन्तरता दियो।
भारतको आर्थिक गति
भारतमा प्रत्येक दिन सरदर ८६,००० शिशुको जन्म हुन्छ भने चीनमा ४९,४०० जनाको।
कम प्रजननदरका कारण चीनको जनसङ्ख्या सङ्कुचित हुँदै गएको छ र यो शताब्दीको अन्त्यसम्मको उसको जनसङ्ख्या एक अर्बबाट झर्ने अनुमान छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार भारतको जनसङ्ख्या वृद्धि सन् २०६४ सम्म जारी रहने छ र अहिलेको एक अर्ब ४० करोडबाट बढेर सन् २०६४ सम्म एक अर्ब ७० करोड पुग्ने छ।
त्यसबाट भारतलाई “डेमग्र्याफिक डिभिडेन्ड” अर्थात् “जनसाङ्ख्यिक लाभांश” प्राप्त हुने छ। काम गर्ने जनसङ्ख्या बढ्दा हुने आर्थिक वृद्धिको सन्दर्भमा यो शब्दावली प्रयोग हुन्छ।
“सन् १९९० को दशकमा भारतले सुधारका लागि ल्याएका नीतिहरूले अहिले प्रतिफल दिइरहेका छन्। तर काम गर्ने उसको जनशक्ति कति शिक्षित, स्वस्थ, दक्ष र अर्थतन्त्रमा योगदान पुर्याउने हुन्छ त्यसले अर्थ राख्ने छ,” न्यूयोर्कस्थित इन्डिया चाइना इन्स्टिट्यूटका निर्देशक मार्क फ्रेजर भन्छन्।
एपल र फक्सकनजस्ता बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गर्नुका बावजुद भारतको प्रशासनयन्त्र र नीतिमा पटकपटक परिवर्तन हुँदा त्यसले निम्त्याउने अस्थितरताका कारण कतिपय अन्तर्राष्ट्रिय लगानीकर्ताहरू हच्किएका छन्।
“तपाईँको जनसङ्ख्या जति धेरै छ तपाईँ त्यति नै शक्तिशाली हुनुहुन्छ भन्ने उक्ति १९औँ शताब्दीकै हो,” विश्वशक्ति बन्नलाई अरू तत्त्व पनि आवश्यक रहेको बताउँदै फ्रेजर भन्छन्।
विश्व ब्याङ्कका अनुसार भारतको काम गर्न सक्षम उमेर समूह (१४-६४) को आधा जनसङ्ख्याले मात्र काम गरिरहेको छ अथवा कामको खोजी गरिरहेको छ।
भारतमा महिलाको हकमा त्यो सङ्ख्या २५ प्रतिशत मात्र छ जबकि चीनमा ६० प्रतिशत र युरोपेली सङ्घमा ५२ प्रतिशत रहेको छ।
सन् १९८० र ९० को दशकमा एकपछि अर्को सुधारको नीति लिएको चीनको अर्थतन्त्र अरू सबै देशभन्दा बढेको छ।
तर कोभिड महामारी, पाका उमेरका मानिसको जनसङ्ख्या र पश्चिमा देशहरूसँग बढ्दो तनाव लगायतको सम्मिश्रणका कारण उसको आर्थिक वृद्धि प्रभावित भएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रक्षेपणहरूका अनुसार भारतको कुल गार्हस्थ्य उत्पादन तीव्र गतिमा अगाडि बढिरहेको छ र त्यो क्रममा जारी रहने देखिन्छ।
तर मन्द आर्थिक वृद्धिको अर्थ के चीनले सान्दर्भिकता गुमाएको भन्ने हो त?
“यदि सन् २०३० सम्म चीनले ४% अथवा ५% को वृद्धि हासिल गर्न भने त्यो नै प्रभावशाली उपलब्धि हुने छ। मानिसहरूले ८-९% सम्म वृद्धिदर भएको देशमा नराम्रो अवरोह आएको भन्ने छन्, तर त्यो सही बुझाइ हुँदैन,” प्राध्यापक स्पेन्स व्याख्या गर्छन्।
“चीन अहिले धैरै हदसम्म संयुक्त राज्य अमेरिकाजस्तै छ। अहिलेसम्म हाम्रो ८, ९, १०% को आर्थिक वृद्धि भएको छैन। उनीहरू उत्पादकत्व वृद्धिमा निर्भर हुने छन् र मेरो विचारमा शिक्षा, विज्ञान एवंमा प्रविधि क्षेत्रमा गरिरहेको व्यापक लगानीका कारण त्यहाँ पुग्ने छन्।” साभार बीबीसी नेपालीबाट