काठमाडाैं । उत्तरी छिमेकी मुलुक चीनसँग नेपालको १ हजार ४ सय ३९ दशमलव १८ किलोमिटर लामो सीमा सम्वन्ध छ। नेपाल–चीनको सिमानामा (चीन–भारत–नेपालको त्रिदेशीय विन्दुबाहेक) ७९ वटा सीमास्तम्भ छन्।
नेपालको पश्चिमको लिपुधुरा भञ्ज्याङ्गमा स्थापित सीमास्तम्भ नम्बर १ देखि पूर्वको टिप्ताला भञ्ज्याङ्गमा रहेको सीमास्तम्भ नम्बर ७९ सम्म नेपालका १५ वटा जिल्लाको सिमाना चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ ।
जसमध्ये राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको उत्तरी अन्तिम विन्दु २४ नम्बर पिल्लर चीन र नेपालको सयुक्त ट्रान्जिट प्वाईन्ट हो।
सीमा क्षेत्रमा वेला वेला चीनले हस्तक्षेप गर्ने गरेको छ, जसका कारण सीमामा विवाद र समस्याहरु पनि आउने गरेका छन्। केही समयअघि हुम्लामा भएको सीमा विवादका कारण निकै खैलावैला भएको थियो। अहिले मुस्ताङमा पनि स्तम्भ सारेर सीमा मिचिएको छ।
मुस्तामा १८ नम्बरदेखि ३३ नं. सीमासम्म जम्मा १६ ओटा सीमास्तम्भ छन्। जसको दुरी १३८ किलोमिटर छ। सीमा स्तम्भमा नेपालतर्फबाट सहज पहुँच छैन। भीरपाखा र अनकन्टार पहाडका कारण हरेक स्तम्भमा पुग्न गाह्रो छ।
स्थानीय नागरिक अगुवाहरुका अनुसार अहिले पनि ३३ नम्बर सीमा स्तम्भको पहिचान हुन सकेको छैन। मुस्ताङको सीमामा पर्ने १६ मध्ये ३३ नम्बर सीमास्तम्भको स्थान कहाँ छ र कस्तो अवस्थामा छ भन्ने तथ्य कसैसँग नभएको नाम नताउने सर्तमा एक स्थानीयले वताए।
३३ नं. सीमा स्तम्भ रहेको क्षेत्र भौगोलिक रुपमा निकै विकट छ। जुन सीमा स्तम्भ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पूर्वतर्फ रहेको र त्यहाँ पुग्न हप्तौ पैदल यात्रा गर्नुपर्ने सुरक्षा स्रोत वताउँछ। यसैको फाईदा उठाएर ३३ नंवर स्तम्भ चीनियाँ सेनाले वेपत्ता पारिसकेको आरोप स्थानीयको छ।
३३ नं. सीमा स्तम्भमा हालसम्म बीओपी तथा सीमावर्ती बासिन्दा समेत पुग्न नसकेको र यसलाई चीनपक्षको आपसी समन्वयमा खोजी गर्नु पर्ने अवस्था रहेको बताईन्छ।
यता, चीनले पक्की सडक निर्माण गरेर सीमा क्षेत्र घेरेको छ। स्थानीयको दावी अनुसार यो सडक बनाउँदा ५० देखि ६० मिटरसम्म सीमा मिचिएको छ। चीनले अहिले निर्माण गरेको संरचना पुरानो सीमा रेखामाथि नै रहेको स्थानीयहरु दावी गर्छन।
सीमा मिचिएकै कारण अहिले त्यो क्षेत्रमा नेपालीलाई जान रोक्ने गरिएको छ। सीसी क्यामेराबाट नेपाली भूमितर्फ निगरानी गर्ने र कसैको चहलपहल भए हस्तक्षेप गर्ने गरिएको छ। नेपालबाट सहज पहुँच नहुँदा चीनियाँहरुले फाईदा उठाएको उनीहरु बताउँछन्।
वोर्डर सुरक्षाका लागि स्थापना गरिएको नेपालको सुरक्षा दस्ता (विओपी) पनि सीमा क्षेत्रभन्दा १४ किलोमिटर तल छ। तीन÷चार दिनसम्म मोटरसाईकल तथा घोडामा हिडेर मात्र सीमा स्तम्भको निरिक्षण गर्न सकिने जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु नै वताउँछन् । त्यसैले नेपालतर्फबाट सीमास्तम्भको सुरक्षा चुनौतीपूर्ण छ।
जनवादी गणतन्त्र चीन सरकार र श्री ५ को सरकार नेपालका बीच सीमा सम्वन्धि विषयमा भएको मार्च २१, १९६० को सम्झौता अनुसार सीमा रेखाको विभिन्न ७९ स्थानमा ९८ वटा स्थायी सीमा चिह्नहरू स्थापना गरिएका थिए । तीमध्ये सीमारेखामै स्थापना गरिएका सीमा चिह्नहरूको संख्या ५९ थियो भने नदी सिमाना परेको स्थानमा दायाँ–बायाँ १५ स्थानमा गरी ३० वटा सीमा चिह्न स्थापना गरिएका थिए ।
दुई स्थानमा नदीको दोभानमा सीमा रेखा घुमेको थियो । ती स्थानमा ३/३ वटाको दरले ६ वटा सीमा चिह्न स्थापना गरिएका थिए । विकट स्थानका कारण ३३ नम्बर ३७ नम्बर र ३८ नम्बर गरी तीन स्थानमा सीमा स्तम्भ स्थापना हुन सकेका थिएनन् ।
तर, प्रत्येक दश वर्षमा संयुक्त सीमा निरीक्षणको कार्य गर्ने तय भए अनुसार दोश्रो नेपाल–चीन सीमा संयुक्त निरीक्षण समिति गठन भई सन् १९८९ (२०४५ साल) मा दोश्रो निरीक्षणको कार्य सम्पन्न भएको थियो । यस क्रममा ३३ नम्वर सीमा स्तम्भ निर्माण भएको देखिन्छ।
उक्त सीमा स्तम्भ विगत ४/५ वर्षदेखि कसैको पनि पहुँचमा नभएको वताईन्छ। सुरक्षा निकायले समेत २/३ वर्ष अघिको फोटो देखाएर स्तम्भ सुरक्षित रहेको दावी गर्दै आएका छन् । तर, मुस्ताङका सिडिओ अनुप केसी भने १६ वटै सीमास्तम्भमा सुरक्षा निकायको पहुँच रहेको दावी गर्छन।