सुरु भयो अन्तरदेशीय अनलाइन कारोबार, अब भारतीय पर्यटकले फोनपे क्यूआरमा भुक्तानी गर्नसक्ने

काठमाडौं । भारतीय पर्यटकले आजदेखि नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुरुप बुधबारदेखि यो सुविधा प्रारम्भ भएको हो ।

यसअन्तर्गत भारतमा भिम यूपीआई ((BHIM) र फोनपे (PhonePe) भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा लिन भारतीय प्रयोगकर्ताले फोनपे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ । यसपछि उनीहरूले नेपाल आउँदा फोन पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैंले निर्धारण गर्नेछन् ।

फोनपेका अनुसार अन्तरदेशीय भुक्तानी (अन्तरदेशीय) का लागि हालसम्म ईसेवा, खल्ती वालेटसहित आधा दर्जन बढी बैंक आबद्ध भइसकेका छन् । यी वित्तीय संस्थाले मर्चेन्टका लागि वितरण गर्ने फोनपे क्यूआर कोडमा भारतीय सेवाग्राहीबाट भुक्तानी पाउन सक्नेछन् ।

भारतीय ग्राहकले नेपालमा भुक्तानी गर्न पाउने सुविधा सुरु भएपनि नेपाली सेवाग्राहीले भने तत्काल भारतमा भुक्तानी गर्न पाउने छैनन् । यसका लागि फोनपेले नेपाल राष्ट्र बैंकको स्वीकृति पर्खिरहेको छ । राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै नेपालका डिजिटल वालेट तथा मोबाइल बैंकिङ एपबाट भारतमा क्यूआर भुक्तानी गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार